कारोबार


कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

नेपालखबर
जेठ ४, २०८३ सोमबार ६:१८, मुस्ताङ

मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ।

लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरलानाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ।

कोरलानाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो। कोरलानाकामा त्रिपाल टाँगेर व्यापार गरी बस्ने व्यवसायी र अवलोकनका लागि जाने पर्यटकको सहजताका लागि सञ्चारको पहुँच स्थापित गरिएको थियो।

कोरलानाकामा सञ्चारको पहुँच स्थापना गरिएको भए पनि माइक्रोवेब रेडियो लिङ्कका लागि उपकरण क्षमता कम हुँदा सञ्चार सुविधा भरपर्दो बन्न सकेको थिएन। नेपाल विद्युत प्राधिकरणले विद्युत् पोल विस्तार गरिसकेको भए पनि प्रसारण लाइन सञ्चालनमा आएको छैन।

नाकामा विद्युतीय सेवा नहुँदाको विकल्पमा सौर्य ऊर्जाको सहायताबाट टावर सञ्चालन गरिएको थियो। जोमसोमस्थित टेलिकम कार्यालयका प्रमुख हुमबहादुर भुजेलका अनुसार कोरलानाकामा देखिएको टेलिफोन र इन्टरनेट समस्या समाधान गर्न सौर्य ऊर्जाको बिटिएस टावर क्षमता वृद्धि गर्न ब्याट्री र सोलार प्यानलको क्षमता दोब्बर पारिएको छ।

कोरलानाकामा खटिएका प्राविधिकसहितको टोलीले यहाँ रहेको माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावरलाई सहज रूपमा सञ्चालन गर्न तथा टुजी र फोरजी बिटिएस टावरको ब्याट्री ब्याकअफ र सोलार प्यानलको सङ्ख्या बढाइएको प्रमुख भुजेलको भनाइ छ।

उनका अनुसार बिटिएस टावरका लागि २० वटा सोलार प्यानल र १५० एम्पियरको तीनवटा ब्याट्री ब्याकअफ थप गरिएको हो।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बिटिएस टावरको क्षमता बढाइपछि २४सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेटको सुविधा राम्रो भएको बताए। कोरलानाका टुजी र फोरजीसहितको मोबाइल नेटवर्कमा सुधार गरिएसँगै व्यापारी तथा पर्यटकलाई सहज भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad