कारोबार


दसैँ बजार: सर्लाहीमा खसी-बोका किन्नेको घुइँचो (तस्बिर)

दसैँ बजार: सर्लाहीमा खसी-बोका किन्नेको घुइँचो (तस्बिर)

सर्लाहीको हरिवन बजारमा व्यापारीले किसानसँग खरिद गरेर बाहिर लैजान ठिक्क पारेका खसीबोका


नेपालखबर
असोज २३, २०८१ बुधबार १०:२४, सर्लाही

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सर्लाहीको हरिवन–११ स्थित खसी बजारमा यतिबेला दसैँको लागि खसीबोका किन्नेको ठूलो घुइँचो लागेको छ। 

भोलि (बिहीबार) दसैँको फूलपाती पर्व भएकाले आज हरिवनमा खसीबोका किन्न ठूलो संख्यामा सर्वसाधारणदेखि व्यापारीसम्म पुगेका छन्।दसैँको अष्टमी र नवमीमा खसी-बोको काटमार बढी हुन्छ। 

आज वीरगञ्ज, जनकपुरसहितका ठूला सहर बजारबाट आएका व्यापारी किसानसँग खसी–बोका किन्न तँछाडमछाड गरिरहेका देखिन्थे। 

विशेषगरी यहाँबाट जनकपुर र वीरगञ्ज जस्ता नजिकैका ठूला सहर बजारमा खसीबोका बढी जान्छ। काठमाडौँ, पोखरा, नारायणगढ, हेटौँडा लगायतका सहरमा पनि यहाँबाट खसीबोका जाने गरेको छ। 

हरिवन नगरपालिकाले किसानले ल्याएका खसीबोका जोखेर बेच्न पाउने व्यवस्था भने गरेको छैन। किसान र व्यापारी हचुवाकै भरमा खसीबोकाको किनबेच गरिरहेका छन्। सकेसम्म किसानलाई कम मूल्य दिएर व्यापारीहरु दसैँको मौकामा खसी–बोका फुत्काइरहेका छन्।

हरिवनमा सर्लाहीसँगै सिन्धुली र रौतहटबाटसमेत किसानले बिक्रीका लागि खसीबोका ल्याउने गरेका छन्। सिन्धुलीको क्यानेश्वर क्षेत्रबाट यहाँ खसीबोका धेरै आउने गरेको छ। सिन्धुलीबाट किसानले भन्दा पनि व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन्। 

दसैँ अघिको अन्तिम बजार भएकाले स्थानीय किसान आज जसरी पनि आफ्नो उत्पादन बिक्री गर्न हतारिँदै थिए। खसीबोका बिक्री गरेर प्राप्त हुने आम्दाीले दसैँ मान्नुपर्ने बाध्यता किसानलाई छ। तर, उचित मूल्यमा खसीबोका बिक्दैन कि भन्ने चिन्तामा किसान छन्।

‘आफूले वर्ष दिन, डेढ वर्षसम्म पालेको खसी–बोका बेचेर दसैँ खर्च जुटाउने किसानको चाहना हुन्छ,’ स्थानीय किसान वून्यप्रसाद धिमालले नेपालखबरसँग भने, ‘तर दसैँको मुखमा पनि खसी–बोकाको भाउ छैन। व्यापारीले सस्तैमा किनिरहेका छन्। जताबाट पनि आखिरमा ठगिने किसान नै हुन्छन्।’

खसी बजारमा भेटिएका डा.सत्यन्दकुमार रायले आफू रौटहटबाट दसैँको लागि खसी किन्न हरिवन आएको बताए।

हरिवनमा साताको दुईदिन बुधबार र शनिबार खसीबाख्रोको बजार लाग्छ। यो सर्लाहीकै सबैभन्दा ठूलो खसी बजार हो। हरिवन नगरपालिकाले चालु आर्थिक वर्षको लागि हरिवनको खसी बजार ४३ लाख रुपैयाँमा ठेक्का लगाएको छ।  तर, किसानले आफ्नो उत्पादनको राम्रो मूल्य लिन सकुन् भन्नेतर्फ भने नगरपालिकाले चासो दिएको छैन। 

किसानले ल्याएका खसी–बोका जोखेर बेच्ने व्यवस्थासमेत हरिवन नगरपालिकाले गरेको छैन। यति व्यवस्था मात्रै नगरपालिकाले गर्ने हो भने व्यापारीले मौका हेरेर किसानलाई ठग्न पाउने थिएनन्।
 
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले खसीबाख्रा बजारमा किसानले जोखेर खसीबोका बिक्री गर्ने व्यवस्था नभएको स्वीकार गरे। किसान र व्यापारी कतैबाट पनि अहिलेसम्म खसी बजारमा काँटाको व्यवस्था गर्नुपर्यो भन्ने माग नआएको उनी बताउँछन्। 

तर, बिक्री भएको खसीबोकाको कर उठाइरहेका लालबहादुर बोम्जन भने काँटामा जोखेर किनबेच गर्न चाहे त्यो व्यस्था पनि भएको दाबी गरे। उनले बिक्री भएका खसीबोकाबाट एउटाको १८० रुपैयाँका दरले बट्टी उठाउँदै आएका छन्। 

हरिवन बजारमा प्रत्येक बजारको दिन एक हजारको हाराहारीमा खसीबोका र बाख्रा खरिद बिक्री हुँदै आएको छ। 

तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad