नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को इलाका प्रहरी कार्यालय गैँडाकोटमा नायक शाहविरुद्ध आइतबार बलात्कारसम्बन्धी जाहेरी दिइएको हो।
गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
पीडित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी गिरीले बताए।
पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ।
‘किशोरीको जाहेरीपछि हामीले घटनास्थलको काम सकाएर आजै उहाँको मेडिकलको काम गर्ने तयारी गरिरहेका छौँ’, गिरीले भने, ‘भरतपुरमा लगेर उजुरीकर्ताको मेडिकल गर्छौँ, त्यसपछि मात्रै उजुरी दर्ता गर्ने वा नगर्ने भन्ने एकिन हुन्छ।’
गैँडाकोटमा आज उजुरी दिएकी गायिकाले गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उजुरी दिएकी थिइन्। गायिकाको उजुरीपछि प्रहरीको फरार सूचीमा रहेका नायक शाह आज जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका छन्। रासस
याे पनि : पल भन्छन् : स्वास्थ्य बिग्रिएकाले प्रहरीसामु जान ढिला भयो
Shares

प्रतिक्रिया