एक सय दुई वर्षीय वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी किष्ट शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्।
उनी यही वैशाख १ गते भर्ना भएका थिए। १० दिनको उपचारपछि ११ गते डिस्चार्ज भएका हुन्।
उनी पिसाबसम्बन्धी संक्रमण, मुटुको चालसम्बन्धी र श्वास प्रश्वास नलीको फाइव्रो ब्रोङ्किएक्टेसिससम्बन्धी समस्याका कारण यस शिक्षण अस्पतालमा भर्ना भएका थिए।
उनको उपचार २ दिन आईसीयू केयरमा राखी बाँकी ८ दिन डिलक्स क्याबिनमा राखी उपचार गरिएको थियो।
उनको उपचारमा प्राडा मिलेश जंग सिजापति तथा प्रा.डा.राम भक्त कोजुलगायत संलग्न थिए।
हाल उनको पिसाबको संक्रमण नियन्त्रणमा आएको मुटुको चाल स्थिर रहेको र श्वासप्रश्वासमा सुधार आएका कारण उपचारमा संलग्न चिकित्सक टोलीको राय बमोजिम डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
डिस्चार्जपश्चातको फलोअप उपचार उनको निवासबाट नै गर्न सकिने र आवश्यक परेको खण्डमा निवासमै पनि मेडिकल सपोर्ट यस अस्पतालबाट उपलब्ध गराइने भएको छ।
Shares

प्रतिक्रिया