कारोबार


नागढुंगा सुरुङमार्ग तत्काल सञ्चालनमा नआउने, प्रवेशद्वारको पहिरो व्यवस्थापन गर्न म्याद थपको तयारी

नागढुंगा सुरुङमार्ग तत्काल सञ्चालनमा नआउने, प्रवेशद्वारको पहिरो व्यवस्थापन गर्न म्याद थपको तयारी

निर्दोष घोरसाइने
कात्तिक १४, २०८२ शुक्रबार १३:३९, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत दशैँअगावै सञ्चालनमा ल्याउन खोजेको ‘नागढुंगा सुरुङमार्ग’ तत्कालै सञ्चालनमा नआउने भएको छ।

धादिङतर्फको प्रवेशद्वारमा रहेको पहिरो रोकथाम गरेर मात्र नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको हो। यो नेपालको पहिलो सडक सुरुङमार्ग हो। 

नागढुंगा सुरुङमार्ग निर्माणसम्पन्न गर्ने पछिल्लो म्याद यही कात्तिक ८ गतेसम्म थियो। उक्त अवधिभित्रै निर्माणकार्य सकेर, सञ्चालन/व्यवस्थापन कम्पनी छनोट गरेर आगामी पुसभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने योजना सडक विभागले बनाएको थियो। 

तर पहिरो र सञ्चालन/व्यवस्थापन कम्पनी छनोट प्रक्रियामा भएको ढिलाइका कारण सो योजनाअनुसार नागढुंगा सुरुङमार्ग सञ्चालनमा नआउने भएको हो। गत मनसुनमा सुरुङमार्गको धादिङतर्फको प्रवेशद्वारनजिकै पहिरो गएकाले सडक विभागले सञ्चालन कार्यतालिका परिवर्तन गरेको छ।

निर्माण व्यवसायी जापानको हाजमा एन्डो कर्पोरेसन जेभीले नागढुंगा सुरुङमार्ग निर्माणपछि हस्तान्तरण गर्न नै बाँकी छ भने पहिरो व्यवस्थापनविना सुरुङमार्ग सञ्चालन गर्ने जोखिम लिने योजनामा सडक विभाग छैन। 

हालको ठेक्का टुंग्याएर नयाँ निर्माण व्यवसायीबाट पहिरो व्यवस्थापनको काम गर्नुभन्दा पनि म्याद थप गरेर पुरानै निर्माण व्यवसायीबाट काम लिन सहज हुने नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिए। 

‘नयाँ निर्माण व्यवसायीबाट पहिरो व्यवस्थापनको काम गर्दा खरिद प्रक्रियामा समय लाग्छ। सुरुको सुरुङमार्गको डिजाइनमा पहिरो व्यवस्थापनको काम थिएन। तर अहिले पहिरोले समस्या निम्त्याएको छ’, उनले नेपालखबरसँग भने, ‘यो काम नयाँ निर्माण व्यवसायीभन्दा पनि पुरानैबाट गर्दा सहज हुन्छ।’ 

काठमाडौंतर्फको प्रवेशद्वार

पहिरो व्यवस्थापनसम्बन्धी कार्य पुरानो ठेक्का र डिजाइनमा उल्लेख नभएकाले यसका लागि निर्माण व्यवसायीलाई भेरिएसनमार्फत थप अतिरिक्त भुक्तानी दिनुपर्ने हुन्छ। नागढुंगा सुरुङमार्ग २२ अर्ब ८२ करोड रुपैयाँमा ठेक्का लागेको हो। 

साथै निर्माण व्यवसायीले सुरुङमार्ग निर्माणको सुरुवाती ठेक्का रकम पनि भेरिएसन माग गरेको छ। निर्माणको क्रममा डिजाइनभन्दा अतिरिक्त काम गर्नुपरेको भनेर निर्माण व्यवसायीले भेरिएसन माग गरेको हो। निर्माण व्यवसायीले डिजाइनमा उल्लेख भएभन्दा बढी सपोर्ट प्याटर्न र कमजोर चट्टान भेटिएकाले भेरिएसन माग गरेको सडक विभागले जानकारी दिएको छ। 

पहिरो व्यवस्थापनको काम र ती अतिरिक्त कार्यको रकम जोडेर निर्माण व्यवसायीको भेरिएसन स्वीकृत गर्ने योजनामा विभाग छ।

‘नागढुंगा सुरुङमार्ग निर्माणसम्पन्न गर्नुपर्ने पछिल्लो म्याद सकिएको छ। सुरुङमार्गभित्रको काम करिब सम्पन्न भइसकेको छ’, नेपालले थपे, ‘प्रवेशद्वारको पहिरो व्यवस्थापन गरेर मात्र सञ्चालनमा ल्याउने योजना हो।’

पहिरो व्यवस्थापनका लागि आवश्यक पर्ने समय उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, निर्माण व्यवसायी र परामर्शदाता छलफल छन्।

‘पहिरो व्यवस्थापनका लागि म्याद थप गर्नुपर्ने देखिएको छ। म्यादथपको विषय छलफलमै छ’, नेपालले भने, ‘यति नै म्याद थप गर्ने भन्ने विषय टुंगोमा पुगिएको छैन।’

धादिङतर्फको प्रवेशद्वार

सडक विभागका एक अधिकारीका अनुसार पहिरो व्यवस्थापन र सुरुङमार्गभित्रका अन्य कामका लागि चैतसम्मको समय लाग्ने अनुमान छ। 

‘एकै पटक ५ महिना समय थप्ने कि सुरुमा थोरै समय दिएर पछि पुनः समय थप गर्ने कि भन्ने पनि छलफल भएको छ’, ती अधिकारीले भने। 

सडक विभागले परामर्शदाता जापानको निप्पोन कोइ इन्जिनियरिङको सहयोगमा प्रवेशद्वार नजिकको पहिरोको डिजाइन तयार गरिरहेको छ। 

‘पहिरो गएको स्थानको मोटामोटी डिजाइन निकालिएको छ। पहिरोभित्र जमिनको ठूलो ढिक्का अस्थिर भएर बसेको छ। त्यसलाई स्थिर बनाउनुपर्ने हुन्छ’, नेपालले भने। 

उनका अनुसार मंसिरसम्म पर्ने पानीले जमिन कति स¥यो भन्ने डाटाका आधारमा डिजाइनले अन्तिम रूप पाउनेछ। उक्त डाटाको अध्ययनका आधारमा निर्माणको खाका तयार हुनेछ। प्रारम्भिक डिजाइनका आधारमा पहिरो गएको सम्पूर्ण स्थानलाई कटान गर्ने कि एंकरिङ (जमिनको कमजोर भागलाई बलियो भागसँग बाँध्ने काम) गर्ने विकल्पमा छलफल भइरहेको छ। 

माटो काट्दा सडक सीमाभन्दा बाहिर पनि जाने सम्भावना हुन्छ। डिजाइन तयार भएपछि  किफायती र गुणस्तरीय हुने गरी निर्माण कार्य अघि बढाउने योजनामा सडक विभाग छ। डिजाइन तयार भएपछि सडक विभाग र परामर्शदाताबीच हुने छलफलले निर्माण मोडालिटीको टुंगो लगाउनेछ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दशैँअघि नै नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने योजना बनाएका थिए। उनले असोज ४ गते भौतिक पूर्वाधार मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, यातायात व्यवसायीसँगको छलफलपछि दशैँतिहारमा सुरुङमार्गबाट यात्रुवाहक सवारी सञ्चालन गर्ने मनसाय बनाएका थिए। 

तर निर्माण व्यवसायी जापानको हाजमा एन्डो कर्पोरेसन जेभीले सुरक्षाको कारण देखाउँदै नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न दिएको थिएन।

यस्तो छ नागढुंगा सुरुङमार्ग
सडक विभागले नागढुंगा सुरुङमार्गको सम्भाव्यता अध्ययन सन् २०१३ को फेब्रुअरीमा गरेको थियो।

वि.सं. २०७६ कात्तिक २८ गते यसको ठेक्का लागेको थियो भने २०८० वैशाख ३० गतेसम्म निर्माण सक्नुपर्ने म्याद थियो। तर कोभिड–१९ महामारी र स्थानीयको अवरोधका कारण पछिल्लो पटक २०८२ कात्तिक ८ गतेसम्म म्याद थपिएको थियो।

त्रिभुवन राजपथको सिस्ने खोला धादिङ–किसिपिडी काठमाडौं (नागढुंगा सुरुङमार्ग)को लम्बाइ २.६८८ किलोमिटर छ।

सुरुङमार्गभित्र सवारी गुड्नका लागि ३.५ मिटर चौडाइका २ लेनका सडक छ। त्यसको बीचमा १.५ मिटरको मेडियन र दुवैतर्फ ढलका लागि ०.५ मिटरको नालीको व्यवस्था छ।

सुरुङमार्ग प्रवेशका लागि पूर्वमा काठमाडौंतर्फ २.३०७ किलोमिटर र पश्चिममा धादिङतर्फ ०.५६५ किलोमिटरको एप्रोच सडक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad