कारोबार


संसारकै धेरै कमाउने एप बन्दै टिकटक, गेमिङ एपलाई माथ दिँदै

संसारकै धेरै कमाउने एप बन्दै टिकटक, गेमिङ एपलाई माथ दिँदै

नेपालखबर
मंसिर २७, २०८० बुधबार १७:४४, काठमाडौँ

भिडिओ सेयरिङ प्लेटफर्म टिकटकले ग्लोबल कन्जुमर स्पेन्डिङ (विश्व उपभोक्ता खर्च)मा गेमिङ एपलाई माथ दिँदै १० अर्ब डलर प्रवाह गरेको छ। 

योसँगै कम्पनी सबैभन्दा धेरै आम्दानी गर्ने एप्लिकेसन बन्नलागेको एक नयाँ रिपोर्टले देखाएको छ। 

एप्लिकेसनबारेको विवरणदाता डेटा.एआईका अनुसार यति धेरै पैसा प्रवाह गराउनेमा हाल चार अन्य एपहरुमा एक्टिभिजन ब्लिजार्डको क्यान्डी क्रस सागा, टेन्सेन्टको अनर अफ किंग्स, मिक्सीको मन्स्टर स्ट्राइक र सुपरसेलको क्लाश अफ क्लान्स छन्। 

क्यान्डी क्रस अहिले उपभोक्ताले खर्च गर्ने हिसाबमा १२ अर्ब डलरसहित उच्च आम्दानीकर्ता बनेको सोमबार सार्वजनिक रिपोर्टले देखाएको छ। यसको कुल हिसाब भने गुगल प्ले र एप्पलको आईओएस एप स्टोरबाट प्राप्त आम्दानीमा आधारित छ। तर अहिले चर्चित गेमहरुलाई चाँडै टिकटकले माथ दिने देखिएको छ। 

‘टिकटक अब सन् २०२४ मा १५ अर्ब डलरसहित सर्वाधिक आम्दानीकर्ता एप बन्ने दिशामा अग्रसर छ। प्रयोगकर्ताहरुले प्रतिदिन नै १ करोड १० लाख डलरमाथिको खर्च आफ्ना मन परेका सर्जक (कन्टेन्ट क्रिएटर)माथि गरिरहेका छन्। यसले टिकटकले हालसम्मकै चिरपरिचित मोबाइल गेमिङ एपलाई पछाडि पार्नलागेको छ’, डेटा.एआईमा इन्साइट्स हेड रहेका लेक्सी सिडोले प्रतिवेदनबारे बताउँदै भनिन्। 

‘सन् २०२४ को अन्त्यसम्म टिकटक प्रयोगकर्ताहरु हप्ताको ४० घण्टा एपमा खर्च गर्ने दिशामा छन् जुन २०२३ को भन्दा २२ प्रतिशत धेरै हुनेछ’, उनले थपिन्। 

यति धेरै खर्च भने टिकटकभित्रकै क्वाइन खरिदबाट आउँछ जसबाट प्रयोगकर्ताहरु उक्त प्लेटफर्ममा आफ्ना प्रेरकका लागि गिफ्ट किन्छन्। यी गिफ्ट (उपहार)हरु सर्जकलाई उपहार दिन्छन् जसलाई पैसाका रुपमा पनि निकाल्न सकिन्छ। यसबाट टिकटकले ५० प्रतिशत आफूलाई राख्छ। 

उक्त तथ्यांकअनुसार टिकटकको सबैभन्दा लोकप्रिय यो खरिद यस वर्ष १ हजार ३ सय २१ बन्डल क्वाइनको १९.९९ अमेरिकी डलर पुगेको छ।  यसले एपको आन्तरिक आम्दानीको एक चौथाइ हिस्सा बनाउँछ। योसँगै टिकटकको अन्य आम्दानी स्रोतहरु विज्ञापन र इ–वाणिज्य रहेका छन्। 

डेटा.एआईका अनुसार डेटिङ एप टिन्डर र भिडिओ प्लेटफर्म युट्युब पनि १० अर्ब डलरको कोशेढुंगाको नजिक पुगेका छन्। तर ती दुवै सन् २०२३ मा टिकटकभन्दा २ देखि ३ अर्ब डलरले पछि छन्। 

टिकटक चिनियाँ कम्पनी बाइटडान्सको कम्पनी हो। यही महिनाको सुरुतिर अमेरिकी राज्यमा टिकटकले कानुनी लडाइ जितेको थियो। पश्चिमा राष्ट्रहरुले टिकटक र चीन सरकारबीचको सम्बन्धमा आशंका गर्दै आधिकारिक डिभाइसबाट प्रतिबन्ध लगाएका छन्।

यसबाहेक टिकटकले प्रयोगकर्तामा लत बढाएको र मानसिक स्वास्थ्यमा समस्या ल्याएको आरोप लागे पनि कम्पनीले भने अस्वीकार गर्दै आएको छ। सीएनएनबाट 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .