नायिका प्रियंका कार्की फिल्म देखिन छाडेको धेरै समय भएको छैन। अघिल्लो वर्ष मात्रै आमा बनेकी कार्कीले कोरोनाकालदेखि राम्रोसँग पर्दामा देखिन पाएकी छैनन्। त्यसअघिसम्म नम्बर वान नायिकाको छवि बनाएकी उनलाई पर्दामा फर्किन निकै गाह्रो भइरहेको छ।
आमा बनेपछि पनि प्रियंकाका केही फिल्म लागे। तर फिल्म हलमा लागेको र उत्रिएको दर्शकले थाहै पाएनन्। ‘लक्का जवान’ले प्रियंकाको पुरानो क्रेज फर्काउने आश गरिएको थियो। तर सोचेको जस्तो भएन। यो फिल्मले प्रियंकाको करिअरमा फिल्मको संख्या बढाउने भन्दा केही गर्न सकेन।
विवाहपछि नै पातलिएको प्रियंकाको उपस्थितिले दर्शकलाई खासै फरक पारेको छैन। आफ्नो पुरानो क्रेज फर्काउने कसरतमा रहेकी प्रियंकाका दुई फिल्म प्रदर्शनको तयारीमा छन्। यी दुई फिल्म पनि नचलेको खण्डमा प्रियंकाको फिल्मी करिअर संकटमा पर्ने देखिन्छ।
प्रियंकाले अभिनय गरेको एउटा फिल्म ‘चिँ मुसी चिँ’ पुस १५ मा रिलिज हुँदै छ। प्रियंकाका साथमा चलेका नायिका ऋचा शर्मा र बेनिशा हमाल पनि यो फिल्ममा देखिँदै छन्। त्यसैले पनि यो फिल्मले पुनः फिल्म उद्योगमा जम्ने प्रियंकाको विश्वास छ। उनको यो विश्वासलाई दर्शकले कसरी लिन्छन्, त्यो हेर्न भने पुस १५ पछिको एक साता कुर्नु पर्नेछ।
प्रियंकाको अर्को फिल्म ‘फूलबारी’ फागुन ५ मा रिलिज हुँदै छ। यो फिल्ममा प्रियंकालाई दयाहाङ राईले पर्दामा साथ दिएका छन्। पछिल्लो समय दयाका केही फिल्मलाई दर्शकले माया गरे। दयालाई माया गर्ने दर्शकका कारण पनि आफ्नो करिअर टर्न हुने आश प्रियंकाको छ। कोरोनापछि सुस्ताएको प्रियंकाको करिअरले यी दुवै फिल्म चलेको खण्डमा भने गति समात्ने छ।
Shares

प्रतिक्रिया