ad ad

कारोबार


सम्झौता म्याद सकिँदा पनि बनेन दुधौरा खोलामा पुल, तीन वर्षदेखि डाइभर्सनबाट यात्रा

‘तीन वर्षमा पनि ठेकेदारले पुल निर्माण पूरा गर्दैन, सरकार भने सञ्चो मानेर बस्छ’
सम्झौता म्याद सकिँदा पनि बनेन दुधौरा खोलामा पुल, तीन वर्षदेखि डाइभर्सनबाट यात्रा

पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलामा पुलका लागि बनाइएका पिलर।


जनार्दन पोखरेल
फागुन १४, २०७९ आइतबार १३:८, सर्लाही

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलामा पुल निर्माण सुरु भएको तीन वर्ष भयो। तर, केही पिलरबाहेक पुलका अरु संरचना बनेका छैनन्। 

सडक विभाग मातहतको पुल महाशाखाले नै दुधौरा खोलामा चार लेनको पुल निर्माण अघि बढाएको हो। महाशाखाले महादेव खिम्ती हिराजन जेभीलाई साढे तीन वर्षअघि नै पुल निर्माणको जिम्मा दिएको थियो।

तीन वर्षभित्र पुल बनाइसक्ने सम्झौता महाशाखाले निर्माण कम्पनीसँग गरेको थियो। सम्झौता अवधि गएको माघ मसान्तमै सकियो। तर पुल निर्माणको काम ३० प्रतिशत पनि सकिएको छैन।

समयमै पुल नबन्दा पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुले लामो समयदेखि सास्ती भोगिरेहका छन्। 

निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण सम्झौता अवधि सकिँदा पनि पुल निर्माणको काम आधा पनि नसकिएको सडक डिभिजन कार्यालय (हेटौँडा) का प्रमुख इन्जिनियर राजेशकुमार यादवले जानकारी दिए। 

‘निर्माण कम्पनीले गएको माघ मसान्तभित्रै त्यो पुलको निर्माण सकेर विभागलाई हस्तान्तरण गर्नुपर्ने थियो’, यादवले नेपालखबरसँग भने, ‘समयमै पुल निर्माण नहुँदा दिनहुँ हामीले गाली खाइरहेका छौँ। एप्रोच रोडको डाइभर्सन दिनहुँ बिग्रन्छ। त्यतिबेला यात्रुले हामीलाई नै गाली गर्छन्। आजभोलि दैनिकजसो हामीले नै गुनासो सुन्नुपरिरहेको छ।’ 

निर्माण कम्पनीले १५ करोड २३ लाख रुपैयाँ लागतमा दुधौरा खोलामा पुल निर्माण पूरा गर्ने सम्झौता गरेको छ। ८९ मिटर लम्बाइको यस पुलको चौडाइ २३ मिटर रहने सम्झौतामा उल्लेख छ। 

दुधौरा खोलाको पुरानो पुल पटकपटक भासिएपछि सडक विभागले यहाँ चार लेनको पुल निर्माण अघि बढाएको हो।

चार वर्षअघि पुलको पिलर भासिँदा सडक डिभिजन कार्यालय (हेटौँडा) ले करिब दुई करोड खर्चमा रेट्रोफिटिङ गरेर पुल प्रयोगमा ल्याएको थियो। तर त्यो एक वर्ष पनि नटिकेपछि सडक विभागले दुधौरा खोलामा नयाँ पुल निर्माण थालेको हो। 

नेपालकै लाइफलाइन मानिने पूर्वपश्चिम राजमार्गको पुल समयमै निर्माण नहुँदा पनि सम्बन्धित निकायले चासो देखाएको छैन।

पुल नहुँदा ३ वर्षदेखि सवारीसाधन दुधौरा खोलामा निर्माण गरिएको डाइभर्सनबाट ओहोरदोहोर गर्ने गरेका छन्। झण्डै ७ सयमिटर लामो डाइभर्सन सडकबाट यात्रा गर्दा यात्रु धुलाम्मे हुने गरेका छन्। चारपांग्रे सवारीसाधनमा यात्रा गर्नेले भन्दा मोटरसाइकल र साइकल चढ्नेले धुलोको समस्या धेरै खेप्नुपरेको छ।

फाइल तस्बिर

तीन वर्षको बीचमा निर्माण सामग्रीमा चर्को मूल्यवृद्धि भएको र चुनावका कारण पनि कामलाई सोचेजसरी अघि बढाउन नसकिएको महादेव खिम्ती हिराजन जेभीका इन्जिनियर अजय झाले बताए।

दुधौरामा अहिले कम भार भएका सवारीसाधन बेलिब्रिजबाट चल्छन् भने धेरै भार भएका मालवाहक गाडी डाइभर्सनबाट गुड्छन्।

वर्षात्‌का बेला खोलामा बाढी आउँदा मालवाहक गाडी वारिपारि नै रोक्नुपर्ने बाध्यता छ। बेलिब्रिज एकतर्फी भएकाले पुलको मुखमा सधैँ सवारीसाधनको जाम लाग्छ। यसले यात्रामा झन्झटसँगै जोखिम पनि बढाएको छ।

फाइल तस्बिर

पुल निर्माणमा ढिलाइ भएपछि बारा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले केही समयअघि सडक विभागका महानिर्देशक अर्जुनबहादुर थापालाई भेटेर ध्यानाकर्षण गराएका थिए। 

त्यतिबेला महानिर्देशक थापाले यही आर्थिक वर्षभित्रै पुल निर्माण पूरा हुने बताएका थिए तर कामले अझै गति लिएको छैन। 

पुलमुनिको डाइभर्सनबाट मोटरसाइकलमा यात्रा गर्दा हिउँदमा धुलो र बर्खामा हिलोको समस्या खेप्नुपर्ने सर्लाहीका हरि निरौलाले गुनासो गरे।

‘तीन वर्षमा पनि ठेकेदारले पुल निर्माण पूरा गर्दैन, सरकार भने सञ्चो मानेर बस्छ’, उनले भने, ‘जुनसुकै तन्त्र आए पनि शासकहरुको काम गर्ने शैलीमा सुधार भएन। जनताको दुःखमा उनीहरुको ध्यान नै छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .