केहीदिन यता सन्तोष सेनको फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबलाई लिएर विवाद हुँदै आएको थियो। चलचित्र विकास बोर्डले यो फिल्मलाई विदेशी फिल्मको सूचीमा राखेपछि सुरु भएको विवाद अन्ततः सकिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दीमा डब गरिएको ‘प्रेमगीत ३’ नेपाली फिल्मनै रहेको निर्णय गरेको छ। मन्त्रालयको यो निर्णसँगै अब ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मकै सहर सेवा सुविधा पाउने भएको छ।
सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’को हिन्दी डब नेपाली फिल्मनै भएको निर्णय गरेको बताएका छन्।
नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेर नेपाली कम्पनीले निर्माण गरेकोले यो फिल्मलाई विदेशी फिल्म भन्ने आधार नभेटिएको सेवन्तकले जानकारी दिए।
चलचित्र विकास बोर्डले यो सिनेमालाई विदेशी भएको बताउँदै १५ प्रतिशत शुल्क तिर्न र विदेशी सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले बोर्ड अध्यक्ष भुवन केसीलाई स्पष्टीकरणका लागि बोलाएको थियो।
बोर्ड अध्यक्षसँग आज भएको छलफलपछि ‘प्रेमगीत ३’लाई लिएर फिल्म उद्योगमा रहेको विवाद सकिएको हो।
Shares
प्रतिक्रिया