कारोबार


साउदी र सिंगापुरमा ७ वर्ष रोजगारी गरेका कुमार अहिले गाउँमै दूध बेचेर कमाउँछन् वर्षको ३० लाख

साउदी र सिंगापुरमा ७ वर्ष रोजगारी गरेका कुमार अहिले गाउँमै दूध बेचेर कमाउँछन् वर्षको ३० लाख

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार ७:३७, बागलुङ

बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेकाे १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आएका छन्। 

दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने बस्नेत अगुवा कृषकका रूपमा चिनिन्छन्। विसं २०६९ मा तीनवटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन सुरु गरेकाे उनको फर्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन्। 

छ वर्ष साउदी अरब र ११ महिना सिङ्गापुर बसरे फर्किएका बस्नेतले तीनवर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गरेका थिए। व्यापारमा मुनाफा नभएपछि त्यतिबेला पसल बेचेर पुनःविदेश जाने सोचसहित जापान जाने योजनासमेत बनाएका थिए। 

तर, जापान जाने योजनाले पूर्णता नपाएपछि बेचिसकेको पसल पुनः गर्नुभन्दा व्यावसायिक रूपमा गाईभैँसी पाल्ने योजना बनाएर गाउँ फर्किकाे उनी बताउँछन्। त्यसयता उनले कहिल्यै पछुताउनु परेको छैन। बस्नेतलाई उनकी श्रीमती अप्सराको दरिलो साथ छ। बीसवटा गाईभैँसी हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेत दम्पतीले मिलेर गर्दै आएका छन्। 

दैनिक एक सयदेखि एक सय २० लिटरसम्म दूध उत्पादन गर्दै आएका बस्नेतले मासिक रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाए। 

उनले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा पोखरा गएर एक हप्ताको तालिमसमेत लिएका छन्। बिक्री भएर बाँकी रहेको दूधबाट खुवा र पनिर बनाएर बच्ने गरेको जानकारी बस्नेतले दिए। 

उनले उत्पादन गरेको दूध नजिकैको नारायणस्थान बजारमा बेच्ने गरेका छन्। दूध बजारीकरणको समस्या नरहेको उनले बताए। 

चैत–वैशाखमा एक सय २० लिटरभन्दा बढी र असार साउनमा ७० लिटरसम्म दूध गाउँमा बिक्री हुने गरेको उनको भनाई छ। उनले गाउँमा बिक्री भएर रहेको दूध कहिले स्थानीय डेरीलाई बेच्ने, कहिले पर्वतको कुश्मा बजार र बागलुङ बजारमा पठाउने गरेका छन्। 

दूध बिक्री नहुँदा, बर्खाको समयमा सडकका कारण ढुवानीमा समस्या हुँदा, पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा सयौँ लिटर दूध बिग्रिएर जाने गरेको भए पनि पछिल्लो समय प्राक्टिकल एक्सन नेपालको सहयोगमा डीसीआर सीसी बागलुङले अनुदानमा प्रदान गरेको ‘डिप फ्रिज’ले राहत पुगेको बस्नेतले बताए।

व्यवसायको लागि उनले बैँकबाट कृषि कर्जा लिएका छन्। तर, जानकारी नभई घटबढ हुने व्यजदरले भने सास्ती हुने गरेको उनको गुनासो छ। 

भेटेरिनरी अस्पताल, पशुपालक कृषकसँग काम गर्दै आएका सामुदायिक स्रोत विकास केन्द्र (डीसीआरडीसी) र साना किसान सहकारी सङ्घसंस्थाबाट प्राप्त प्रोत्साहनले पशुपालनमा लाग्न सहज वातावरण बनाएको बस्नेतको भनाई छ। 

उनले गाईभैँसीलाई खुवाउने घाँस उत्पादन गर्न फार्मको वरिपरी ४० रोपनी जमिन भाडामा लिएर एक सय ५० केजी सुडान छरेका छन्। 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट प्राविधिक सहयोग, औषधि उपचार र खोपसँगै अनुदान पाएको बताउँदै बस्नेतले लम्पीस्किन रोगले भने तीन वटा गाई र एउटा भैँसी मरेको जानकारी दिए। उनका अनुसार व्यवसाय विस्तारका क्रममा फार्ममा रु ३० लाखभन्दा बढी लगानी पुगिसकेको छ।

भारतको विहारबाट उनले रु एक लाख ३० हजार तिरेर भैँसी ल्याएका छन्। ती भैँसीले एक छाकमा १० लिटरभन्दा बढी दूध दिने गरेको छ। 

समग्रमा वार्षिक रूपमा रु ३० लाखभन्दा बढी आम्दानी हुने उनले बताए। स्थानीय सरकारले बजार व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा उनको जोड छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad