कारोबार


गाउँपालिकाले दियो ७५ जना किसानलाई उन्नत जातका गाई

गाउँपालिकाले दियो ७५ जना किसानलाई उन्नत जातका गाई

नेपालखबर
माघ १४, २०८१ सोमबार ११:३८, भाेजपुर

भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ। यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वडाका ७५ किसानलाई आयआर्जनका लागि पहिलो चरणमा उन्नत जातको गाई वितरण गरिएको हो। 

गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिरहेको उनको भनाइ छ । किसानलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने उनले बताए।

‘यहाँका किसानलाई उन्नत जातका गाई वितरण गरेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘पहिलो चरणमा तीन वटा वडामा ७५ वटा गाई वितरण गर्ने लक्ष्य छ। महिला उद्यमीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ।’ मुख्यरुपमा पशुपालनको लागि उपयुक्त रहेको वडा नं १ श्यामशिला, वडा नं २ तिवारीभज्ञ्याङ र वडा नं ३ च्याङ्गेका किसानलाई गाई वितरण गरिएको हो।

गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्षल किरण राईले बताए। 

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाएर किसानलाई आयआर्जनमा जोड्न उन्नत जातका गाई वितरण गरिएको उनको भनाइ छ । विगतका वर्षहरुमा किसानलाई उन्नत जातको भैँसी वितरण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष राईले जानकारी दिए।

‘किसानलाई आर्थिकरुपमा सक्षम बनाउँदै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले उन्नत जातका गाई वितरण गरेका छौँ’, अध्यक्ष राईले भने, ‘यसअघि हामीले किसानलाई उन्नत जातको भैँसी दिएका थियौँ। त्यो कार्यक्रम सफल भएको छ। यस पटक हामीले उन्नत जातका गाई वितरण गरेका छौँ। अहिले किसानले उत्पादन गरेको दूध सदरमुकामसम्म पुग्न थालेको अवस्था छ।’

गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष राईको भनाइ छ।

‘हामीले किसानलाई आयआर्जनसँग जोड्ने कार्यक्रममा ध्यान दिएका छौँ’, अध्यक्ष राईले भने, ‘पोषनसँगै किसानलाई रोजगारमुखी बनाउने लक्ष्यका साथ अघि बढेका छौँ । बाँझोको जमिन सदुपयोग गर्ने र सामूहिक खेतीमा लाग्ने किसानलाई प्रोत्साहनको नीति लिएका छौँ।’

गाउँपालिका ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत महिला उद्यमीलाई आर्थिकरुपमा सक्षम बनाउने लक्ष्यका साथ गाई वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए। 

‘मुख्यरुपमा महिला उद्यमीलाई लक्षित गरेर गाई वितरण कार्यक्रमको अघि सारेका हौँ’, उपाध्यक्ष राईले भने, ‘घरको आर्थिक, व्यवहारिकसँगै पोषनको पाटोमा महिलाको ठूलो भूमिका हुन्छ। यसबाट महिलालाई उद्यमसँग जोडिन सहजता थपिएको छ।’

गाउँपालिकाले उन्नत जातको गाई वितरणले उत्साह थपिएको वडा नं १ श्यामशिलाकी किसान पासाङदिकी शेर्पाले बताए। गाई वितरणले आयआर्जनमा जोडिन सहज भएको उनको भनाइ छ।

‘मैले स्थानीय जातका गाई पाल्दै आएकी थिए’, उनले भने, ‘अहिले गाउँपालिकाले उन्नत जातको गाई दिएको छ । गाई वितरणले हामीलाई उत्साह थपिएको छ । उत्पादन भएको दूध यही नै बिक्री हुन्छ । यो कार्यक्रम हामी किसानको लागि निकै उपयोगि छ।’

किसानहरु उद्यममा जोडिएसँगै श्यामशिला क्षेत्रमा उत्पादन भएको दूध तथा दूग्ध उत्पादन सदरमुकामसँगै बाहिर जाने अवस्था बनेको वडा नं १ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताए। मध्यपहाडी लोकमार्गले छोएको कारण यहाँ उत्पादन भएको दूधको बजारीकरणको लागि सहजता रहेको वडाध्यक्ष तामाङको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad