कारोबार


बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने

बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने

नेपालखबर
साउन १६, २०७९ सोमबार १३:२८, काठमाडौँ

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ। 

हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताएका हुन्। 

करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन्।  

‘केबलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब चार सय मिटर पहँुचमार्गको निर्माण कार्य सम्पन्न भएको छ। तल्लो स्टेसनको सब–स्ट्रक्चरको निर्माणकार्य करिब सम्पन्न भई सुपर स्टक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको छ। नौवटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माणकार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडी बढिरहेको छ’, उनले भने।

उनले माथिल्लो स्टेसनमा सब–स्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको बताए। 

त्यसैगरी, माथिल्लो स्टेसनमा रहेको मन्दिरक्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँग–सँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै शर्तबमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको बताए। 

ढकालले माथिल्लो स्टेसनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरुसँग छलफल भइरहेको जानकारी समेत गराए।

केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .