कारोबार


डिशहोमले भुक्तानी गर्ने भन्दाभन्दै स्टार इन्डियाले बन्द गरायो ३२ वटा च्यानल

डिशहोमले भुक्तानी गर्ने भन्दाभन्दै स्टार इन्डियाले बन्द गरायो ३२ वटा च्यानल

फाइल तस्बिर


नेपालखबर
पुस ९, २०७९ शनिबार १२:२, काठमाडौँ

स्टार इन्डिया प्रालिले मनपरी रुपमा डिशहोममा आफ्ना च्यानल बन्द गराएको छ। 

नेपालमा दर्जन कम्पनीले स्टार इन्डियाका च्यानल प्रयोग गर्दै आएकोमा डिशहोममा मात्रै स्टार इन्डियाका च्यानल बन्द गरिएका हुन्। 

स्टार प्लस, स्टार स्पोर्ट्स, स्टार गोल्डलगायत करिब ३ दर्जन च्यानल रहेको स्टार इन्डियाले दादागिरी देखाउँदै च्यानल बन्द गराएको नेपाली कम्पनीहरुले आरोप लगाएका छन्। 

नेपालमा टेलिभिजन प्रयोगकर्ताको संख्या घट्दै जाँदा कम्पनीहरुले स्टार इन्डियालाई पहिला लिँदै आएको रकम घटाउन आग्रह गर्दा कम्पनीलाई टार्गेट गरी गरी च्यानल बन्द गराउन थालिएको छ। 

स्टार इन्डियाले आफ्ना अधिकांश कन्टेन्ट सामाजिक सञ्जाल युट्युबमा अपलोड गर्दै आएको छ। कम्पनीले यसरी कन्टेन्ट युट्युबमा अपलोड गर्दा टेलिभिजन प्रयोगकर्ता घट्दै गएको व्यवसायीहरुले बताएका छन्। नेपालमा केही समयअघि २५ लाख सेटअप बक्स जडान भएकोमा अहिले १५ लाखमा झरेको व्यवसायीहरुको तथ्यांक छ। 

नेपाली व्यवसायीले स्टार इन्डियासँग २ हप्ताको समय मागेका थिए। तर त्यसको बेवास्ता गर्दै उसले सिधै च्यानल बन्द गराएको हो। विदेशी च्यानल वितरण गर्ने कम्पनीले रकम भुक्तानीको लागि सुरुमा सञ्चार मन्त्रालयसँग अनुमति लिनुपर्छ। मन्त्रालयको अनुमतिपछि मात्रै राष्ट्र बैंकबाट विदेशी कम्पनीलाई रकम भुक्तानी गर्न सक्छन्। 

नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले स्टार इन्डिया प्रालिले पैसा बढी माग्दा समस्या आएको बताए। उनले नेपालमा टेलिभिजनका ग्राहक घट्दै गए पनि स्टार इन्डिया प्रालिले बढी पैसा माग्दा च्यानलहरु बन्द भएको बताए। 

‘टेलिभिजनका ग्राहक घट्दै गएका छन्’, पराजुलीले भने, ‘स्टार इन्डिया प्रालिले पुरानै रकम दिनुपर्ने बताउँदै आएको छ। पछिल्लो समय कुनै पनि नेपाली च्यानलले पैसा भुक्तानी गरेका छैनन्।’ 

डिशहोमलगायत नेपालका सबै कम्पनीले विदेशी च्यानल वितरण गर्दै आएका छन्। डिश मिडिया नेटवर्कले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै स्टार इन्डियाले दादागिरी देखाउँदै सिग्नल बन्द गराएको उल्लेख गरेको छ। 

‘विदेशी च्यानल प्रदायकमध्ये स्टार इन्डियालाई ३२ च्यानलको हालसम्म १ अर्ब बढी भारतीय रुपैयाँ भुक्तानी गरिसकेका छौँ’, डिश मिडियाले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘हाल बाँकी भुक्तानीका लागि राष्ट्र बैंकबाट मंसिर २८ गते अनुमति प्राप्त भएको र पुस १५ गतेअगावै भुक्तानी गर्ने स्टार इन्डियालाई जानकारी दिएका थियौँ।’

डिश मिडियाले स्टार इन्डियालाई रकम भुक्तानीको लागि मिति नै तोकेर पठाए पनि विना जानकारी ३ गते नै च्यानल बन्द गराएको उल्लेख गरेको छ।

दर्जन बढी कम्पनीमध्ये कुनै कम्पनीले अहिलेसम्म स्टार इन्डियालाई रकम भुक्तानीको लागि मन्त्रालय र राष्ट्र बैंकमा अनुमतिको प्रक्रिया नै अघि बढाएका छैनन्। तर राष्ट्र बैंकबाट भुक्तानीको लागि अनुमति पाएको २ हप्ताभित्रै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको डिशहोमका सिग्नल बन्द भएका हुन्। 

डिशहोमले अघिल्लो हप्ता मात्रै राष्ट्र बैंकबाट ३ करोड ६ लाख भारतीय रुपैयाँ भुक्तानीको लागि अनुमति पाएको थियो। रकम भुक्तानीको अन्तिम चरणमा पुग्दा ३२ वटा च्यानलको सिग्नल बन्द भएका छन्। 

डिशहोमले लाखौँ ग्राहक रहेको कम्पनीको सिग्नल काट्दा पनि नियामक निकाय मूकदर्शक भएर बसेको मन्त्रालयमा दर्ता भएको पत्रमा उल्लेख छ। मन्त्रालयले भने दुई देशका कम्पनीहरुको व्यावसायिक कुरा भनी पन्छिएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले कम्पनीहरुबीचको व्यावसायिक कुरा भएकाले मन्त्रालयले बढी चासो नराखेको बताए। 

‘कम्पनीहरुले रकम भुक्तानीको लागि वैदेशिक मुद्राको अनुमति माग्दा दिएका छौँ’, सचिव अर्यालले भने, ‘कम्पनीहरुबीच केही समस्या आएको बुझेका छौँ। व्यावसायिक कुरा भएकोले मन्त्रालयले बढी चासो राखेको छैन।’

उनले अधिकांश कम्पनीको समस्या देखिएकाले दीर्घकालीन समाधानको रुपमा भने केही गर्न सकिन्छ कि भनेर छलफल गरिरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .