कारोबार


वैकुन्ठेमा सुन्तला-कागती फलफूल सिकाइ केन्द्र स्थापना

वैकुन्ठेमा सुन्तला-कागती फलफूल सिकाइ केन्द्र स्थापना

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १२:५२, भाेजपुर

भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ स्थित वैकुन्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ। व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना गरिएको हो।

वैकुन्ठे क्षेत्र सुन्तलासँगै फलफूलखेतीका लागि उपयुक्त रहेकाले वडाले बजेट विनियोजन गरेर सिकाइ केन्द्र स्थापना गरेको रामप्रसादराई–६ का वडाध्यक्ष एकराज आचर्यले बताए।

किसानलाई बाहिरका बिरुवाभन्दा पनि यहीको हावापानी, भूगोल, माटो सुहाउँदो सुन्तलाका बिरुवा उत्पादन गर्ने लक्ष्यले नर्सरी स्थापना गरिएको वडाध्यक्ष आयर्चले बताए। गत आर्थिक वर्षमा वडाले रु एक लाख ५० हजार बजेट विनियोजन गरेर केन्द्र स्थापना गरेको उनको भनाइ छ।

‘वैकुन्ठेका अधिकांश किसानले व्यावसायिक सुन्तलासँगै फलफूलखेती गरिरहेका छन्’, वडाध्यक्ष आचार्यले भने, ‘कतिपय किसानलाई सुन्तला तथा फलफूलखेतीसम्बन्धी सामान्य जानकारी नहुँदा समस्या पनि देखिन्छ। किसानलाई सुन्तला, कागतीलगायत खेती प्रणालीको विषयमा प्रयोगात्मक रूपमा जानकारी दिन सिकाइ केन्द्र स्थापना गरेका हौँ।’

केन्द्रमा किसानको सक्रियतामा सुन्तला नर्सरीसमेत स्थापना गरिएको छ । दुईवटा टनेलमा सुन्तलाका बिरुवा उत्पादन गरिएको स्थानीय राजेन्द्रकुमार राईले बताए। 

नर्सरीमा उत्पादन भएका बिरुवा किसानलाई वितरण गरिने उनको भनाइ छ । आफ्नै ठाउँमा सिकाइ केन्द्रबाट सुन्तलासँगै फलफूलखेतीको विषयमा आवश्यक प्राविधिक ज्ञान लिन सहज भएको उनले बताए।

‘सिकाइ केन्द्रमार्फत हामीले सुन्तलाका बिरुवा पनि उत्पादन गरेका छौँ’, उनले भने, ‘हामीले कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा खेती प्रविधिको विषयमा जानकारी लिन पाएका छौँ । सुन्तला, कागतीमा रोग, कीरा देखिएमा कसरी निराकरण गर्ने भन्ने पनि सिक्ने अवसर पाएका छौँ । सिकाइ केन्द्रबाट अभ्यासमूलक ज्ञान लिन सहज छ।’

सिकाइ केन्द्रका माध्यमबाट किसानलाई खेती प्रविधिको विषयमा जानकारी दिने कार्य भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख धिरज ठाकुरले बताए। 

किसानलाई सिकाइ केन्द्रमा बोलाएर अभ्यास गराएर नै खेती प्रविधिका बारेमा जानकारी दिने गरिएको उनको भनाइ छ। ‘किसानलाई बढी मात्रामा लाग्ने रोग, कीरा प्रकोप र खेती प्रविधिका बारेमा जानकारी दिन्छौँ’, उनले भने, ‘एकसाथ अभ्यास गराएर सिकाइने भएकाले कार्यक्रम किसानका लागि उपयुक्त देखिएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad