ad ad

रोजगार


झिनियाँको माग थेग्नै मुस्किल

झिनियाँको माग थेग्नै मुस्किल

नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार १२:३८, रामपुर (पाल्पा)

अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ। दसैं सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन्।

पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्‍याउनै नसकिएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउँछिन्। रामपुर नगरपालिका– ५ राङभाङमा एक दशकअघिदेखि उद्योग स्थापना गरेर यही व्यवसाय गरिरहेकी पूर्वी पाल्पाका पहिलो व्यवसायी उनी माग धेरै आउँदा पनि कतिपय बजारमा पठाउन नपाइएको बताउँछिन्।

“एक महिना अघिदेखि तिहारलाई प्राथमिकता दिएर झिनियाँ बनाइरहेका छौँ” व्यवसायी श्रेष्ठ भन्छिन्, “यसपटक अन्यत्र धेरै उत्पादन नभएको र पहिलाको तुलनामा झिनियाँ खोज्ने धेरै ग्राहक बढेकाले पुर्‍याउन कठिन परिरहेको हो।”

लामो समय झिनियाँ व्यावसायमा बिताएकी उनलाई यसको उत्पादनसम्बन्धी राम्रो ज्ञान छ। पुरानो व्यवसाय भएकाले धेरै टाढाबाट माग यही आउने गर्छ। घरभित्रै बसेर छोटो समयमा पनि लाखौँ कमाइ गर्न सकिने यो व्यवसायमा मेहनत गरियो भने राम्रो सफलता हातपर्ने व्यवसायी श्रेष्ठको अनुभव छ। पहिला एक्लै उत्पादन गरिरहेकी उनले पछिल्ला वर्षमा झिनियाँको माग बढी आउन थालेपछि कामदार नै राखेर थप उत्पादन गरिरहेको हो। यस व्यवसायमा आवद्ध रहेदेखि नै परनिर्भर हुनु नपरेको र आफूले पनि सकुञ्जेलसम्म यही व्यवसायलाई निरन्तरता दिने व्यवसायी श्रेष्ठको सोच छ।

यहाँ तिहारको समय मात्र नभई अन्य समयमा पनि निरन्तर झिनियाँ उत्पादन भइरहेको छ। उत्पादित झिनियाँ हाल प्रतिदर्जन रु १०० मा फुटकर र होलसेल रु ९० मा धमाधम बिक्री भइरहेको छ। अहिले तिहारमा मात्रै स्थानीय बजारका अलवा तानसेन, आर्यभन्ज्याङ, बुटवल, नारायणघाट, कावासोतीलगायत विभिन्न बजारमा झिनियाँ खपत भइरहेको अर्का व्यवसायी रुद्रनारायण श्रेष्ठ बताउँछन्। 

उनी भन्छन्, “उत्पादन गर्न सकेमात्रै पनि भयो, बजारको चिन्ता छैन, झिनियाँ रोटी तिहारमा सबैका घर घरमा अनिवार्यजसो बनेको छ, व्यावसायिक रुपले उत्पादन गर्दा  र प्रयोगकर्ता बढ्दै जाँदा हामीलाई काममा भ्याइनभ्याइ छ।”

व्यवसायी रुद्रनारायणका अनुसार यस पटकको दसैं र तिहारमा गरेर झिनियाँबाट करिब रु ६ लाख बराबरको व्यापार हुने अनुमान छ। उत्पादन धेरै गर्न सकियो भने फाइदा राम्रो हुने उनको अनुभव छ। 

पहिला बजारमा झिनियाँ अहिलेजसो प्रर्याप्त मात्रामा पाइँदैनथ्यो। घर घरमा तिहारमा हातले घुमाउने सानो सोँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने काम गरिँदैन। त्यसकारण पनि बजारका पसल र उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन्।

रामपुर ४ बस्ने फूलमाया विक पहिला घरमा आफैले झिनियाँ बनाउने गरेपनि हिजोआज भने बजारबाटै किनेर प्रयोग गर्छिन्। भनेको समयमा बजारका पसल र उद्योगमा पनि सहजै पाइने भएपछि बनाउने झन्झट गर्नु नपरेको उनको भनाइ छ।

निस्दी गाउँपालिका– ५ गल्धाका व्यापारी तिलक सारु गाउँमा झिनियाँ खोज्ने ग्राहक बढेपछि उद्योगबाट खरिद गरेर व्यापार गर्ने गरेको बताउँछन्। रामपुर– ४ स्थित सिन्दुरटार बस्ने लक्ष्मी श्रेष्ठलाई पनि तिहारको रमझमसँगै झिनियाँ बनाउन भ्याइनभ्याइ छ। झिनियाँ बनाउँदै गर्दा दिन बितेको उनलाई पत्तो छैन।

“बिहानदेखि साँझ आँखाले ठम्याउँदासम्म झिनियाँ बनाउँदा पनि ग्राहकलाई पुर्‍याउनै हम्मेहम्मे हुन्छ, जताततैबाट माग आइरहेको छ” लक्ष्मी भन्छिन्। ६ वर्षदेखि यस व्यवसायमा आवद्ध उनी यस पटकको तिहारमा रु एक लाख बराबरको व्यापार हुने बताउँछिन्। घरमै बसेर पनि राम्रो कमाइ गर्न सकिने, व्यापारमा सहजता र बिक्री पनि सजिलै हुने भएकाले व्यावसायिक तवरबाट झिनियाँ उत्पादन गर्न थालेको लक्ष्मी बताउँछिन्। 

झिनियाँबाट राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायमा हिजोआज महिलाको आकर्षण बढ्न थालेको छ। घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन। झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनियाँ भण्डार गरेर बजारमा पठाउन सकिन्छ।

गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो भएको छ। बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गर्दै आफ्नो जीविका धानेका छन्। यसले पनि महिलामा परनिर्भरता हट्दै गएको छ। तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ। हिजोआज खाजाका रुपमा पनि यसको प्रयोग बढिरहेको छ। तिहारबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजलगायत विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ।

चामलको पिठो पकाएर मेसिनको सहायताले झिनियाँ बनाइ सुकाएर तयार गर्ने गरिन्छ। विशेषतः पहिले पहिले तिहारका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ। घरायसी खाजाका रुपमा पनि झिनियाँलाई लिने गरिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .