कला


संसार जितेका यी हुन् १० चर्चित दाजुभाइ–दिदीबहिनी

संसार जितेका यी हुन् १० चर्चित दाजुभाइ–दिदीबहिनी

भेनस र सेरेना। तस्बिर : स्काई स्पाेर्ट्स


जेफ वेल्स र सुजन रागा
कात्तिक १९, २०७८ शुक्रबार ९:४१, काठमाडौँ

चाहे तपाईं उनीहरुलाई प्रेम गर्नुस् वा उनीहरुले तपाईंलाई हैरानै किन नबनाऊन्, पारिवारिक गतिविधिमा दाजुभाइ–दिदीबहिनीले मुख्य भूमिका निर्वाह गर्छन्।

र जब परिवारको एक व्यक्तिले कुनै ठूलो काम गर्नु नै महत्वपूर्ण हुन्छ भने त्योभन्दा नि ठूलो हुन आउँछ– परिवारका धेरै जनाले प्राप्त गर्ने ठूलो सफलता। 

यहाँ चर्चा गर्न खोजिएको विषय हो– विश्वका त्यस्ता दाजुभाइ–दिदीबहिनीको जसले आफ्नो जीवनकालमा संसार जित्ने ठूलो सफलता प्राप्त गरे। 

ज्याकोब र विलहेल्म ग्रिम 
ग्रिम दाजुभाइबारे तपाईंलाई त्यति थाहा नहुन पनि सक्छ तर उनीहरुले संग्रह गरेका फेरी टेल्स (परीका कथाहरु) र फोल्क स्टोरिज (लोककथाहरु) पक्कै पढ्नुभएको छ। अहिलेको जर्मनीमा सन् १७८५ र १७८६ मा जन्मिएका ज्याकोब र विलहेल्मले सानै उमेरमा आफ्ना बुबा गुमाउनुप¥यो। आर्थिक अभावसँग उनीहरुको परिवारले निकै संघर्ष गर्नुप¥यो।

यति हुँदाहुँदै दुवै दाजुभाइले युनिभर्सिटी अफ मार्बर्गमा कानुन अध्ययन गर्न सफल रहे। आफ्ना प्राध्यापकको पुस्तकालय सहयोगीसँगै काममा जानथाले। प्छि उनी वेस्टफेलियाका नयाँ राजा जेरोमी नेपोलियन बोनापार्ट (नेपोलियनका कान्छा भाइ) को रोयल लाइब्रेरियन बने। 

ज्याकोब र विलहेल्म ग्रिम (तस्बिरः हल्टन आर्काइभ/गेट्टी इमेज) 

यता विलहेल्मले भने उनकै दाजुको लाइब्रेरी असिस्टेन्टका रुपमा काम थाले। किनकि नेपोलियनले भर्खरै जर्मनीको धेरैजसो भाग जितेका थिए। यी दाजुभाइले भने जर्मनहरुको सांस्कृतिक कथाहरु जोगाउन मद्दत गर्ने चाहना राखे।

यसक्रममा उनीहरुले पुस्तकका लोककथाहरु भेला पारे, कथ्यचलनका कथालाई पुस्तकीकरण गरेपछि ग्रिम दाजुभाइले यी कथा समेटेर स्नो ह्वाइट, ह्यान्सेल एन्ड ग्रेटेल र रम्पेस्टिल्टस्किनजस्ता पुस्तकहरु निकाले। काम सँगसँगै ज्याकोव आफ्नी श्रीमती र भाइ विल्हेमसँगै बसे।

विल्हेमले आफ्नो छोराको नाम पनि ज्याकोव राखेका थिए। मर्नुअघि ग्रिम दाजुभाइले सबैले बुझ्ने जर्मन डिक्सनरीमा काम गरे। 

लुजिया मे र अबिगेल मे अलकट 
सर्वाधिक बिक्री भएको उपन्यास ‘लिटल वुमेन’की लेखिका हुन् लुजिया मे अलकट। जहाँ उनले आफ्ना तीन दिदीबहिनीसँगै हुर्किँदाका अनुभव समेटेकी छिन्। तर लुजियाकी बहिनी, ‘लिटल वुमेन’मा एमी मार्चका लागि प्रेरणा, चाहिँ एक चर्चित कलाकार थिइन्।

अबिगेलले बाल्यकाल र किशोरावस्थादेखि नै गहिरो कलाकारिता देखाएकी थिइन्। घरका झ्याल र भित्तामा मानिस र जनावरका स्केचका फ्रेमहरु झुण्डिनथालेका थिए। लुजियाले आफूले आर्जन गरेको पैसा पनि अबिगेलको तालिममा खर्चिन्थिन्। 

 मे र। (तस्बिर : कल्चर क्लब/गेट्टी इमेज)

बोस्टन, लन्डन, रोम र पेरिसमा कला विषय पढेकी मे फ्रान्समा बसिन्। पेरिस सलुन्सका प्रदर्शनमा तैल चित्रकला (आयल पेन्टिङ) प्रस्तुत गरिन्। दुई दिदीबहिने एकदमै नजिक थिए।

मेले आफ्नी छोरीको नामसमेत लुजिया नै राखेकी थिइन्। बच्चालाई जन्म दिएकै एकै महिनापछि सन् १८७९ मा मेको मृत्यु भयो। उनी सानी छोरीलाई ‘लुलु’ भन्थिन्। मर्नुअघि आफ्ना श्रीमानलाई उनले लुलुलाई लुजियाकहाँ म्यासाच्युसेट्स पठाउन भनेकी थिइन्।

लुजियाले नै उनलाई हुर्काउन थालिन् तर आठ वर्षपछि उनको पनि मृत्यु भयो। र लुलु फेरि उनकै बुबाकहाँ युरोप फर्किइन्। 

वल्फग्याङ र मारिया मोजार्ट  
वल्फग्यांग अमाडसलाई हामी उनको सिम्फनी र कन्सर्टोजका लागि चिन्छौँ तर उनकी दिदीले नै उनलाई इतिहासकै चर्चित क्लासिकल संगीतकार बन्न मद्दत गरेकी थिइन्।

आफ्नो भाइभन्दा पाँच वर्षअघि सन् १७५१ म जन्मेकी मारिया अन्ना मोजार्टले युरोपमा पियानो बजाउनथालेकी थिइन्। किशोरावस्थामै उनी चर्चित भइसकेकी थिइन्। उनको प्राविधिक दक्षताले अरुभन्दा भिन्न प्रतिभावानको परिचय दिलायो– युरोपकै उत्कृष्ट पियानोवादकमध्येकै एक। 

वल्फग्याङ र मारिया मोजार्ट (आर्ट मिडिया/प्रिन्ट कलेक्टर/गेट्टी इमेज) 

न्यानरल उपनामले चर्चित उनी र उनका भाइ सँगसँगै सांगीतिक कार्यक्रममा सहभागी हुन्थे। दर्शक र श्रोतालाई दमदार प्रस्तुति दिन्थे। भाइको पहिलो सिम्फोनीमा न्यानरलले निकै सहयोग गरेको विश्वास गरिन्छ।

तर १८ वर्षको उमेर पुगेपछि उनका बुबाले प्रस्तुतिमा जान दिएनन्। तैपनि उनले संगीत सिर्जना गर्न छोडिनन् र मोजार्टले पनि दिदीको कामको प्रशंसा गरिरहे। केही विद्वानहरुले न्यानरलको प्रतिभालाई नमाने पनि बाँकी सबै भने उनकै कारण भाइ सांगीतिक क्षेत्रमा प्रसिद्ध बनेको मान्छन्। 

भेनस र सेरेना विलियम्स 
विलियम्स दिदीबहिनीलाई नचिन्ने सायदै होलान्। सेरेनाले सर्वाधिक ग्रान्ड स्लाम सिंगल टाइटल जित्ने टेनिसको ओपन एरा रेकर्ड बनाएकी छिन्। २३ जित उनको नाममा छ।

भेनस र सेरेना विलियम्स 

यता भेनसले आफैँ सातवटा उपाधि जितेकी छिन्। सन् २००० मा सन् १९५७ यता विम्बल्डनमा सिंगल टाइटल जित्ने पहिलो अफ्रिकी अमेरिकी बनेकी थिइन्। यी दिदीबहिनीसँग चारवटा ओलम्पिक गोल्ड मेडल आफ्नो नाममा छ।

यसमध्ये तीनवटा डबल्स प्लेमा सँगै जितेका हुन्। १५ महिनाको फरकमा यी दिदीबहिनी जन्मिएका थिए। सेरेना भेनसकी बहिनी हुन्। सेरेनाको ठूलो सफलताका बाबजुद उनी भेनसलाई डबल्स प्लेमा वरिष्ठताको सम्मान दिन्छिन्। 

एमिली र अस्टिन डिकिन्सन 
मृत्यु भएको सय वर्ष नाघिसक्दा पनि एमिली डिकिन्सनका कविताहरुले पाठकलाई प्रफुल्ल पारि नै रहेको छ। तर धेरैलाई उनका दाजु अस्टिनबारे थाहा छैन।

एमिलीभन्दा डेढ वर्षअघि जन्मिएका अस्टिनले वकालतीको काम गर्नुअघि अम्हर्स्ट कलेज र हार्वर्ड ल स्कुलमा अध्ययन गरेका थिए।

(बायाँबाट दायाँ– एमिली, अस्टिन र लाभिनिया डिकिन्सन) । तस्बिर : कल्चर क्लब/गेट्टी इमेज 

अम्हर्स्ट समुदायमा उनी चर्चित त थिए नै, अम्हर्स्ट कलेजमा कोषाध्यक्षको काम गरे। विभिन्न नागरिक संघसंस्थामा नेतृत्व क्षमता देखाएका थिए। अस्टिन–एमिली सम्बन्ध निकै नजिकको थियो। एमिलीले आफ्नो जीवनकालमा आफ्नो नामबाट कुनै कविताका पुस्तक निकालेकी थिइनन्।

उनको मृत्युपछि बहिनी लाभिनियाले उनका कविता भेट्टाइन् र धमाधम प्रकाशित गरिन्। लामो समय अस्टिनकी प्रेमिका रहेकी माबेल लुमिस टडले उनका कविताहरु संसारलाई बाँड्ने काम गरिन्। 

द ज्याक्सन सिब्लिंग्स 
इन्डियानाको ग्यारीमा रहेको घरमै जो र क्याथरिनले नौवटा सन्तान हुर्काए। सन् १९६९ मा पाँच ठूला सन्तानहरु ज्याकी, टिटो, जर्माइन, मार्लोन र माइकेलले ज्याक्सन–५ को चर्चा पाए।

चर्चा यसकारण कि उनीहरुले ‘आई वान्ट यु ब्याक’ र ‘एबीसी’ जस्ता हिट गीतहरुले श्रोतालाई आह्लादित बनाए। त्यसयता ज्याक्सन परिवारले सँगै र छुट्टाछुट्टै रुपमा संगीत उत्पादन गर्दै आए। यसमध्ये सर्वाधिक चर्चा बटुल्नेमा भने माइकेल र कान्छी बहिनी जानेट रहे।

ज्याक्सन दम्पतीको रेबी र ला तोया, कान्छा छोरा रेन्डीलगायत अरु सात जनाले सांगीतिक सफलता कमाए। ज्याक्सन दाजुभाइ–दिदीबहिनीले बिलबोर्ड चार्टहरुमा परेका सोलो गीतहरु ल्याएका छन्। 

विलियम र क्यारोलिन हर्सेल 
सर विलियम हर्सेललाई हाम्रो सौर्य मण्डलमा रहेको अरुण (युरानस)लाई तारा नभई नवग्रहमध्येकै एक हो भनी पत्ता लगाउने खगोलविद् मानिन्छ। उनले सन् १७८१ को मार्चमा यो कुरा पत्ता लगाएका थिए। हर्सेलले राजा जर्ज तृतीयको आधिकारिक कोर्ट एस्ट्रोनोमरको रुपमा पनि काम गरेका थिए।

पछि उनी रोयल एस्ट्रोनोमिकल सोसाइटीको अध्यषा भए। उनले हजारौँ तारापुञ्जको पहिचान गरेका थिए। तर हर्सेलकी बहिनी क्यारोलिन भने उनीभन्दा निकै वर्षपछि जन्मिएकी थिइन्।

विलियम हर्सेललाई राजा जर्ज तृतीयले कोर्ट एस्ट्रोनोमरको नियुक्ति दिएका थिए। तस्बिरः द प्रिन्ट कलेक्टर/गेट्टी इमेज 

उनी पनि खगोलविद् नै हुन्। सानै उमेरमा उनले इंग्ल्यान्डमा रहेका दाजुसँगै बस्न ह्यानोभरको परिवारलाई सारेकी थिइन्। यी दाजुबहिनीले संगीत र विज्ञानमा औधी माया बाँडेका छन्। क्यारोलिनले त दाजुको सहयोगी बनेर विलियमले बनाएको टेलिस्कोपका लागि प्राविधिक सहयोग पुर्याइन्।  

सी/१७८६ पी१ नामक एउटा कमेट (पुच्छ्रेतारा) पत्ता लगाउने पहिलो महिला पनि हुन् उनी। यसका लागि राजाले तलब समेत दिएका थिए। कामका लागि पैसा पाउने पहिलो वैज्ञानिक पनि क्यारोलिनलाई मानिन्छ। उनले लन्डनको रोयल एस्ट्रोनोमिकल सोसाइटीबाट स्वर्णपदकले सम्मानित उनले प्रुसियाको राजा फ्रेडरिक विलियम चौथोबाट पनि विज्ञानका लागि स्वर्णपदक पाएकी थिइन्। 

द राइट ब्रदर्स विल्बर र क्याथरिन राइट 
पहिलो सफल विमान बनाउने श्रेय पाएका विल्बर र अर्भाइल दाजुभाइबारे हामी अवगत नै छौा। तर उनीहरुकी बहिनी क्याथरिनले पनि यी दाजुभाइको हवाइ सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

ओबरलिनबाट ग्राजुएट भएपछि क्याथरिनले ओहायोको डेटनमा एउटा ल्याटिन शिक्षिकाको रुपमा काम गरिन्।

द राइट ब्रदर्स विल्बर र क्याथरिन राइटको सन् १९०९ तिरको तस्बिर (तस्बिरः हिस्टोरिका ग्राफिका कलेक्सन/हेरिटेज इमेज/गेट्टी इमेज) 
 

इन्जिनियर त थिइनन्, तर नर्थ क्यारोलिनाको किट्टी हकमा रहेका दाजुभाइले हवाइ विमानको प्रारुपको सम्परीक्षणको दौडान पटक पटक हौस्याइरहेकी हुन्थिन्। कति उनका आइडियालाई राइट दाजुभाइले प्रयोग गरे भने परीक्षण असफल हुँदा उनीबाट भावनात्मक र उत्साहपूर्ण ऊर्जा पाइरहे।

उनीहरुको बाइसाइकल कम्पनी चलाउन पनि क्याथरिनको सहयोग थियो। जसले हवाइ विमानको उडान परीक्षणलाई आर्थिक सहयोग मिल्थ्यो। यस अर्थमा क्याथरिनले राइट दाजुभाइको सफलतामा निकै ठूलो हातसाथ दिएकी थिइन्। 

ह्यारिएट र क्याथरिन बीकर
दासप्रथाविरुद्धको आन्दोलनमा ह्यारिएट बीकर स्टोवको प्रसिद्ध उपन्यास ‘अंकल टोम्स क्याबिन’ले महत्वपूर्ण ऊर्जा दिएको थियो। उनका दाजुभाइ दिदीबहिनीहरु १२ जना थिए। तीमध्ये धेरैले दासप्रथाविरोधी र महिलाको मताधिकारको पक्षमा अथक योगदान गरे।

(तस्बिरः कल्चर क्लब/गेट्टी इमेज) 

ससाना बालिकाहरु शिक्षित भएको हेर्न चाहन्थिन् क्याथरिन। सन् १८२४ मा  उनले कनेक्टिकटको हार्टफोर्डमा हार्टफोर्ड फिमेल सेमिनरी (शैक्षिक केन्द्र) खोलेकी थिइन्। उनले बालिकाहरुलाई आफैँले लेखेका टेक्स्टबुकहरु पढाउँथिन्।

दर्शन, कला, बीजगणित, रसायनसम्बन्धी शिक्षा बाँडिन्। आफ्नो जीवनकालमै उनले ओहायो, विसकन्सिन, लोवा र इलिनोइसमा स्कुलहरु खोलेकी थिइन्। 

द ब्रोन्टे सिस्टर्स
जे आर आर टकिनले ‘मिडल–अर्थ’ लेख्नुभन्दा दशकौँ पहिले नै चार्लोटी, एमिली र एना ब्रोन्टेले बाल्यकालमै एंग्रिया र गोन्डलजस्ता कल्पनाले भरिपूर्ण कथाहरु (फेन्टासी) लेखेका थिए। जसले फेन्टासी संसारलाई परिवर्तन गर्यो। केही समय यी दिदीबहिनी अलग्गै बसे पनि काकी एलिजाबेथको मृत्युपछि सन् १८४५ मा फेरि सँगै रहे। सँगै रहेर लेखनलाई जारी राखे।

(एना, एमिली र चार्लोटी ब्रोन्टे) तस्बिरः रिसगिट्ज/गेट्टी इमेज 

अर्को वर्ष उनीहरुले कवितासंग्रह ‘पोइम्स बाई करर, एलिस एन्ड एक्सन बेल’ प्रकाशित गरे। त्यसपछि त उनीहरु आआफ्नै नाममा किताब लेख्नथाले। सन् १८४७ मा चार्लोटीले ‘जेन आयर’ प्रकाशित गरिन् भने एमिलीले ‘वुथरिङ हाइट्स’ ल्याइन्। सन् १८४८ मा एना ब्रोन्टेले ‘द टिनेन्ट अफ वाइल्डफेल हल’ प्रकाशित गरिन्। 
(मेन्टलफ्लस सन् २०२० अप्रिल ७ मा प्रकाशित फिचरको भावानुवाद) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .