कारोबार


मधेसबाट मात्रै ठूला चाडपर्वमा ५ करोडको फूल बिक्री

मधेसबाट मात्रै ठूला चाडपर्वमा ५ करोडको फूल बिक्री

फाइल तस्बिर


नेपालखबर
कात्तिक २६, २०८१ सोमबार ८:४१, जनकपुरधाम

यो वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा मधेशका बजार क्षेत्रमा पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको कारोबार भएको छ। गत वर्षको यही अवधिमा करिब  तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो। 

यो वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताए। 

योपरिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा,  हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो। भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो।

विगतमा भारतको पटना तथा कलकताबाट फूल तथो माला आयात हुने गर्थ्यो। यो वर्ष सरकारले आयातमा कडाइ गरेपछि आन्तरिक उत्पादनका फूलमाला बिक्री भएको उनको भनाइ छ। 

जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन्। करिब २०० किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ। धनुषामा करिब ५० बिघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुन्छ। देपुरा, रुपैठा, फूलगामा, परवाहा, ढल्केबर लगायतका ग्रामीण व्यावसायिक फूल खेती हुने गरेको छ। 

कहिलेकाहीँ प्रतिकूल मौसमका कारण फूल बिग्रिने गरेको जनकपुर घर भई काठमाडौँ गौशालामा थोक व्यापार गर्दै आएका  ७० वर्षीय रामदयाल माली भण्डारीले बताए। स्थानीय खुद्रा व्यवसायी रामजीवन भण्डारीले यस वर्ष २० लाखको फूल बिक्री गरेको जानकारी दिए। 
 
नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसान बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad