ad ad

कारोबार


साढे २ अर्बले बढ्यो गलैँचा र कार्पेटको निर्यात

१० अर्बको निकासीमा मुख्य बजार अमेरिका
साढे २ अर्बले बढ्यो गलैँचा र कार्पेटको निर्यात

नेपाली कार्पेट गोदाम। तस्बिर : एन्टिक नेपाली कार्पेट उद्योग/फेसबुक


वसन्त अर्याल
साउन १८, २०७९ बुधबार १८:३९, काठमाडौँ

नेपालको निर्यात पहिलोपटक २ खर्ब नाघ्दा कार्पेटको निर्यात पनि बढेको छ। नेपालको कार्पेट तथा गलैँचा निर्यात १० अर्ब बढी पुगेको हो। 

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ९ करोड रुपैयाँको गलैँचा निर्यात भएको छ। यो पछिल्ला वर्षकै सबैभन्दा उच्च हो। यसले कुल निर्यातमा गलैँचाको पनि मुख्य भूमिका रहेको देखाएको छ। ऊनीबाट बुनिएका गलैँचा ९ अर्ब ५६ करोडको निर्यात भएको छ। 

आर्थिक वर्ष २०६४/०६५ मा नरिवल जटाको कार्पेट, सेन्थेटिक कार्पेट, सुती सतरन्जा करिब १ करोडको मात्रै निर्यात हुन्थ्यो। ऊनी गलैँचा कार्पेट ५ अर्ब ७७ करोड रुपैयाँको निर्यात भएको थियो। आव २०६५/०६६ मा कार्पेटको निर्यातमा केही कमी आएको थियो। ऊनी गलैँचाको कार्पेट ५ अर्ब ५१ करोड रुपैयाँको निर्यात भएको थियो। 

१० वर्षे माओवादी द्वन्द्वकालअघि नेपाल गलैँचा निर्यातकर्ताका रुपमा परिचित थियो। गलैँचा उत्पादक व्यवसायीका अनुसार द्वन्द्वको समयमा थुप्रै गलैँचा उद्योग बन्द भएका थिए। २०६२/०६३ को आन्दोलनपछि गलैँचा उद्योग फस्टाउने विश्वास गरे पनि त्यसो हुन नसकेको व्यवसायी बताउँछन्। 

नेपाल निर्यात व्यवसायी महासंघ तथा नेपाल कार्पेट उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष राम बहादुर गुरुङले गत वर्ष करिब ३ अर्बले निर्यात बढेको बताए। गुरुङले कोभिड महामारीको समयमा निर्यात घटेकोमा गत वर्ष बढेको बताए। 

‘अहिले बढी निर्यात अमेरिकामा भएको छ। विदेशीले नेपालको कार्पेटलाई उच्च गुणस्तरको मान्छन्’, गुरुङले भने, ‘अहिले भारत र चीनमा पनि केही निर्यात हुनथालेको छ।’

पछिल्ला वर्षमा ७ देखि ८ अर्बको हाराहारीमा निर्यात भइरहेको कार्पेट गत आर्थिक वर्षमा एकै पटक करिब साढे २ अर्ब रुपैयाँले बढेको छ। 

मुख्य बजार अमेरिका
गलैँचा तथा कार्पेटो मुख्य निर्यात अमेरिकामा हुन्छ। निर्यातको आधाभन्दा बढी अमेरिकामै हुने गरेको तथ्यांकले पनि देखाएको छ। 

२०७८/०७९ मा ५ अर्ब ७६ करोड रुपैयाँको निर्यात भएको छ। अघिल्लो वष २०७७/०७८ मा अमेरिकामा ३ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको थियो अमेरिकामै करिब १ अर्ब ८२ करोड रुपैयाँले निर्यात बढेको छ। ०७६/०७७ मा ३ अर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको थियो।  

कार्पेटको निर्यात जर्मनीमा ९६ करोड, अष्ट्रेलियामा १६ करोड, बेल्जियम २२ करोड, क्यानडा २० करोड, चीनमा २३ करोड, भारतमा करिब २९ करोड रुपैयाँको कार्पेट निर्यात हुन्छ। 

फ्रान्सका ३० करोड, इटालीमा ५६ करोड, स्विट्जरल्यान्डमा १३ करोड, बेलायतमा ६५ करोड निर्यात भएको छ। 

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले नेपालको व्यापार २ खर्ब नाघ्नुमा कार्पेट निर्यातको वृद्धि पनि रहेको बताउँछन्। 

‘नेपालको मुख्य निर्यात पाम र सोयाबिन नै छ। त्यसपछि अहिले गार्मेन्ट र कार्पेटको निर्यात पनि बढेको छ’, खड्काले भने। 

नेपालको व्यापारघाटा कम गर्न कार्पेटको भूमिका देखिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा कार्पेटको निर्यात ७ अर्ब ७३ करोड रुपैयाँ हुँदा आयात ५९ करोड रुपैयाँको मात्रै थियो। 

आर्थिक वर्ष २०७६/०७७ मा ६ अर्ब ४६ करोड रुपैयाँको कार्पेट तथा गलैँचा उत्पादन रहेको थियो। आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब ७१ करोड रुपैयाँको निर्यात भएको थियो। 

कार्पेट उत्पादक तथा निकासीकर्ता संघका कोषाध्यक्ष धनबहादुर चन्द ठकुरीले डलरको भाउ बढ्दा निर्यातको तथ्यांक बढी देखिएको बताउँछन्। 

‘अमेरिकामा माग विगतका वर्षको तुलनामा केही बढेको हो। त्योसँगै डलरको मूल्य बढ्दा निर्यात पनि बढेको छ’, ठकुरीले भने, ‘युरोपमा बढ्न सकेको छैन। चाइनामा सट्टापट्टाको रुपमा गलैँचा निर्यात हुने गरेको छ।’

अर्को वर्ष १५ अर्बको निर्यात गर्ने लक्ष्य
उनले पहिला नेपालको गलैँचा युरोपमा सबैभन्दा बढी बिक्री हुने भए पनि अहिले त्यसअनुसार बढ्न नसकेको बताए। 

निर्यात व्यवसायी महासंघका अध्यक्ष गुरुङले अर्को वर्ष कार्पेट तथा गलैँचाको निर्यात १५ अर्ब पुर्याउने लक्ष्य राखिएको बताए। 

‘अर्को वर्ष १५ अर्बको कार्पेट तथा गलैँचा निर्यात गर्ने हाम्रो लक्ष्य छ। अमेरिकामा मात्रै ८ अर्बको निर्यात गर्न सक्छौँ’, गुरुङले भने।

कार्पेट उत्पादक तथा निर्यातकर्ता संघले नेपालको उत्पादित गलैँचाको खपत एकदमै कम रहेको जनाएको छ। नेपालमा बेल्जियमलगायतका देशबाट कार्पेट आयात हुने गरेको व्यवसायी बताउँछन्। 

ठकुरीले नेपाली गलैँचाको खपत नेपालमा केही बढ्न थाले पनि उल्लेख्य रुपमा नरहेको बताए। 

‘गलैँचाहरु केही महंगो हुन्छन्। त्यसैले धेरै नेपालीले प्रयोग गर्दैनन्’, उनले भने, ‘पहिलाभन्दा खपत बढ्दै गइरहेको छ।’

संघले नेपाली कार्पेटको खपत नेपालमै बढाउनुपर्ने बताएको छ। २ वर्षअघि करिब १ अर्ब आयात भएको कार्पेट २०७८/०७९ मा आयात ६१ करोड रुपैयाँको मात्रै भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .