कला


दार्जिलिङका महेन्द्र पी लामाको ‘ओ दार्जिलिङ’ बजारमा

दार्जिलिङका महेन्द्र पी लामाको ‘ओ दार्जिलिङ’ बजारमा

नेपालखबर
मंसिर १९, २०७८ आइतबार १५:२९, काठमाडौँ

दार्जिलिङका सुपरिचित लेखक एवम् प्राध्यापक महेन्द्र पी लामाले लेखेको पुस्तक ‘ओ दार्जीलिङ! सीमा वारिपारिका परिवेश र मन्थन’ बजारमा आएको छ। 

यो पुस्तक भारतका नेपालीभाषी र उनीहरुले माग गर्दै आएको गोर्खाल्याण्डका मुद्दाहरुमा केन्द्रित छ, तर त्यतिमा मात्रै सिमित छैन। 

यसले दार्जिलिङको समृद्ध इतिहास, गर्विलो विरासत र अन्यौलग्रस्त वर्तमानलाई जीवन्त ढंगबाट चित्रण गरेको छ। दार्जीलिङले आफ्नो स्वाभिमानका निम्ति सय बर्षदेखि गर्दैआएको संघर्षको झलक पनि यसमा पढ्न पाइन्छ। सँगैको अर्को राज्य सिक्किमसँग जोडिएका प्रसंगहरु पनि पुस्तकमा प्रशस्त आउँछन्।

‘ओ दार्जीलिङ’ का लेखक महेन्द्र पी लामा नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल स्टडीजका वरिष्ठ प्राध्यापक एवम् विकास अर्थशास्त्री हुन्। उनी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद् सदस्य, सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार एवं भारत सरकारका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय कमिटीहरुमा प्रतिनिधि रहिसकेका छन्। 

‘आफ्नो जन्मथलो, जाति, क्षेत्रका जल्दाबल्दा मुद्दाहरुलाई टाढाबाट हेर्दा र फेरि भित्रै पसी केलाउँदा पाइएका सोच, धारा र प्रवृत्तिहरु यो पुस्तकमा छन्,’ प्राध्यापक लामा भन्छन्, ‘मैले जन्मथलो छोडेर कर्मथलोमा जरा गाडेको ४० वर्षभन्दा ज्यादै भएछ। तर मेरो मन, भोगेको तन र निफन्ने ऐतिहासिक परिप्रेक्ष्यचाहिँ दार्जिलिङकै वरिपरी छ।’

४३० पृष्ठ लामो ‘ओ दार्जिलिङ!’ को प्रकाशन किताब पब्लिशर्सले गरेको हो। पुस्तक विभिन्न ६ वटा खण्डहरुमा विभाजित छः ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’। 

पुस्तकमा भारतबाट हेर्दा नेपाल कस्तो देखिन्छ? तिब्बत र चीनतिर चियाउँदा के–के पाइन्छ? कुटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरु के हुन्– जस्ता बिषय पनि समेटिएका छन्। यो किताब विभिन्न कालखण्डमा लेखिएका र छापिएका यस्ता ४९ वटा फरकफरक आलेखहरुको संग्रह हो, जसले सीमावारि र हिमालपारिका अनेकन् बिषयहरुलाई समेटेको छ। 

लेखक लामाले भारतीय राष्ट्रपति नेतृत्वका थुप्रै संस्थाहरुमा प्रतिनिधित्व गर्नुका साथै विश्वका धेरैवटा विश्वविद्यालयहरुमा पढाएका र सिक्किम केन्द्रीय विश्वविद्यालयमा भारतकै सबभन्दा कान्छो उमेरका संस्थापक कुलपति बन्ने कीर्तिमानसमेत कमाएका छन्। उनले यसअघि करिब दुई दर्जन पुस्तकको लेखन एवम् सम्पादन गरिसकेका छन्।

‘मैले दार्जीलिङको विजनबारी, नेपालको हुम्ला–जुम्ला, भोटाङको सर्भाङ, जापानको हिरोसिमा, न्युयोर्कको कुइन्स, तिब्बतको भाखोर अनि अरूणाचलको पासीघाटसम्मै थुप्रै चाखलाग्दा पाठकहरु पाएको छु,’ लामाले अनुभव सुनाए, ‘कालिम्पोङको गाउँमा एकजना बूढा पाठकले मेरो स्तम्भहरु सबै काटेर होसियारसँग राखेको देख्दा र जेट एयरवेजका एयर होस्टेसहरुले उड्दै गरेको विमानमा लेखको उत्सव मनाउँदै केक काटेको देख्दा खुशीले मन रून्थ्यो, आत्माभरि ढक्कमक्क मखमली फुल्थ्यो र कहिले गएर फेरि लेखौं–लेखौं हुन्थ्यो। मेरो लेखनीको प्रेरणास्रोत मेरा प्यारा पाठकहरु नै हुन्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad