एउटै सहकारीको कति वटा साधारण सभा होला? एउटा या बढीमा दुई वटा। तर, झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एकैदिन २१ वटा शाखामा साधारण सभा गरेको छ।
सहाराले आफ्ना इकाईहरूमा साधारण सभालाई तीव्र बनाएको छ। संस्थाले आज (आइतबार) एकै दिन २१ शाखामा साधारण सभा गरेको हो।
धेरै सदस्यहरु हुँदा साधारण सभा गर्न सदस्यसम्म नै पुग्नु पर्ने भएकोले हरेक इकाईहरूमा साधारण सभा हुँदै आएको छ। संस्थाले गएको शुक्रबार १० वटा सेवा केन्द्रहरूको साधारण सभा गरेको थियो।
सहाराले शुक्रबार बुट्टाबारी, गोलधाप, कुञ्जीवारी, खुदुनावारी, बुधबारे, चारआली, विराटनगरको पुष्पलाल चोक, उर्लाबारी, पथरी र तरहरामा साधारणसभा गरेको थियो।
शनिबार मङ्गलबारे इलाम, राके, फिदिम, इलाम, नयाँ बजार, थर्पु, याशोक, रवि, चक्रघट्टी, इनरुवा, बेल्टार, रामपुर, नेपालटार, गाईघाट, धरान, कालाबन्जार, चुलाचुली र कटारीमा साधारण सभा सम्पन्न गरिएको संस्थाले जनाएको छ।
आइतबार विभिन्न इकाईहरू मार्फत् २१ वटा सेवा केन्द्रको साधारण सभा गरिएको अध्यक्ष हरिबहादुर राजवंशीले जानकारी दिए।
झण्डै १७ अर्बको दायित्व
सहारा नेपालको आर्थिक वर्ष २०८०/०८१ मा कुल पुँजी तथा दायित्व १६ अर्ब ८३ करोड ३३ लाख ३६ हजार ४१० रुपैयाँ रहेको छ। शेयर पुँजी १ अर्ब ७६ करोड ८६ लाख १२ हजार ७ सय रहेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख छ। निक्षेप १२ अर्ब ७५ करोड ३७ लाख ६३ हजार २०८ रुपैयाँ रहेको छ भनेँ ऋण लगानी १० अर्ब ९३ करोड ५४ लाख ६१ हजार ३९८ रुपैया रहेको संस्थाले जनाएको छ।
सहारा नेपालको आम्दानी १ अर्ब ९१ करोड ५७ लाख ३७ हजार हुँदा खर्च १ अर्ब ८० करोड ६३ लाख २१ हजार रहेको छ।
संस्थाको वार्षिक खुद मुनाफा खुद मुनाफा १० करोड ९१ लाख १५ हजार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाका सदस्य सचिव महेन्द्रकुमार गिरीले प्रस्तुत गरेको प्रस्तावित नीति तथा कार्यक्रममा शेयर पुँजी, जगेडा कोष, बचत, ऋण प्रवाहको अवस्था उल्लेख गरिएको छ। संस्थामा आबद्ध सदस्यहरू मध्ये करिब ९२ प्रतिशत महिला सदस्य रहेको गिरीको प्रतिवेदनमा उल्लेख छ।
संस्थाले तरलताको व्यवस्थापन गरेको, भाखा नाघेका ऋण नियन्त्रण, सदस्य स्वास्थ्य सुविधा, गरिबी निवारण (लघुवित्त) सेवा सञ्चालन गर्दै आएकाे छ।
स्वच्छ जीवन स्वस्थ भान्से अभियान
सहारा नेपालका अध्यक्ष राजवंशीले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले विद्युतीय चुलो जडानका लागि हरित ऊर्जामा केन्द्रित हुने भनिएको छ।
स्वच्छ जीवन स्वस्थ भान्से हाम्रो अभियान भन्ने अभियानका साथ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा आफ्ना सदस्यहरूलाई विद्युतीय चुलो प्रवर्द्धन गर्न हरित ऊर्जामा लगानी कार्यक्रम सञ्चालनमा ल्याएको छ।
युवा सदस्य निर्माण अभियान अन्तरगत थ्रीजीरो क्लबमा समावेश गराई क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगत १५ हजार भन्दा बढी युवालाई सदस्यता प्रदान गर्ने सहाराको योजना रहेको प्रतिवेदनमा भनिएको छ।
सहारा नेपालले गत आर्थिक वर्षमा सामाजिक सुरक्षा अन्तरगत ज्येष्ठ सदस्य, एकल महिला पुरुष, १ हजार १८६जना, मृत्यु भएर राहत तथा ऋण मिनाहा ५५१ जना, स्वास्थ्य उपचार सेवा ३ हजार ४४४ जनालाई सेवा दिएकाे छ।
१० हजार ७७९ जना सदस्यमा ३१ करोड ४६ लाख ६३ हजार २५६ रुपैयाँ लगानी गरेकाे। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा १ लाख ७३ हजार २ सय ६५ सेयर सदस्य रहेका छन्। यी सबै सदस्यलाई साधारण सभा गराउनको लागि इकाई स्तरमा साधारण सभा गर्ने गरिएको संस्थाले जनाएको छ।
Shares

प्रतिक्रिया