नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेसन्स इन्टरनेट साझेदार भएको छ।
आगामी वैशाख ७ गते काठमाडौंमा आयोजना हुने सम्मेलनमा यससम्बन्धी साझेदारी भएको हो।
शुक्रबार वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष दिलिप अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युट ( एनबीआई)का कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अर्फ कमर्स (एनसीसी) नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)को आयोजनामा हुने सम्मेलनमा विभिन्न मन्त्रालय र स्थानीय तहहरु, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायहरुले साझेदारी गर्नेछन्।
वर्ल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष दिलिप अग्रवालले स्टार्टअप, इनोभसन र सुचना, प्रविधिको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए। राष्ट्रियस्तरमा आयोजना हुने यसखाले सम्मेलनले सरकारको नीतिनिर्माणमा सहजीकरण र निजी क्षेत्रमैत्री वातावरण निमार्णमा सहयोग पुग्ने उनको भनाइ छ।
त्यसैगरी नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)का कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले सम्मेलनमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि सम्मेलनमा उपस्थित हुने बताए।
उनका अनुसार निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष÷संचालक तथा उच्च अधिकारी, लब्धप्रतिष्ठित उद्योगी एवं व्यवसायी, उदयीमान युवा तथा महिला, नवप्रवर्तनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरुसहित करिब ५ सयभन्दा बढीको सघन सहभागिता रहनेछ।
दिगो र अनुकूल भविष्यका लागि अर्थतन्त्र भन्ने मूल नाराका साथ आयोजना हुने यो वर्षको सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग÷व्यावसायिक तथा अधिक संभावना बोकेका क्षेत्रहरुमा देखिएका जल्दाबल्दा विषयहरुमा केन्द्रित रहेर सम्बन्धित विषय/क्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ/विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरुकोवीचमा सघन छलफल, बहस तथा अन्तर्क्रिया गरिनेछ।
उक्त बहस सत्रहरुबाट प्राप्त हुने दूरगामी महत्वका बहुपयोगी सुझावहरु समावेश भएको निष्कर्ष प्रतिवेदन बनाई उचित कार्यान्वयनका लागि तीनै तहका सरकारहरुलाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ।
Shares

प्रतिक्रिया