नवलपरासी पूर्वका किसान चैते धानको उचित मूल्य नपाउँदा निराश भएका छन्।
मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरेका छन्। तर प्रतिक्विन्टल दुई हजार २ सय मात्र पाउँदा उनी खिन्न छन्। गतवर्ष तीन हजारभन्दा धेरै मोलमा उनले धान बेचेका थिए।
बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताए।
यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो। उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका छन्।
गैंडाकोटका किसान मानबहादुर थारुले प्रतिक्विन्टल २२ सयका दरले व्यापारीलाई धान बेचेको बताए। हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ।
सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारी बताउँछन्।
भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनको भनाई छ। यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो। रासस
Shares

प्रतिक्रिया