ad ad

रोजगार


नौ वर्ष विदेशपछि गाउँ फर्किएर कृषि

भन्छन् : नेपालमै आयस्रोतका धेरै आयाम छन्, नेपाली युवा विदेश हाँकिन्छन्!
नौ वर्ष विदेशपछि गाउँ फर्किएर कृषि

कुमार आचार्य र उनको पशुपालन। तस्बिर : रासस


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १०:५९, सिन्धुपाल्चोक

बिहानदेखि बेलुकीसम्म गाई–भैँसीको स्याहारसुसार गर्नु सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका - ५ का कुमार आचार्यको दिनचर्या हो। बिहान ५ बजेदेखि साँझ नपरुञ्जेलसम्म उनी गाई–भैँसीको गोबर, भकारो, सोत्तर र खोलेपानी घाँसको बन्दोबस्तमै व्यस्त छन्। नौ वर्षमा चारभन्दा बढी देश चहारेर वैदेशिक रोजगारमा हण्डर र गोता खाएपछि उनी अहिले कृषि पशुपालनमा आकर्षित भएका हुन्। मिश्रित कृषि पशुपालन तथा एग्रिकल्चर फार्मबाट आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरेका आचार्यको गोठमा चारवटा भैँसी र सातवटा गाई छन्। 

पशुपालन अलावा उहाँले झण्डै ४० रोपनी जग्गामा गोलभेँडा खेती गरिरहेका छन्। पाँचवटा टनेलमा गोलभेँडा खेती गरिरहेका आचार्यले १० रोपनी जग्गामा अदुवा र बेसार खेतीसमेत गरिरहेका छन्। मलेसिया, कतार, साउदी, भारतको तातो घाममा आचार्यको पसिना बगे। मेहेनत र परिश्रम खेर गयो। दुःख बिते। समय बित्यो। तर, आस, हुटहुटी र हिम्मत भने जीवितै रह्यो। त्यही हुटहुटी, हिम्मत र आसले उनको जीवनले नयाँ मोड लियो। त्यहीँ नयाँ जीवनको सारथि बनेर आचार्य अहिले स्वदेशमै पसिना बगाइरहेका छन्। विदेशमा कमाएको केही पैसाले कृषि क्रान्तिमा लागेका आचार्यले झण्डै ३० रोपनी जग्गामा फूल, कागती, आँप, लिचीखेती गरिरहेका छन्। 

कृषिका विभिन्न आयामहरूसँग जुधिरहेका आचार्य अब बाँकी जीवन सुखसाथ कृषि पेसामै बिताउने बताउँछन्। ‘अब बाँकी जीवन स्वदेशमै बिताउँछु। आफ्नै गाउँको माटोमा पसिना बगाउँछु’,उनले भने। उनी कृषि सुकिलोमुकिलो नभए पनि आत्मनिर्भर पेसा रहेको बताउँछन्।

मान्छेले झट्ट कृषि पेसा नरोज्ने आचार्यको बुझाइ छ। “मान्छेले झट्ट कृषि पेसा रोज्दैनन्। प्राय: धेरै सुकिलोमुकिलो भएरै हिँड्न मन पराउँछन्। तर,कृषिमा सधैँभरि सुकिलो मुकिलो भएर हिँड्ने छुट छैन। कृषिमा त गोबर,भकारो,माटोसँग रमाउन सक्नुपर्छ’,उनले भने। उनी आफ्नै गाउँको चिसो हावा र माटोसँग खेल्दा जति आनन्द विदेशमा काम गर्दा नआएको बताउँछन्। 

सङ्घर्ष गर्ने उमेरको आधाआधी जीवन विदेशमा बिताएका आचार्य नेपाली युवालाई खाडी मुलुक नजान सुझाव दिन्छन्। ‘नेपालमै आयस्रोतका धेरै आयाम छन्। नेपाली युवा काम गर्ने वातावरण छैन भन्दै विदेश हाँकिन्छन्। त्यहाँ पनि कामै गर्ने हो, पसिनै बगाउने हो। त्यो पसिना नेपालमै बगाए राम्रो हुन्थ्यो”, उनले भने। 

आचार्य ११ वटा गाई र भैँसीको झण्डै सय लिटर दूध मोटरसाइकलमै हालेर बजारसम्म पुर्‍याउँछन्। गाईवस्तुको खानपान र औषधिबाहेक पनि आचार्यको हातमा मासिक रु ९० हजार पर्छ। “गरे जे पनि हुने रहेछ। विदेशमा ३० हजार कमाउन रात दिन नभनी काम गर्नुपर्थ्यो। तर म अहिले घरै बसीबसी रु ९० हजार कमाउँछु”, उनले भने। रु ३० हजार कमाउन खाडीमा १८ घण्टासमेत काम गरेको तीतो अनुभव आचार्यसँग छ। 

उनी भन्छन्, “विदेशमा रु ३० हजार कमाउन अठार–अठार घण्टासमेत काम गरियो। आज ती दिन सम्झँदा आङै सिरिङ्ग सिरिङ्ग हुन्छ।” उनी युवालाई कृषिमा प्रोत्साहन गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर बन्ने बताउँछन्।

‘नेपालबाट दैनिक रूपमा सयौँ नेपाली विदेश जान्छन्। त्यसलाई रोकेर कृषिमा युवालाई प्रोत्साहन गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर हुन्छ”, उनले भने।

आचार्यले नेपालमै नयाँ र नौला प्रयोगमा रहेको सिताके च्याउको समेत व्यावसायिक खेती गरिरहेका छन्। विसं २०७५ मा पाँच सय मुढाबाट व्यावसायिक च्याउखेतीको सुरुआत गरेका उनले अहिले १५ सय मुढामा च्याउखेती गरिरहेएका छन्। उनी च्याउखेतीको बजार राम्रो रहेको तर उत्पादन ढिला भएको बताउँछन्।

“बजारमा सिताके च्याउको माग अत्यधिक छ। तर उत्पादन ढिला भइरहेको छ। यसले पनि हामीले बजार मागलाई सम्बोधन गर्न सकिरहेका छैनौँ”, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .