युद्ध अन्त्यका लागि आफ्नो देशसँग वार्ता भइरहेको भनेर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको दाबी इरानले अस्वीकार गरेको छ।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार इरानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी अमेरिकासँग कुनै वार्ता नभएको बताएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘हामी अमेरिका र इरानबिच वार्ता भइरहेको भन्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति अस्वीकार गर्छौँ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी (इरान) ले कुनै पनि किसिमको वार्ता तब मात्र गर्छौँ जब युद्धसँग सम्बन्धित हाम्रो लक्ष्य प्राप्त हुन्छ भन्ने कुरामा अडिग छौँ।’
बीबीसी फारसीका वरिष्ठ संवाददाता घोन्चेह हबिबिजादेहका अनुसार इरानको समाचार एजेन्सी फार्सले पनि नाम नखुलाइएको इरानी स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘ट्रम्पसँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क छैन।’
हबिबिजादेहका अनुसार स्रोतले भनेको छ, ‘जब ट्रम्पले पश्चिम एसियाका सबै पावर स्टेसनलाई निसाना बनाइने कुरा सुने तब उनी पछि हटे।’
यसअघि ट्रम्पले भने जारी द्वन्द्व पूर्ण रूपमा अन्त्य गर्न अमेरिका र इरानबिच ‘सकारात्मक वार्ता’ भएको दाबी गरेका छन्।
सोही कारण इरानका विद्युत् केन्द्र र ऊर्जा पूर्वाधारमा पाँच दिन आक्रमण नगर्ने निर्णय गरिएको पनि उनले बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘मलाई यो कुरा सुनाउन पाउँदा खुसी लागेको छ- अमेरिका र इरानबिच विगत दुई दिनमा मध्यपूर्वमा जारी द्वन्द्व पूर्ण रूपमा समाधान गर्ने विषयमा धेरै राम्रो र सकारात्मक छलफल भएको छ।’
उनले अगाडि लेखेका छन्, ‘यो हप्ताभरि जारी रहने रचनात्मक वार्तालाई ध्यान दिँदै मैले युद्ध विभागलाई इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगन गर्न निर्देशन दिएको छु। यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुनेछ।’
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
Shares

प्रतिक्रिया