कारोबार


१ करोड लगानीमा साबुन उद्योग सञ्चालन

१ करोड लगानीमा साबुन उद्योग सञ्चालन

नेपालखबर
भदौ २२, २०८२ आइतबार ८:२०, बागलुङ

एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ। काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका हुन्। उनीहरु दुवैले स्नाकोत्तर उत्तीर्ण गरेका छन्। उनीहरुलाई समकालीन साथीहरू विदेशिँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन्।

परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिँदैन भन्थे। तर तीर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन, नेपालमै उद्यमी बन्ने सपना देखे । यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई हुर्काइरहेका छन् । स्वदेशमै स्वरोजगार सृजना गरेका तीर्थ र ताराको उद्योगमा अहिले छ जनाले रोजगारी पाएका छन्।

बागलुङ बजारको हल्लनचोक नजिकै रहेको टिएण्डटी म्यानुफ्याक्चरिङ उद्योगबाट तीर्थ र ताराले भाँडा र कपडा धुने साबुन उत्पादन गरेर बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङ र म्याग्दी र पर्वत जिल्लाका मुख्य सहरमा बिक्री गर्दै आएका छन्।

विसं २०७८ मा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरेका तीर्थ र ताराले २०८० सालबाट साबुन उत्पादन गरेर बिक्री गर्न थालेका हुन्। ५० लाख लगानी गरेर सुरु गरेको उद्योगमा एक करोडभन्दा बढी लगानी पुगेको छ। निकट भविष्यमा सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने लक्ष्य रहेको ताराले बताइन्।

उनले भनिन्, ‘अहिले विदेश जाने लहर चलेको छ, तर हामीहरूले यही नै केही गर्नुपर्छ भन्ने सोच बनायौँ र साबुन उद्योग सुरु गरेका हौं, नयाँ कामको सुरुआत आफैँबाट थालनी गर्नुपर्छ भन्ने मान्यता राख्छौँ, यहाँ साबुन उद्योग सञ्चालन हुँदा गाउँठाउँकै स्थानीयले नै रोजगार पाउँछन्।’

साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौँबाट खरिद गर्ने तीर्थले बताए। आफूहरूले वार्षिक ५० लाख बराबरको कारोबार गर्ने उनको भनाइ छ। दुई सय ग्रामको कपडा धुने कालिका साबुनलाई ५० मा बिक्री गर्दै आएको उनी बताउँछन्। उत्पादनमा मात्र नभएर उत्पादित साबुनको गुणस्तरमा समेत ध्यान दिने गरेको उनले सुनाए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad