पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रकमा कार ठोकिँदा एक वृद्धको मृत्यु भएको छ।
शुक्रबार बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा.३ च ६१९३ नम्बरको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो।
मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने वर्ष ७९ का भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिए। कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो।
दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटा घाइते भएका छन्।
उनीहरुको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिए।
Shares

प्रतिक्रिया