कला


रंगमञ्चमा महिला निर्देशकको उपस्थिति किन पातलो?

‘हामीलाई क्षमताका कारण होइन, ‘महिला भएको कारण’ले प्रोत्साहन गरिन्छ’
रंगमञ्चमा महिला निर्देशकको उपस्थिति किन पातलो?

राधिका अधिकारी
असार ४ , काठमाडौँ

नेपाली रंगमञ्चमा महिला निर्देशकको उपस्थिति एकदम पातलो देखिन्छ। २०४६ सालमा नाटक ‘मुनामदन’ निर्देशन गरेकी सुभद्रा अधिकारीले लामो समय रंगमञ्चमा बिताइन्। नाटक हुँदै चलचित्रको पर्दामा देखिएकी सुभद्राले अभिनयमा आफूलाई अब्बल साबित गरिन्। उनी बितेर गए पनि उनको अभिनयको तारिफ गर्नेहरु अहिले पनि भेटिन्छन्। अभिनयमा राम्रो छाप छाडेकी सुभद्राको निर्देशन यात्रा भने सुखद देखिएन। दर्जनौँ फिल्म र नाटकमा अभिनय गरेकी सुभद्राको निर्देशन यात्रा भने एउटा नाटकमा मात्रै सीमित रह्यो।

सुभद्रा भन्दाअघि पनि केही महिला नाटक निर्देशनमा देखिएका थिए। सुभद्रापछि भने विभिन्न समयमा पशुपति राई, पवि खड्का, शकुन्तला शर्मा, सुशीला थापा लगायत रंगकर्मीले अभिनयसँगै निर्देशनमा पनि हात हाले। अभिनयमा राम्रो दक्खल राख्ने यी कलाकारले पनि निर्देशनमा छाप छाड्न सकेनन्।

नाटक र फिल्म दुवैतिर अभिनयमा जमेका सुशीला रायमाझी, सुवर्ण पोख्रेल, भुवन चन्दको निर्देशकीय उपस्थिति पनि दोस्रो नाटकसम्म टिकेन। तर नेपाली रंगमञ्चलाई माथि उठाउन उनीहरुले खेलेको भूमिकालाई भने भुल्न सकिँदैन। 

‘पुरुषले भनेको सुनेर महिलाहरुले डाइलग कण्ठस्थ गरेर बोल्नुपर्ने अवस्था थियो,’ कुनै समयको रंगमञ्चको अनुभव सम्झिँदै प्रभाकरदेव शर्मा भन्छन्, ‘२०४४–४५ सालताका रंगमञ्चमा राम्रो छाप छाड्न सफल वेदकुमारीले पुरुषहरूको सहारामा लामो समय डाइलग कण्ठस्थ पारेर अभिनय गरिन्।’ 

४० को दशकका अब्बल महिला कलाकारले निर्देशन र लेखनमा उपस्थिति जनाउन नसक्नुको मुख्य कारण अशिक्षा रहेको शर्माको दाबी छ। 

यद्यपि, अहिले पनि नाटक निर्देशनमा धेरै महिलाहरु स्थापित हुन सकेका छैनन्। २०२९ सालमा स्थापना भएको सांस्कृतिक संस्थानले थुप्रै व्यावसायिक कलाकार जन्मायो। तर यति लामो इतिहास बोकेको सांस्कृतिक संस्थानले रंगमञ्चमा नाटक निर्देशन गरेर निरन्तरता दिने अथवा लेखनमै पनि बलियो उपस्थिति जमाउन सक्ने महिला रंगकर्मी जन्माउन सकेको देखिँदैन। 

नाटक निर्देशन अथवा लेखनमा मात्र महिलाको उपस्थिति कमजोर देखिएको भने होइन। फिल्म निर्देशनमा पनि महिला उपस्थिति निकै कमजोर देखिन्छ। पछिल्लो समय अभिनयमा लामो समय गुजारेका कलाकारले निर्देशनमा हात हालेर सफल भए पनि निर्देशककै रुपमा नाम बनाएका महिला अति कम छन्।  

एक समय एउटै नाटक निर्देशन गरेर रंगमञ्चमा राम्रो सम्भावना देखाएकी सुवर्ण पोख्रेल विवाहपछि अमेरिका भासिइन्। रंगमञ्च मात्रै होइन, अन्य क्षेत्रमा पनि विवाहपछि महिलालाई करिअरमा टिक्न कठिन हुने गरेको छ।

केही वर्ष अघिसम्म पनि रंगमञ्चमा महिला भनेपछि सुन्दरतालाई मात्र हेर्ने गरिन्थ्यो। त्यो धारणा त अब फिल्मको पर्दा होस् अथवा रंगमञ्च, सबैतिर भत्किसकेको छ। 

सिर्जना सुब्बाले आफूलाई रंगमञ्चमा निर्देशकका रुपमा उभ्याइसकेकी छिन्। चलचित्रमा अभिनय गर्ने सपना बोकेर मनोरञ्जन क्षेत्रमा आएकी सिर्जनालाई रंगमञ्चले स्थापित गर्यो। फिल्ममा पनि सक्रिय उनले नाटक निर्देशनमा पनि राम्रो क्षमता देखाइन्। सिर्जना रंगमञ्चमा महिला उपस्थिति बलियो रहेको तर्क गर्छिन्। 

भन्छिन्, ‘हामी वैचारिक हिसाबले बोल्ड कुरा गर्छौँ।’

रंगमञ्चको एक दशकको अनुभव संगालेकी सिर्जना अधिकारीले निर्देशन मार्फत रंगमञ्चमा नयाँ तरंग पैदा गरिन्। निर्देशन गर्नुअघि उनलाई कसैले विश्वास गरेका थिएनन्। अधिकारीले निर्देशनको सपना देखिरहँदा ‘महिलाले के निर्देशन गर्न सक्छे र?’ भनेर खुट्टा तान्ने प्रयास खुबै भएका थिए। ‘एकपटक मौका दिएर हेरौं न त’ समेत नभन्नेहरुलाई उनले बलियो झापड हानिन्। 

नाटकमार्फत समाजले जिब्रो टोक्ने अविवाहित आमाको मुद्दा उनले उठाइन्। महिलाको स्वतन्त्रता, आमा बन्ने अधिकार र वंशजको मुद्दा नाटकमा उठाएपछि उनको प्रशंसा भयो। 

महिलालाई यौनिक दृष्टिकोणबाट मात्रै हेरिने हाम्रो समाजमा ‘योनीका कथा’नाटक लिएर रंगमञ्चमा देखिएकी आकांक्षा कार्की आँटिली निर्देशक हुन्। आकांक्षाले देखाएको यो आँट रंगमञ्चमा भविष्य खोज्ने महिलाका लागि हिम्मत त थियो। तर, त्यसका लागि उनले घर भित्रबाटै विद्रोह गर्नुपरेको थियो।

भारतमा रंगमञ्च विषयमा स्नातक र मनोविज्ञानमा स्नातकोत्तर गरेर नेपाल फर्किएकी उनलाई रंगमञ्चमै स्नाकोत्तर गर्ने रहर थियो। रहरभन्दा अगाडि आइदियो ‘परिवारले के भन्ला’ भन्ने डर। यहि डरबाट सुरु भएको हो आकांक्षाको समाजसँगको द्वन्द्व। नेपाल आएर मनोवेत्ताको जागिर खाइरहेकी उनको मन त्यो पेसामा अडिएन। राम्रो कमाइ भइरहेको काम छोडेर रंगमञ्चतिर मोडिएकी उनलाई त्यसताका कतिले ‘साइको’ पनि भने। तर रहरका अगाडि उनलाई कुनै पनि अवरोधले रोक्न सकेन।

रंगमञ्चमा फराकिलो सपनासहित होमिएकी आकांक्षाको बेगलाई सामाजिक संरचनाले धेरथोर असर गर्यो। उनले मञ्चन गर्न चाहेका कति सोच आज पनि सोचमै सीमित छन्। आफूलाई ‘हैँसे’ गरेर भर दिनेहरुको खाँचो महसुस गर्छिन्।

‘परिवर्तन एक्लै कहाँ सम्भव छ र?’ परिवर्तनका लागि सामूहिकता खोजिरहेकी आकांक्षा भन्छिन्, ‘काम गर्न पुरुषलाई जति सजिलो महिलालाई छैन।’

महिलालाई ‘सहनशीला’का रुपमा मात्रै प्रस्तुत गर्ने रंगमञ्चबाटै महिलाहरुले विद्रोहको चेत बालिसकेका छन्। यद्यपि निर्देशनमा महिला उपस्थितिको संख्या चित्तबुझ्दो देखिँदैन। 

पशुपति राई, सरिता गिरी, अरुणा कार्की, नानी थापा लगायतले रंगमञ्चमा आफूलाई निर्देशनको कसीमा उभ्याइसकेका छन्। यद्यपि, निरन्तरता कम छ।

नाटक निर्देशन गर्न महिलालाई पुरुषहरूलाई जत्तिको सहज नभएको रंगमञ्चमा काम गरिरहेकाहरुको अनुभव छ। करिब २५ वटा नाटकमा काम गरिसकेकी नानी थापा रंगमञ्चमा आफ्नो क्षमताले मात्रै अघि बढ्ने रंगकर्मी महिला निकै कम भएको बताउँछिन्।  

नेपाली रंगमञ्चमा श्रीमानले लेख्ने, श्रीमतीले निर्देशन गर्ने अथवा श्रीमतीले लेख्ने श्रीमानले निर्देशन गर्ने केही अभ्यास भने राम्रोसँग भएको देखिन्छ। नेपाली रंगमञ्चमा पुरुषहरुले महिलाको क्षमतालाई पूर्ण रुपमा अझै पनि स्वीकार गरेको अवस्था देखिँदैन। आफूलाई अब्बल साबित गरिसकेका महिला निर्देशकलाई पनि निर्देशनको प्रस्ताव कमै आउने गर्छ। बरु उनीहरुको सिर्जनशीलता गिराउने खालका विभिन्न टिप्पणी हुने गरेको उनीहरुको भनाइ छ।

अन्य क्षेत्रमा जस्तै महिलाले गरेको कामलाई पचाउन नसक्ने परिपाटी रंगमञ्चमा पनि यथावत छ। राम्रो काम गरेका महिलालाई ‘महिला भएकै कारण’ प्रोत्साहन गर्ने तर उनीहरुको क्षमतालाई होच्याउने परम्पराका कारण रंगमञ्चमा महिला निर्देशकको उपस्थिति पातलो देखिएको पुरानो पुस्ताका रंगकर्मीहरु बताउँछन्। नयाँ पुस्ताका नाट्यकर्मी भने निर्देशनमा अनुज पुस्ताको कामलाई अग्रज पुस्ताले स्वीकार गर्न नसकेको बताउँछन्।

 

असार ४, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.