ad ad

कारोबार


अब को बन्ला अर्थसचिव?

अब को बन्ला अर्थसचिव?

दीपक भट्ट
साउन १५, २०७९ आइतबार २२:४४, काठमाडौँ

अर्थ मन्त्रालयको बागडोर सम्हाल्न अर्थमन्त्री जनार्दन शर्मा नै आएका छन्। उनले आइतबारदेखि नै कार्यभार सम्हालेका हुन्। 

अर्थमन्त्रीका रुपमा दोस्रोपटक पुनरागमन हुँदा बोलेका शब्दलाई ख्याल गर्ने हो भने उनले अर्थ मन्त्रालयको टिममा नै सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्ने देखिएको छ। 

उनले आइतबार कार्यभार सम्हालेपछि भनेका छन्, ‘मन्त्रालयमा कार्यरत सबै कर्मचारीहरुसँग जसरी पहिला सौहार्द वातावरणमा काम गरेको थिएँ। त्यही खालको सुमधुर सम्बन्धमा काम गर्ने अवसर पुनः पाउने अपेक्षा छ। यहाँहरुको साथ र सहयोग त्यहीअनुसार हुने अपेक्षा गरेको छु।’

यसले मन्त्रीबाट बाहिरिनुअघि अर्थ मन्त्रालयमा जुन खालको टिम थियो अहिले पुनः मन्त्रीका रुपमा आइसकेपछि त्यहीअनुसार कायम हुने लख काट्न सकिन्छ। 

तर अर्थ मन्त्रालयको वातावरणले भने टिम हेरफेर हुने निश्चितप्रायः छ। अर्थमन्त्रीको रुपमा जनार्दन शर्मा नै आउने पक्का भएपछि अर्थसचिव मधु मरासिनी विदामा बसिसकेका छन्। 

उनले यसअघि मन्त्री शर्माले बजेट सार्वजनिक गरेर विवादमा परिसकेपछि योसहित ३ पटक विदा लिइसकेका छन्। बजेट सार्वजनिक हुनेबित्तिकै लामो समय अमेरिका घुम्न गएका उनी फर्किँदा जनार्दन शर्मा विवादको भूमरीमा थिए। मन्त्री नै ठूलो विवादमा परेपछि मरासिनीले विदा लिने निर्णय गरे। 

अहिले फेरि सचिव मरासिनी मन्त्रीमा शर्मा नै आउने थाहा पाएपछि उपत्यकाबाहिर पुगेका छन्। अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री शर्मासँग मरासिनी टाढा हुन खोज्नुको करण मन्त्रालयमै भएको विवाद हो।

ती अधिकारी भन्छन्, ‘जनार्दन शर्मा विवादमा आएपछि त्यसको व्यवस्थापनमा तपाईंको साथ कसरी पाए? तपाईंले मलाई सहयोग पुग्ने गरी के–के काम गर्नुभयो भनेर सोध्नुभएको थियो। त्यसपछि सचिव मरासिनी टाढा बसिरहेका छन् र शर्मा पनि उनलाई मन्त्रालयमा राख्न चाहँदैनन्।’

त्यसो भए अबको अर्थसचिव को त? 
सचिव नै परिवर्तन हुने हुँदा अबको अर्थसचिव को हुन्छ भनेर प्रश्न उठेको छ। 

शर्माले अर्थसचिवको भूमिकामा कसलाई राख्न चाहनेछन् चासोको विषय समेत बनेको छ। 

जनार्दन शर्मा निकट अर्थात् पहिला मन्त्री रहँदा सचिवालयमा समेत काम गरेका एक अधिकारी भने राजस्व सचिव कृष्णहरि पुष्करको सम्भावना धेरै देख्छन्। 

उनी भन्छन्, ‘मन्त्रालयकै सचिव उनलाई अर्थसचिवको भूमिका दिने सम्भावना बढी छ।’

सचिव पुष्करले आइतबार मन्त्रीलाई स्वागत गरेका थिए। राजस्व सचिव रहेका उनले मन्त्री शर्मालाई पूर्ण सहयोग गर्ने वाचा गरे।

उनले मन्त्रालयमा भने, ‘मन्त्री र आफूहरु मिलेर जुन उद्देश्य राखेर बजेट निर्माण गर्यौँ। अब त्यहीअनुसार कार्यान्वयन हुने भएको छ र मन्त्रीज्यूलाई मेरो तर्फबाट पूर्ण सहयोग हुनेछ।’

उनको यो भनाइमा मन्त्रालयबाहिर जान नपर्ने आत्मविश्वास देखिन्छ। तर सचिवालयका ती अधिकारी भने उनी मन्त्रालयमा रहने मात्रै नभएर अर्थसचिवको भूमिकामा समेत रहनसक्ने बताउँछन्।

उनका अलावा अर्थसचिवको भूमिकामा रहनसक्ने सम्भावना हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याललाई पनि देखिएको छ। 

अर्थ मन्त्रालयकै ‘क्याडर’ रहेका उनले वित्त आयोगको सचिव र वाणिज्य आपूर्ति सचिवको भूमिका निर्वाह गरिसकेका छन्। 

हालको अर्थतन्त्र व्यवस्थापन गर्न सक्ने क्षमता रहेको व्यक्तिको रुपमा उनलाई सत्ता गठबन्धनले लिएको समेत देखिएको छ। सोही कारण उनी अर्थ मन्त्रालय आउने सम्भावना कायम रहेको ती अधिकारीको दाबी छ। 

तेस्रो विकल्पमा भने योजना आयोगका सचिवको भूमिकामा रहेका केवल भण्डारी समेत देखिएका छन्। नेपाली कांग्रेसनजिक रहेका उनी पनि अर्थ मन्त्रालयकै ‘क्याडर’ हुन्। अर्यालकै ब्याची उनी पनि अर्थ मन्त्रालय आउनसक्ने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .