कारोबार


महाशिलामा ७ करोड लगानी गरेर पर्यटकीय पूर्वाधार निर्माण

महाशिलामा ७ करोड लगानी गरेर पर्यटकीय पूर्वाधार निर्माण

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार ५:५८, पर्वत

पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा रहेको एसियाकै ठूलो महाशिला (ढुंगा)मा सात करोडको लगानीमा पर्यटकीय पूर्वाधार निर्माण गरिएसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ।

सडकमार्गको पहुँचसँगै महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको लगानीमा विभिन्न संरचना निर्माण गरिएका हुन्। 

सदरमुकाम कुश्माबजारबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने महाशिलामा रहेको यो ठूलो ढुङ्गा स्थानीयस्तरमा मेहलढुङ्गाको नामले परिचित छ। यसको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत रु चार करोड १२ लाखको लागतमा पर्यटकका लागि सुविधासम्पन्न आश्रम भवन, स्वामिनारायण गुफा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा महाशिला परिसरमा रु एक करोडको लागतमा एक सय आठ गौमुखी धारा, महाशिला परिक्रमा गर्ने पदमार्ग, मुख्य गुफा तथा पुरानो संरचना संरक्षणलगायत पूर्वाधार तयार गरिएको छ। 

नेपाल पर्यटन बोर्डमार्फत रु ११ लाखको लागतमा ट्रष्ट भवन बनाइएको छ भने गाउँपालिकाले पनि विभिन्न संरचना तथा सडक पूर्वाधारमा लगानी गरेको छ। चालु आर्थिक वर्षमा समेत सङ्घीय मन्त्रालयमार्फत रु एक करोड ५० लाख विनियोजन भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए। 

उनका अनुसार उक्त बजेट महाशिला परिसरमा पर्खाल निर्माण तथा आश्रम भवनमा आवश्यक सामग्री खरिदलगायतमा खर्चिने भएको छ । केही वषअघिसम्म आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको महाशिलामा अहिले धार्मिक, आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउन थालेको अध्यक्ष पौडेलको भनाइ छ। 

लुुङ्खुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायत जिल्लाबाट सिधैँ पर्यटक आउने गरेको स्थानीय सरस्वती अधिकारीले बताए। महाशिला एक पटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्ने किंवदन्ती छ।

एकपटक घुम्दा १० मिनेटभन्दा बढी समय लाग्छ । यहाँ हरेक एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायत चाडपर्वमा मेला लाग्छ। 

महाशिला गाउँपालिकाको नामकरण यही शिलाको नामबाट गरिएको हो। एक सय ३० मिटर अग्लो शिला झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गासमेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए। 

महाशिला गाउँपालिकाले यसको विकासका लागि रु ७० करोडको गुरुयोजनासमेत बनाएको छ । गुरुयोजनाअनुसार काम अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । सङ्घीय र प्रदेश सरकारसँगको पहलमा गण्डकी प्रदेशकै आकर्षक  पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad