कारोबार


लजिस्टिक व्यवसाय फैलाउने मात्र होइन, स्मार्ट र अझ दिगो बनाउने दराजको लक्ष्य हो : सीएलओ विष्ट (अन्तर्वार्ता)

लजिस्टिक व्यवसाय फैलाउने मात्र होइन, स्मार्ट र अझ दिगो बनाउने दराजको लक्ष्य हो : सीएलओ विष्ट (अन्तर्वार्ता)

सन्तोष विष्ट, प्रमुख लजिस्टिक अधिकृत, दराज नेपाल


नेपालखबर
असोज २३, २०८१ बुधबार १५:३१, काठमाडौँ

सन् २०१५ मा स्थापना भएको इकमर्स प्लेटफर्म दराज पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारलगायत दक्षिण एसियाली देशमा फैलिसकेको छ। 

यसले बिक्रेता र उपभोक्तालाई बजारसँग सम्बन्धित पछिल्ला प्रविधिमार्फत जोड्ने काम गरेको छ। दक्षिण एसियाका ५० करोड मानिसमाझ व्यवसाय गर्ने लक्ष्यसहित कम्पनीले इकमर्स, लजिस्टिक, भुक्तानी र वित्तीय सेवा प्रदान गर्न एकीकृत पूर्वाधार खडा गरेको छ। दक्षिण एसियाली समुदायको शपिङ अनुभवलाई विशिष्टीकृत गर्ने दराजको लक्ष्य छ। 

सन् २०३० सम्म ५ करोड उपभोक्ता र व्यवसायलाई सेवा प्रदान गरी दक्षिण एसियाकै नम्बर १ इकमर्स प्लेटफर्म बन्ने दिशामा दराज अग्रसर भइरहेको बताउँछन् दराज नेपालका प्रमुख लजिस्टिक अधिकृत सन्तोष विष्ट। 

‘कम्पनीले यस क्षेत्रमा उन्नत प्रविधि, लजिस्टिक र पेमेन्ट्सका माध्यमले इकमर्स इकोसिस्टम निर्माण गर्न निरन्तर लगानी गरिरहेको छ’, उनी भन्छन्, ‘डिजिटल माध्यमको तीव्रता र उपभोक्ताको सचेततामा वृद्धि भएसँगै रुपान्तरकारी फड्को मार्न दक्षिण एसिया तयार देखिएको छ। एआईजस्ता पछिल्ला प्रविधिको सुविधासँगै उपभोक्ता र बिक्रेताका लागि अविच्छिन्न अनुभवलाई सुनिश्चित गर्न दराज प्लेटफर्म पनि थप अग्रसर भइरहेको छ।’ 

उनका अनुसार बजारमा इकमर्सलाई सघाउ पुर्‍याउने उद्देश्यले दराजले दराज एक्सप्रेस (डीईएक्स) जस्तो डिजिटल लजिस्टिक व्यवसाय पनि सञ्चालन गरिरहेको छ। यसले आपूर्ति शृंखलाको प्रत्येक तहमा वस्तु उठाउने र भण्डारण गर्नेदेखि ग्राहकको घरैसम्म डेलिभरी गर्नेसम्मका सेवा उपलब्ध गराउँछ। 

यसले डेलिभर प्याकेजहरु अन्य सेवाप्रदायकको तुलनामा १/२ दिन चाँडै डेलिभर गर्ने कम्पनीको दाबी छ। दराजले भरपर्दो, द्रुत र सुरक्षित तवरबाट सेवा प्रदान गरिरहेको विष्ट बताउँछन्। 

दराज नेपालमा सन् २०१८ जुनमा आबद्ध भएयता विगत ६ वर्षदेखि विष्टले ६ सय जना कर्मचारी, हब मेनेजर र अन्य धेरै समूहको व्यवस्थापकीय नेतृत्व गरिरहेका छन्। उनले कम्पनीको लजिस्टिक र फुलफिलमेन्ट अपरेसन हेर्छन्। दराजमा जोडिनुअघि उनले आपूर्ति शृंखला व्यवस्थापन र व्यवसाय विकासको क्षेत्रमा धेरै भूमिका निर्वाह गरिसकेका छन्। 

लजिस्टिक र व्यवसाय व्यवस्थापनमा अनुभवी विष्टसँग दराज नेपालले गरिरहेको डेलिभरी व्यवसाय, नेपालमा यसको भविष्य र पछिल्लो प्रविधिले सेवा व्यापारमा पारेको प्रभावबारे गरिएको संक्षिप्त वार्ता — 

बढ्दो मागलाई धान्न दराजको लजिस्टिक क्षमताहरु कसरी विकास र विस्तार भइरहेको छ? 
दराजको लजिस्टिक क्षमता पछिल्ला वर्षहरुमा व्यापक विकास र विस्तार भएका छन्। हामीले ग्राहकको घरैसम्म डेलिभरी सञ्जाल विस्तार गर्नुका साथै यसलाई उत्कृष्ट रुटका लागि छरितो प्रविधिसँग पनि एकीकृत गरेका छौँ। यसले डेलिभरीको समय कम गर्ने र बढ्दो ग्राहक माग धान्न सहज भइरहेको छ। 

लजिस्टिक व्यवसायको पूर्वाधारमा गरिएको हाम्रो लगानीले पनि दशैँ र ११.११ मेगा क्याम्पेनजस्ता अत्यधिक माग बढ्ने समयमा मुख्य भूमिका खेलिरहेको छ।

तपाईंहरुको डेलिभरी प्रणालीमा रहेको कुनै नवीनतम प्रविधिबारे बताइदिनुहोस् न, जसले पूरै सिस्टमलाई नै पर्याप्त सुधार गरिरहेको छ।
हामीले हाम्रो दक्षिणपूर्वी एसियाको भगिनी कम्पनी लाजाडाबाट लिएका नयाँ प्रविधिहरुको प्रयोग गरी डेलिभरीको समय घटाएका छौँ र इन्धन बचत पनि गरेका छौँ। हाम्रो सर्टेसन सेन्टरमा भएको अर्धस्वचालित प्रणालीले व्यस्त समयमा अर्डरहरु छिटो प्रशोधन गर्न मद्दत गरेको छ। साथै ग्राहकहरुले आफ्नो डेलिभरीलाई वास्तविक समयमा ट्रयाक गर्नसक्ने भएकाले सेवा अझ राम्रो भएको छ। 

हामी यहाँ रोकिँदैनौँ। अझ नयाँ प्रविधिहरु प्रयोग गरेर हाम्रो सेवालाई अझ सुधार्दै जानेछौँ र हाम्रा ग्राहकहरुलाई राम्रो अनुभव दिन निरन्तर काम गरिरहनेछौँ।

लजिस्टिक क्षेत्रमा भएको सुधारले ग्राहक र बिक्रेताको अनुभवमा के कस्ता सुधार ल्याएको छ? 
अब ग्राहकको कुरा गर्ने हो भने द्रुत र अझ भरपर्दो डेलिभरीका कारण उनीहरुको किनमेल गर्ने अनुभवमा धेरै नै अभिवृद्धि गरेको छ। जस्तो कि तत्काल आफ्नो सामान कहाँ छ भनेर उही समयमा ट्रयाक गरी यसबारे जानकारी पाउन सकेका छन्।

बिक्रेताको हकमा हाम्रो लजिस्टिक सुधारले उनीहरुको स्टक व्यवस्थापनलाई सहज बनाएको छ। ग्राहकसम्म पुग्न थप सजिलो भएको छ। यति मात्र नभई डेलिभरी सीमितताको कुनै चिन्ता नलिई आफ्नो व्यवसाय अघि बढाउन मार्गप्रशस्त गरेको छ। 

लजिस्टिकमा यो वर्ष भएको अर्को महत्त्वपूर्ण सुधार भनेको ग्राहकले सजिलै फिर्ता गर्नसक्ने प्रक्रिया पनि हो। योसँगै अब कुनै पनि वस्तु फिर्ता गर्न निकै सजिलो छ। ग्राहकले घरमै बोलाएर बुझाउन पनि सक्ने भएका छन् भने हाम्रो कुनै फिर्ता विन्दु (रिटर्न पोइन्ट्स)मा गएर पनि दिन सक्छन्। यसले सुविधा नै बढाउँछ। हाम्रो परिष्कृत रिभर्स लजिस्टिक सिस्टमले फिर्ता प्रक्रिया द्रुत गतिमा हुने कुरालाई सुनिश्चित गरेको छ। फलतः रकम फिर्ता वा अन्य वस्तु साटफेर पनि छिटो हुने हुन्छ। यसले हाम्रो प्लेटफर्ममा ग्राहक विश्वासलाई पनि अभिवृद्धि गरिरहेको छ।   

तपाईंहरुको लजिस्टिक क्षमता सुधारमा भूमिका खेल्ने कुनै साझेदारीबारे बताइदिनुहोस् न! 
हामीले स्थानीय ढुवानी सेवाप्रदायकहरुसँग गरेका सहकार्यले विशेषगरी ग्रामीण क्षेत्रहरुमा हाम्रो अन्तिम माइल डेलिभरी सञ्जाल (घरदैलो डेलिभरी) विस्तार गर्न ठूलो सहयोग गरेको छ।

साथै, प्याकेजिङ आपूर्तिकर्ता र प्राविधिक कम्पनीहरुसँगको सहकार्यले हाम्रो समग्र कामको दक्षता बढाएको छ। जसले गर्दा हामी सामानहरु छिटो डेलिभर गर्न र गुणस्तरीय सेवा दिन सक्षम भएका छौँ। यी सहकार्यहरुले हाम्रो कामलाई लचिलो बनाउनुका साथै दीर्घकालीन रुपमा विस्तार गर्न पनि मद्दत पुर्‍याउँछन्। 

लजिस्टिक व्यवसायमा थप सुधारका लागि तपाईंका के कस्ता योजनाहरु छन्? दराजमा लजिस्टिकको भविष्यबारे के भन्न चाहनुहुन्छ? 
भविष्यको कुरा गर्नुपर्दा हामी कृत्रिम बौद्धिकता (एआई)को एकीकरण संयोजनमा केन्द्रित भइरहेका छौँ। यसले कति छिटो र पर्याप्त मात्रामा हामी ग्राहकलाई सेवा दिन सक्छौँ भन्ने कुरामा एकखालको लहर नै ल्याउनेछ।

त्यसो त दिगोपना पनि हाम्रो मुख्य प्राथमिकता हो र हामी हाम्रो कार्बन फुटप्रिन्ट थप घटाउने उपायहरुको खोजीमा छौँ। यसका लागि वातावरणमैत्री प्याकेजिङ र हरित लजिस्टिकका पहलहरुलाई अनुसरण गर्नेछौँ। 

हाम्रो लक्ष्य भनेको हाम्रो लजिस्टिक व्यवसायलाई फैलाउने मात्र नभई स्मार्ट र अझ दिगो बनाउने पनि हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad