कोसी प्रदेशमा हुने भनिएको लगानी सम्मेलन सरेको छ। कोसी प्रदेशमन्त्री परिषद्को बिहीबार बसेको बैठकले पहिलो प्रदेशस्तरीय लगानी सम्मेलन सार्ने निर्णय गरेको हो।
बुधबार बसेको लगानी सम्मेलन निर्देशक समितिको बैठकले आगामी वैशाख महिनामा सम्मेलन गर्ने प्रस्ताव गरेको थियो। आगामी माघ ११ गतेदेखि विराटनगरमा सम्मेलन गर्नेगरि सरकारले तयारी अघि बढाएको थियो।
निर्देशक समितिको सिफारिस अनुसार मन्त्रीपरिषद् बैठकले लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते निर्णय गरेको हो।
माघ ११ गतेदेखि उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पोकै सुविधा सम्पन्न डोम प्रयोग गरेर सम्मेलन गर्न खोजिएको भन्दै सरकारकने आलोचना भएको थियो। तर, प्रदेश सरकारले भने तयारीको कारण देखाउँदै लगानी सम्मेलन वैशाखमा सारेको हो।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले लगानी सम्मेलन सारिएको जानकारी दिए।
लगानी सम्मेलनको आयोजनाका लागि प्रदेश लगानी प्राधिकरणलाई सरकारले जिम्मेवारी दिइसकेको छ। प्राधिकरणले ३७ वटा आयोजनालाई लगानीको सोकेसमा राख्ने तयारी अघि बढाएको हो।
ती आयोजनाको कुल लागत १ खर्ब ४ अर्ब ८५ करोड रहेको छ। लगानी सम्मेलनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन भइसकेको छ।
सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुककासमेत लगानीकर्ताहरूलाई आमन्त्रण गर्ने सरकारको तयारी छ।
लगानी भित्र्याउन प्रदेश सरकारले संघ र स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्दै प्रदेशले गर्नुपर्ने कानून संशोधन अधि बढाउँदैछ।
सरकारले सबैभन्दा धेरै पर्यटन क्षेत्रका ११ वटा परियोजनालाई आयोजना सोकेसमा समावेश गरेको छ। लगानी प्राधिकरणका अनुसार उद्योगमा ८, पूर्वाधार विकासमा ७, कृषि क्षेत्रका ६, उर्जाका २, सूचना प्रविधिमा २ र शहरी फोहोर व्यवस्थापनका एउटा आयोजना ‘सोकेसिङ’ भएका छन्।
सरकारले लगानी सम्मेलनमार्फत् कम्तिमा १ खर्ब बढिको ‘एमओयू’ हुने दाबी गर्दै आएको छ।
Shares

प्रतिक्रिया