डीएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिज प्रालिको आयोजनामा भएको प्रतियोगिता सहितको राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८ का विजेताहरुलाई नगद पुरस्कार वितरण गरिएको छ। सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि नगद पुरस्कार वितरण गरिएको हो।
आज कार्यक्रममा प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद रु ५ लाख, दोश्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद रु ४ लाख तथा तेश्रो हुने सरोज सिंखडा र सिता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ एवम सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझलाई नगद रु ३ लाख र सान्त्वना वापतको रु २ लाख पनि यसै समूहलाई वितरण गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार तेश्रो हुने दुइ समूहले आपसी समझदारी गरेकाले आयोजकले तेश्रो र सान्त्वना पुरस्कार दुई समूहलाई एकै ठाउँमा परेर वितरण गरिएको हो।
प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई निशुल्क गीत रेकर्ड गरिदिने समेत डीएआर ग्रुपले जानकारी दिएको छ।
त्यसका साथै उत्कृष्ट गायक तथा गायिका एवम् अनुशासनमा गाउने लगायतको मूल्यांकन गरेर पनि नगद पुरस्कारको व्यवस्था गरिएकोमा उक्त रकम समेत सोमबार नै वितरण गरिएको छ।
महोत्सवका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा नगद वितरण कार्यक्रम राखिएको थियो भने कार्यक्रमको सञ्चालन अमृत खातीले गरेका थिए।
गत चैत्र २६ गतेदेखि ३० गतेसम्म चलेको राष्ट्रिय लोक दोहोरी महोत्सव ३० गतेसम्म ५ दिन चलेको थियो।
उक्त महोत्सव उद्घाटनका दिनदेखि हरेक दिनको प्रतियोगितामा एकजना विशिष्टि व्यक्तिको उपस्थिति गराइएको बाँकी चार दिन नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेल, वहालवाला डीआइजी बसन्त लामा, वागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्का तथा समापन भने वागमती प्रदेशकै खेलकुदमन्त्री रत्न ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
महोत्सवको समापनका दिन लोक सम्राट कुमार बस्नेत, वरिष्ठ लोक गायक बमबहादुर कार्की, वरिष्ठ लोक गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझी, वरिष्ठ गायिका बिमाकुमारी दुरा, शिला आले, वरिष्ठ गायक शिवनारायण जोशी, मच्छेश्वर सापकोटा, ऋषि अधिकारी, नविन ढुंगेल, टंक केसी, गीतादेवी लगायत वरिष्ठ कलाकारहरुलाई सम्मानित गरिएको थियो।
यस्तै, गायक गायिकाहरु बद्री पंगेनी, कृष्ण रेउले, महेन्द्र तिमल्सिना, शिरिष देवकोटा, खुमन अधिकारी, अमृत खाती, सरोज लामिछाने, भिमसेन खतिवडा, रामकुमार नेपाली, प्रकाश कटुवाल, वैकुण्ठ महत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए।
आयोजकले दिएको जानकारी अनुसार यस पटकको दोहोरी महोत्सवमा देशभरबाट ६८ समूहले भाग लिएका थिए। लोकदोहोरी प्रतियोगिता मध्येकै सर्वाधिक बढी पुरस्कार राशीको यो महोत्सवमा पुरुषोत्तम न्यौपाने, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा रहेका थिए भने अमृत खाती, मीना मैयाँ थापा, भीमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहेको थियो।
यसअघि २०७६ सालका अन्तिममा काठे दोहोरी महोत्सवको आयोजना गरेको डीएआर मुभिज एण्ड फिल्मसले अघिल्लो वर्ष कोरोना महामारीका कारणले कार्यक्रम गर्न नसकिएको जानकारीका साथमा आगामी वर्षदेखि यो कार्यक्रमले निरन्तरता पाउने बताएको छ।
Shares

प्रतिक्रिया