कारोबार


कृषक र उपभोक्तालाई जोड्दै आँबुखैरेनी बजार

कृषक र उपभोक्तालाई जोड्दै आँबुखैरेनी बजार

नेपालखबर
कात्तिक १७, २०८१ शनिबार १०:५९, तनहुँ

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष रुपमा जोड्ने काम गरेको छ। गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोको रुपमा विकास भएको छ।

कृषकले प्रत्येक शुक्रबार आफूले उत्पादन गरेका कृषिउपज बिक्री वितरणका हाटबजारमा ल्याउँछन्। उपभोक्ता पनि कहिले शुक्रबार आउँछ र ताजा कृषि सामाग्री किन्न पाइएला भनेर कुर्छन्। 

गत वर्षको फागुनदेखि सञ्चालित हाटबजारले कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्न सफल भएको छ । कृषकले आफूले उत्पादन गरेका सामान बजारीकरणका लागि हाटबजार प्रभावकारी बनेको छ। 

आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले हाटबजार आँबुखैरेनीको पहिचान बनिसकेको बताए। उनले भने, ‘उपभोक्ताहरु कहिले शुक्रबार आउँछ र गाउँबाट आएका ताजा सामग्री किन्न पाइन्छ भनेर बस्नुहुन्छ । हाटबजारले कृषक र उपभोक्तालाई जोड्ने काम गरेको छ।’

हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ। हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको केसीको भनाइ छ। 

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक सुकमाया चेपाङ हाटबजार कृषि सामाग्री बजारीकरणका लागि सहयोगी बनेको बताउँछिन्। 

‘अन्य ठाउँमा गएर बिक्री गर्नुभन्दा हाटबजारमा ल्याएर बिक्री गर्दा एक रुपैयाँ भए पनि बढी मूल्य पाउने गरेका छौँ। सहज रुपमा वस्तुको बिक्री वितरणका लागि हाटबजार प्रभावकारी बनेको छ । मैले गिठा, भ्याकुर, चिउरीलगायतका कृषिउपज बिक्री गर्ने गरेकी छु’, उनले सुनाइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad