कला


नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता : मास्टर्स पढ्न अमेरिकामा छात्रवृत्ति

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता : मास्टर्स पढ्न अमेरिकामा छात्रवृत्ति

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार ११:५१, काठमाडौँ

नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच फिल्म निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा विविध बुँदामा सम्झौता भएको छ।

शुक्रबार क्याम्पस प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाल भुसालको उपस्थितिमा एकेडेमीका सभापति माइकल योङ र उपसभापति जिम मिलर र आफूले सम्झौता गरेको जानकारी गराएका हुन्। 

फिल्म कलेजमा अध्ययन गर्ने विद्यार्थीको अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ अमेरिकाको चर्चित फिल्म कलेजसँग आफूहरूले सम्झौता गरेको क्याम्पस प्रमुख शिशिर उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी गराए। 

‘सिनेमा स्थानीय उत्पादन र उपभोगको विषय मात्र रहेन। हाम्रा विद्यार्थीहरूले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सिर्जनात्मक र प्राविधिक दुवै हिसाबले प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले हामीले यो पहल थालेका हौँ,’ क्याम्पस प्रमुख उप्रेतीले भने। 

दुवै फिल्म पढाउने संस्थाबीच भएको सम्झौताअनुसार आउँदो वर्षदेखि दुवै क्याम्पसले विद्यार्थी आदानप्रदान गर्नेछन्। यसरी आउने/जाने विद्यार्थीहरू १ महिना, ३ महिना र ६ महिनासम्मका लागि आउन/जान सक्ने कार्यक्रममा जानकारी गराइयो। नेपालबाट जाने विद्यार्थीहरू न्युयोर्क एकेडेमी रहेका न्युयोर्क, लसएन्जल्स र सिकागोमा रहेका एकेडेमीमा जानेछन्। अमेरिकाबाट पनि यिनै ठाउँका विद्यार्थी नेपाल आउन सक्नेछन्। 

नेपाल फिल्म क्याम्पसमा ब्याचलर सकेपछि मास्टर्स गर्न जाने विद्यार्थीले न्युयोर्क एकेडेमीमा पूर्णदेखि आंशिक छात्रवृत्तिसम्ममा पढ्न पाउने पनि सम्झौता भएको कार्यक्रममा जनाइएको छ। 

विद्यार्थी आदानप्रदानबाहेक नेपाली विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिका लागि सिनेमाका विविध विषयमा कार्यशाला तथा मास्टर क्लास आयोजना हुने पनि सम्झौतामा उल्लेख छ। 

यसैगरी नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीका ब्याचलर चौथो वर्षका विद्यार्थीको संयुक्त प्रयासमा नेपालका हिमाल, पहाड, तराईमा रहेका कथाको उत्खनन गर्ने र तिनलाई दृश्यमा जिवन्त बनाउने ‘कथा यात्रा’को आयोजना गरिने पनि कार्यक्रममा जानकारी दिइयो। 

क्याम्पस प्रमुख शिशिर उप्रेतीले न्युयोर्क फिल्म एकेडेमीले फिल्म निर्माणमा चाहिने उपकरण सित्तैमा दिने वाचा गरेको र भविष्यमा स्नाताकोत्तर तहको पाठ्यक्रम निर्माणमा पनि चाहिँदो सहयोग गर्ने प्रतिबद्धता जनाएको कार्यक्रममा जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .