ad ad

कारोबार


विश्वकपले बदल्दै टिभी बिक्रीको ‘ट्रेन्ड’, ५० प्रतिशतले बढ्छ व्यापार

स्मार्टसँगै फोरके टेलिभिजन सेटमा आकर्षित हुँदै ग्राहक
विश्वकपले बदल्दै टिभी बिक्रीको ‘ट्रेन्ड’, ५० प्रतिशतले बढ्छ व्यापार

महाबौद्धमा रहेको टिभी पसल। तस्बिर : सरोज बैजू


वसन्त अर्याल
कात्तिक २४, २०७९ बिहिबार १६:१४, काठमाडौँ

विश्वकप फुटबल नजिकिएसँगै यूएचडी (फोरके) टेलिभिजन सेटको व्यापार बढ्न थालेको छ। मंसिर ४ देखि कतारमा हुँदै गरेको विश्वकपको मज्जा लिन ग्राहकले धमाधम टिभी खरिद गर्न थालेका हुन्।

खासगरी ५० इन्चमाथिका फोरके टेलिभिजनको बिक्री बढेको व्यवसायीहरुले बताएका छन्।

नेपालमा सीजी, एलजी, सामसङ, सोनी, टीसीएल, यासुदा, स्काईवर्थलगायतका ब्रान्डको उपस्थिति छ। सामान्य अवस्थामा ३२ र ४३ इन्चका टेलिभिजनको बिक्री बढ्ने गरेकोमा विश्वकप फुटबलमा ठूला स्क्रिनका टेलिभिजनका माग भएको टेलिभिजन बिक्रेता बताउँछन्। 

सामसङ टिभीका सेल्स हेड आलोक गुप्ताले हरेक ४ वर्षमा हुने विश्वकपका बेला टेलिभिजनको व्यापार सामान्य अवस्थाभन्दा ५० प्रतिशतले बढ्ने गरेको बताए। 

त्यसो त बजारमा टेलिभिजन बिक्रीको ट्रेन्ड परिवर्तन हुँदै गएको देखिएको छ। सन् २०१८ को विश्वकप अघिसम्म एलसीडी टेलिभिजन चलिरहेका थिए। विश्वकपको समयमा एलईडी टेलिभिजनतर्फ ग्राहकको आकर्षण बढ्यो। पछिल्लो ४ वर्षमा ग्राहकहरु एलईडीबाट पनि स्मार्ट टेलिभिजनतर्फ आकर्षित भएका छन्।  

‘२०२२ को विश्वकप स्मार्ट टिभीसँगै यूएचडीतर्फ जाँदै छ’, गुप्ताले नेपालखबरसँग भने, ‘विश्वकप हेर्न यूएचडीका टिभी माग हुनथालेको छ।’

दक्षिण–पूर्वी एसियाका अन्य देशको तुलनामा नेपालमा यूएचडी टिभीको बिक्री बढ्दै गएको छ। विश्वकपको समयमा बिक्री हुने ५० प्रतिशत टिभीमा ५५ इन्चमाथिका बढी हुने उनले जानकारी दिए। 

‘५५ इन्चमाथिका टिभीको बिक्री ८० देखि ९० प्रतिशतले बढ्छ’, उनले भने, ‘३२, ४३ इन्चको टेलिभिजन भएका ग्राहकले पनि ठूला टेलिभिजनसँग साट्छन्।’

यासुदा टेलिभिजनको बिक्रेता त्रिवेणी व्यापार कम्पनीका श्रेयस श्रेष्ठले पनि विश्वकपको समयमा ५० इन्चमाथिको टेलिभिजनको व्यापार बढ्ने दोहो¥याए। उनले विश्वकप नजिकिएसँगै टेलिभिजनको समग्र व्यापार बढ्दै गएको जानकारी दिए। 

‘विश्वकप नजिकिएसँगै विस्तारै टिभीको माग बढ्दै गएको छ’, श्रेष्ठले भने, ‘अहिले ५० इन्चमाथिका टिभीको बिक्री बढ्छ।’

चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले सबैभन्दा बढी ब्रान्डका टेलिभिजन बिक्री गर्दै आएको छ। सीजी, टीसीएल, सेन्साई, एलजी ब्रान्डका टिभी चौधरी ग्रुपले बिक्री गर्दै आएको छ। 

सीजी इलेक्ट्रोनिक्सका एक अधिकारीका अनुसार फुटबल विश्वकपको लागि ४३ इन्चमाथिका टेलिभिजनको माग बढी आइरहेको छ। 

३२ इन्चका टेलिभिजन पनि सामान्य अवस्थाभन्दा बढी बिक्री हुने उनको भनाइ छ।  

‘विश्वकप हेर्न ठूला टेलिभिजनमा आनन्द हुने भएकाले आफ्नो बजेट र स्पेसअनुसार बढी इन्चको टेलिभिजन खरिद गर्छन्’, उनले भने, ‘बजेट बढी हुनेले एलजी ब्रान्डको खरिद गर्छन्। मध्यम बजेट हुनेले टीसीएल, सेन्साई, सीजी ब्रान्डका लिन चाहन्छन्।’

सीजी इलेक्ट्रोनिक्सले ६५ इन्चको एलजी ओएलईडी टेलिभिजन बिक्री गर्छ। जसको मूल्य ५ लाख १२ हजार रुपैयाँ छ। ५५ इन्चको टिभीको मूल्य ३ लाख २१ हजार रुपैयाँ छ। 

वार्षिक बिक्री हुन्छ २ लाख टेलिभिजन सेट  
नेपालमा वर्षमा १ लाख ८८ हजार ५७९ टेलिभिजनसम्म भित्रिएका छन्। जसमा ‘अनएलेसम्बल्ड’ २३ हजार ३२३ वटा भित्रिएका छन्। 

वार्षिक ५८ करोड रुपैयाँका टिभी भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ।  

‘अनएसेम्बलल्ड’ टिभी सबैभन्दा बढी भारतबाट १० हजार ६३९, चीनबाट ६ हजार ४९३, भियतनामबाट ३ हजार १०५ र मलेसियाबाट २ हजार ६०४ रुपैयाँ छ। २१५ वटा ४८ इन्चमाथिका टेलिभिजन भित्रिएका छन्। 

नेपाल भित्रिने टेलिभिजन सेटमध्ये ७६ हजार १०२ चीनबाट, ४९ हजार ७०५ भारतबाट, भियतनामबाट १८ हजार ६५१ र इन्डोनेसियाबाट ८ हजार ५८१ वटा छन्। ४८ इन्चमाथिका कलर टिभी ४ हजार ७९८ वटा भित्रिएका छन्। 

पछिल्लो ३ महिनामा ३३ हजार ८२२ टेलिभिजन नेपाल भित्रिएका छन्। नेपाल भित्रिनेमा अनएसेम्बल्ड ४८ इन्चका टिभी ७५७ वटा छन्। 

नेपालका युवा वैदेशिक रोजगारीबाट फर्किँदा टेलिभिजन ल्याएका हुन्छन्। ३२ इन्चसम्मको टेलिभिजन ल्याउँदा कर तिर्नुपर्दैन। भारतसहित तेस्रो मुलुकबाट ल्याउँदा कर नतिर्ने हुँदा भन्सारको तथ्यांकमा समावेश हुँदैन।

पछिल्लो समय विदेशबाट आउने युवाले स्मार्ट टेलिभिजन नै ल्याउनथालेका छन्। नेपालका गाउँ–गाउँमा स्मार्ट टेलिभिजन पुगेको व्यवसायी बताउँछन्। 

विदेशबाट आउने युवाले आफैँ टेलिभिजन ल्याउँदा आन्तरिक बजार समेत प्रभावित हुँदै आएको छ। टेलिभिजन कम्पनीले विदेशबाट टेलिभिजन ल्याउने मूल्यमै दिने ‘क्याम्पियन’ चलाएका छन्।

‘३२ इन्चको टेलिभिजन विदेशबाट विना करमा ल्याउँदा आधिकारिक बिक्रेतालाई नराम्रो असर त गरिरहेकै छ तर ल्याउनेलाई झन्झटिलो बन्दै गएको छ’, गुप्ताले भने, ‘वारेन्टी, ग्यारेन्टी केही हुँदैन। स्क्रिन फुट्ने लगायतका समस्या रहेको छ।’

सामसङले आईएमई, सिटी एक्सपे्रसजस्ता रेमिट्यान्स भित्र्याउने कम्पनीसँग सहकार्य गरी वैदेशिक रोजगारीमा गएकाले उतैको मूल्यमा यहाँ डेलिभरी गर्ने व्यवस्था गरेको छ। जसमा बिक्रीपछिको सेवा, वारेन्टी, ग्यारेन्टी लगायतका सुविधा दिएको कम्पनीले जनाएको छ। 

विश्वकपको लागि कम्पनीहरुका आकर्षक अफर
प्रायः विश्वकप जुलाई–अगस्टमा हुने गरेको थियो। अहिले कतारमा हुने भएकाले नोभेम्बर–डिसेम्बरमा हुँदै छ। 

‘पहिला विश्वकप दशैँअघि हुन्थ्यो। अहिले दशैँपछि लगत्तै विश्वकप छ’, सामसङका गुप्ताले भने, ‘टेलिभिजन सेटमा दशैँ तिहारको अफर चलिरहेको छ। यसबाटै ग्राहकले फाइदा लिइरहेका छन्।’

सामसङले विश्वकपसँगै टेलिभिजन एक्स्चेञ्ज अफर ल्याउँदै छ। जसमा पुरानो टेलिभिजन सेट लगेर नयाँ लिन सक्छन्। 

स्काईवर्थ टेलिभिजनको आधिकारिक बिक्रेता स्मार्ट अप्लाइन्स प्रालिका डेपुटी जनरल म्यानेजर अमित वज्राचार्यले विश्वकर्प लक्षित स्किम ल्याउँदै गरेको जानकारी दिए। 

‘टेलिभिजनको मार्केट अझै बढ्नसकेको छैन। वर्ल्डकर्प नजिकिँदै छ स्किम जारी हुन्छ’, वज्राचार्यले भने, ‘स्किम जारीसँगै विश्वकपको लागि टेलिभिजनको बिक्री समेत बढ्छ।’

उनले विश्वकपको समयमा ५५ इन्चकै टेलिभिजन बढी बिक्री हुने बताए। उनले पनि यूएचडी अर्थात् फोरके टेलिभिजनकै माग बढ्ने बताए। 

आईपीटीभीको अफर : १२ हजारमै ३२ इन्च टिभी
विश्वकप–२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। 

३२ इन्चदेखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउने भएका छन्। 

भायाटिभीको ‘ब्रिंग होम द गेम’ अफरअन्तर्गत ग्राहकहरूले  १५० प्रतिमहिनासम्ममा भायाटिभी र ९९९ प्रतिमहिनासम्ममा २०० एमबीपीएस भायानेट अल्ट्रा–फाई इन्टरनेट पनि पाउन सक्नेछन्।  

वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडेबापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। 

यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र रु १२ हजार १२३ सम्ममा र ४३ इन्चको स्मार्ट टीभी मात्र २४ हजार ३३५ सम्मको मूल्यमा खरिद गर्न पाउने कम्पनीले जनाएको छ।        

त्यस्तै सीजी नेट खरिदगर्दा ३२ इन्चको टिभी १५ हजार ५०० रुपैयाँमै आउने भएको छ। विश्वकपको अवसरमा कम्पनीले ७३० रुपैयाँको सीजी नेट जडानसंगै सस्तोमा टिभी उपलब्ध गराउन थालेको हो। 

सीजीले २६ हजारमा ४३ इन्चको सीजी स्मार्ट टिभी रहेका छन्। ६ महिनाको इन्टरनेट जडान गर्दा ६०० रुपैयाँ नै आईपीटिभीको शुल्क लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .