संयुक्त राज्य अमेरिकामा नेपालकै पहिलो आईटीईएस रोडशो आयोजना हुने भएको छ।
आगामी मार्च २४ देखि २७ सम्म टेक पिक नेपाल : अर्लेन्डो २०२५ हुनलागेको हो।
नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा अमेरिकन चेम्बर अफ कमर्स नेपाल (अमचेम नेपाल)ले उक्त शो आयोजना गर्नलागेको हो।
यसलाई अमेरिकामा नेपालको पहिलो अन्तर्राष्ट्रिय सूचना प्रविधिजन्य सेवाहरु (आईटीईएस) रोडशो नाम दिइएको छ। यस दौडान अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालको फस्टाउँदो आउटसोर्सिङ र आईटीईएस उद्योगको प्रदर्शन गरिनेछ।
शो फ्लोरिडा राज्यको अर्लेन्डोमा आयोजना हुनेछ। यसले नेपाललाई विश्व प्रविधि नक्सामा समावेश गर्ने र अन्तर्राष्ट्रिय लगानीकर्ता, क्लायन्ट र साझेदारहरुलाई आकर्षित गर्ने विश्वास गरिएको छ।
नेपालको सूचना प्रविधि क्षेत्रका लागि यो प्रदर्शनी निकै महत्त्वपूर्ण हुनेछ। पछिल्ला वर्षहरुमा नेपालको आईटी निर्यात निरन्तर बढ्दै गएको छ। यस्ता प्रदर्शनीले यस क्षेत्रको उन्नयनमा ठूलो भूमिका खेल्न सक्नेछ।
टेक पिक नेपाल : अर्लेन्डो २०२५को मुख्य आकर्षण नेपाल पेभिलियन हुनेछ। जहाँ नेपालको मात्रै प्रदर्शनी समावेश हुनेछ। यसमा नेपालको आउटसोर्सिङ अवसरहरु, ठूला प्रविधि कम्पनीहरु र यस क्षेत्रका उद्योगहरुको सफलताका कथाहरु प्रस्तुत गरिनेछ। पेभिलियनमा अन्तर्क्रियात्मक बुथहरु, लाइभ प्रदर्शनीहरु र नेपालका शीर्ष आईटी कम्पनीहरुको प्रस्तुतीकरणले अवलोकनकर्तालाई तान्नेछ।
त्यसैगरी नेपाल पेभिलियनले नेटवर्किङ हबको रुपमा पनि काम गर्नेछ। जसअनुसार नेपाली प्रविधि कम्पनी र विश्वका उद्योगहरुबीच दीर्घकालीन साझेदारीबारे बी२बी बैठकहरु, लगानी छलफलहरु हुनेछन्।
Shares

प्रतिक्रिया