१७औँ वाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंकले आफ्नो स्थापनाकालको २३औँ वर्ष पूरा गरेको छ।
बैंक सञ्चालनको २३ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा का.मु.प्रमुख कार्यकारी अधिकृत लगायत बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ।
यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रही १५ वर्ष सेवा अवधि पूरा गर्नुभएका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उहाँहरुलाई सम्मान पनि गरेको छ ।
यही अवसरमा बैंकले देशका विभिन्न स्थानहरु; विराटनगर, दमक, वीरगन्ज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी एघार स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु (४३४ पुरुष र ५४ महिला) गरी जम्मा ४८८ जना रक्तदाताहरुले रक्तदान गरेका छन्।
बैंकले आफ्नो २३ वर्षे यात्रालाई स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरुले संस्थागत एकता, कर्मचारीहरुको मनोबल अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने लक्ष्य लिएको छ।
Shares

प्रतिक्रिया