सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले यो वर्ष २८ लाख क्विन्टलभन्दा धेरै उखु क्रसिङ गरेको छ।
पुस पहिलो साताबाट सञ्चालनमा आएको उद्योगले तीन महिनाको अवधिमा २८ लाख ३१ हजार ७०५ क्विन्टल उखु क्रसिङ गरेको उद्योग प्रशासनले जनाएको छ।
सम्पूर्ण किसानको उखु पेलेर सकेपछि दुई दिनअघिबाट उद्योग बन्द भएको छ। यस वर्ष इन्दु शंकरले ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको थियो।
भनेजति उखु नपाएपछि उद्योगले लक्ष्यभन्दा एक लाख ७० हजार क्विन्टल कम उखु क्रसिङ गरेको हो। सर्लाहीमा उखु खेती नै घटेकाले यो वर्ष पनि लक्ष्यअनुसार उखु क्रसिङ गर्न नपाएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए।
उद्योगले किसानलाई भुक्तानी पनि समयमै दिइरहेको छ। गएको फागुन १५ सम्म क्रसिङ गरेको उखुको ८५ करोड रुपैयाँ भुक्तानी किसानको खातामा गइसकेको उद्योग प्रशासनले जनाएको छ।
यस वर्ष किसानले सरकारी अनुदानको ७० रुपैयाँसहित उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ प्राप्त गरेका छन्।
इन्दु शंकरले किसानलाई प्रतिक्विन्टल ५४० रुपैयाँका दरले भुक्तानी दिएको हो। सरकारी अनुदानको प्रतिक्विन्टल ७० रुपैयाँ भने सरकारले केही महिनापछि किसानलाई उपलब्ध गराउने छ।
प्रतिक्रिया