नेपाली फिल्म उद्योगमा ‘गैँडा’ उपनामले परिचित कलाकार हुन् निर्मल शर्मा। मोटो र ठूलो शारीरिक बनावटका उनलाई दर्शकले गैँडाकै रुपमा चिन्छन्।
निर्मलले नेपाली फिल्म उद्योगमा साढे २ दशक बिताइसके। यो यात्रामा ठूलो पर्दा, टेलिसिरियल, विज्ञापन र थुप्रै म्युजिक भिडिओमा देखिए।
ती हरेक प्रोजेक्टमा प्राय उनको नाम फरक हुन्थ्यो।
उनले कयौं नाममा भूमिका निर्वाह गरे। तर उनको एउटा पात्र अहिलेसम्म दर्शकको मनमा छ। दर्शकले सम्झिने र चिनिरहने उनले खेलेको पात्र हो ‘गैँडा ।’ यो नाम उनलाई हास्य टेलिश्रृखंला ‘तितोसत्य’ले दिएको हो।
दशकअघि गाउँदेखि सहरसम्म ‘तितोसत्य’को क्रेज थियो। दर्शकले दिएको मायाले काममा दीपकराज गिरी–निर्मलको टिमलाई ऊर्जा दिन्थ्यो। त्यही ऊर्जाले उनीहरु झन् मन लगाएर काम गर्थे।
‘तितोसत्य’को ५० औँ श्रृंखलाको छायाँकन चलिरहेको थियो। तितो सत्यमा निर्मल एउटा कार्यालयका हाकिम र दीपकराज उनीकहाँ काम गर्ने कर्मचारीको भूमिकाका थिए। यो तितो सत्यभित्रकै कथा हो। भनाभनपछि निस्किएका गिरीले अन्य कर्मचारीसँग हाकिमलाई गाली गर्ने दृष्य थियो।
त्यही दृश्य खिच्ने क्रममा दीपकराजले निर्मललाई ‘गैँडा’ भनेर गाली गरे। यो शब्द स्क्रिप्टमा थिएन न त दीपकराजले ‘गैँडा’ भन्ने योजना बनाएका थिए।
दीपकराज अहिले पनि सम्झिन्छन्, ‘निर्मल शर्मा त्यतिबेला अहिलेभन्दा निक्कै मोटा थिए। उनको हुलिया पेट पुक्क फुलेको, गैँडा जस्तो देखिने अनुहार, भद्दा शरीर थियो। ठूलो पेटले असजिलो गरि काम गरिरहेका हाकिमलाई के भनेर गाली गर्ने सोच्दै थिएँ। अनायासै गैँडा शब्द मनमा आयो । दिमाग नचलाइ भनेँ, उनको यही नाम नै चर्चित भयो ।’
सुटिङको त्यो दिन दीपकराज र निर्मलसहित सेटमा रहेका सबै हाँसे। तर कसैले सोचेका थिएनन् निर्मललाई यही नामले स्थापित गराउँछ भनेर। त्यो दिन सम्झिँदै दीपकराज भन्छन्, ‘त्यतिबेला हामी खुबै हाँस्यौ। यो सम्बोधन सिरियलमा राख्ने नराख्ने छलफल पनि भयो। अन्त्यमा राखियो।’
सिरियलको त्यो भाग प्रसारण भएबाटै ‘गैँडा’ नाम लोकप्रिय बन्यो। अपर्झट निस्किएको नाम ब्राण्ड बन्ला भनेर न शर्मालाई लागेको थियो, न गिरीले नै सोचेका थिए।
दीपकराज पुराना दिनमा फर्किए, ‘सिरियलमा निर्मला दाइ निक्कै कचकचे हुनुहुन्थ्यो। सानो–सानो कुरामा झगडा गरिरहन्थ्यौँ। तर, रियल लाइफमा निक्कै कुल मान्छे उहाँ। झगडालु स्वभाव छैन। रियल लाइफमा हुँदै नभएको पक्षले रिलमा जन्माएको नाम हो ‘गैंडा’।
‘तितोसत्य’भन्दा अघि निर्मलले तीनवटा फिल्म निर्माण गरिसकेका थिए। अन्य ५ वटा सिरियलमा विभिन्न पात्र देखिएका थिए। दर्जनभन्दा धेरै विज्ञापनमा काम गरे।
त्यसपछि पनि उनले थुप्रै ‘क्यारेक्टर’ फिल्मीनगरीमा छाइरहे। अझै यही उद्योगमा काम गरिरहेका छन्। तर, उनलाई उद्योगमा आजको दिनसम्म बचाइरहने क्यारेक्टर हो ‘गैंडा’। उनी पनि यो कुरा स्वीकार्छन्।
प्रतिक्रिया