ad ad

कला


बलिउड अभिनेता गोविन्दा पत्नी सुनितासँगै नेपालमा

बलिउड अभिनेता गोविन्दा पत्नी सुनितासँगै नेपालमा

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १३:१४,

बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै मायाँ र सम्मान प्राप्त गरेको बताएका छन्।

वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आएका भारतीय अभिनेता गोविन्दाले काठमाडौँमा पत्रकारसँगको कुराकानीका क्रममा भने, ‘मलाई नेपाली दर्शकबाट माया र सम्मान मिल्दै आएको छ, यो माया नियमित पाउने विश्वास छ। मेरो चलचित्र हेर्दै आउनुभएका नेपाली दर्शकलाई धन्यवाद दिन चाहन्छु।’

सोमबार पत्नी सुनितासँगै नेपाल आएका उनले आज बिहान पशुपतिनाथ, गुह्वेश्वरी र बूढानीलकण्ठको दर्शन गरे। सुनिता भने नेपाली हुन्। उनले सधैँ पूजाआजाका लागि नेपालमा आउने गरेको र यसपटक चलचित्र निर्माता संघको निमन्त्रणामा आएको जानकारी दिँदै दुई देशका कलाकारबीच आपसी सहकार्य आवश्यक रहेकामा जोड दिए।
गत वर्ष पनि उनी एक चलचित्र अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए। उनीसँगै भारतमा रहेकी नेपाली अभिनेत्री निरुता सिंहसमेत आएकी छन्।

चलचित्र निर्माता संघको आयोजनामा बुधबारदेखि पर्साको वीरगञ्जमा हुने उक्त कार्यक्रममा पुराना र नयाँ कलाकारले विभिन्न चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्नेछन्। महोत्सवमा झण्डै २५ हजारको सहभागिता हुने अनुमान गरिएको महोत्सवको आर्थिक समितिका संयोजक शुशान्तकुमार श्रेष्ठले जानकारी दिए।
उनले हिमाल, पहाड र तराईलाई जोड्नका लागि नेपाली चलचित्र निर्माणको ५३ वर्ष पुगेको उपलक्ष्यमा वीरगञ्जमा महोत्सव आयोजना गरिएको जानकारी दिए। विसं २०२२ मा पहिलो नेपाली चलचित्र ‘आमा’ निर्माण भएको थियो।

महोत्सव संयोजक तथा चलचित्र निर्माता संघका उपाध्यक्ष विमल पौडेलले महोत्सवमा भारतीय चलचित्र अभिनेता गोविन्दासँगै नेपाली कलाकारको प्रस्तुति रहने जानकारी दिए। उनका अनुसार कार्यक्रम अवधिभर सांस्कृतिक कार्यक्रमसँगै छनोट भएको चलचित्र प्रदर्शन तथा समीक्षा गरिनेछ।

यस्तै भारतका वरिष्ठ क्यामराम्यान मुरलीधरणले प्रशिक्षण दिने कार्यक्रमसमेत रहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .