इटालियन स्वादको आईसक्रिम ‘जेलाटो’ नेपाली बजारमा उपलब्ध भएको छ।
व्यवासायी निशिता तोडी र प्रीति पेतरले ललितपुरको झम्सिखेलमा ‘द जेलाटो फ्याक्ट्री’ सञ्चालनमा ल्याएका हुन्।
इटालीको स्वादबाट प्रभावित भएर नेपालमा गुणस्तरीय आइसक्रिम उत्पादन गरि शुक्रबारदेखि आधिकारिक रुपमा बिक्रीवितरण सुरु गरिएको निशिताका श्रीमान शशी तोदीले बताए।
‘निशिता र प्रीति गतवर्ष इलाटीको भ्रमणमा गएका थिए। उनीहरुले दुई महिना जेलाटो बनाउने विधि सिके। मेसिन ल्याएर नेपाली फ्लेवरमा तयारी गरी बिक्री वितरण सुरु गरिएको हो’, तोदीले भने।
द जेलाटो फ्याक्ट्री सञ्चालन गर्न करिब २ करोड लगानी भएको उनले जानकारी दिए। काठमाडौंमा कम्तिमा पनि ६ वटा आउटलेट सञ्चालन गरेपछि मात्र मोफसलमा जाने योजना छ। पहिलो आउटलेटको रुपमा सम्भवत दरबारमार्ग हुने उनले बताए।

जेलाटो इटालियन स्ट्याइलको फ्रोजन डेजर्ट हो। यो बजारमा उपलब्ध हुने आइक्रिमभन्दा बाक्लो, नरम र चिल्लो कम हुन्छ।
हाल १८ वटा फ्लेभरमा जेलाटो उत्पादन भइरहेको छ। उपभोक्ताको माग र बजारको आवश्कता अनुसार फ्लभर थप गर्ने योजना रहेको छ।
फ्याक्ट्रीसँग १५ मिनेटमा ५ किलोग्राम जेलाटो उत्पादन गर्न सक्ने क्षमताको मेसिन छ। नेपालमा नै उत्पादन हुने सामग्री र ताजा फलफूल प्रयोग गरी आइसक्रिम तयार गरिन्छ। जेलाटो नेपाली फ्लेबरमा तयार गरिएको छ।

यो ताजा फलफूलबाट तयार हुनुका साथै पिजरभेटिभ र केमिकल मिसाइएको छैन। यसमा आर्टिफिसियल फ्लेबर नहुनुका साथै सत प्रतिशत प्राकृति भएको उनको दाबी छ।
जेलाटो प्रिमियम प्रोडक्ट भए पनि यसको मूल्य भने किफायती रहेको उनी बताउँछन्। हाल जेलाटो दुई फ्लेभर क्लासिक र प्रिमियमा उपलब्ध छ। १०० ग्रामको मूल्य क्लासिकको ३९० रुपैयाँ र प्रिमियमको ४७५ रुपैयाँ तोकिएको छ। विस्तारै आइसक्रिममा आधारित विभिन्न पेय पदार्थ र कफी पनि विक्रीमा राख्ने तोदीले बताए।

Shares

प्रतिक्रिया