कारोबार


डेढ अर्ब लागतमा आईएमई ग्रुपले रौतहटमा खोल्यो एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग (तस्बिरहरू)

डेढ अर्ब लागतमा आईएमई ग्रुपले रौतहटमा खोल्यो एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग (तस्बिरहरू)

नेपालखबर
असार ११, २०८२ बुधबार १३:२४, काठमाडौँ

आईएमई ग्रुपको मुख्य लगानीमा एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको छ। डेढ अर्ब रुपैयाँ लागतमा रौतहटमा उद्योग खुलेको हो।

आईएमई ग्रुपले वित्तीय क्षेत्रबाट आफ्नो व्यवसाय सुरु गरेकोमा पर्यटनसँगै उत्पादनमूलक उद्योगमा समेत धमाधम लगानी गरिरहेको छ।

विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न आईएमई ग्रुपले कागज कारखाना समेत सञ्चालन गरेको छ।

नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी छ। २०८१ फागुनमा कागज उद्योग उद्घाटन गरेको ग्रुपले त्यसको ४ महिनामै अर्को उत्पादनमूलक सिमेन्ट बोर्डको उद्योग खोलेको हो।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ग्रुप अध्यक्ष चन्द्र ढकालले पछिल्ला वर्ष आफ्नो व्यवसायलाई आक्रामक रुपमा विस्तार गरिरहेका छन्। उनले केही साझेदारसहित सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा ल्याएका हुन्। 

एभरेस्ट फाइबर सिमेन्ट बोर्डको अध्यक्षमा चन्द्र ढकालका छोरा निशान ढकाल छन्। उद्योगको प्रबन्धनिर्देशकमा प्रदीप पण्डित र कम्पनी निर्देशकमा टासी वाङ्ग्याल लामा छन्।

उद्योगका प्रबन्धनिर्देशक पण्डितले परीक्षण उत्पादन सकेर व्यावसायिक उत्पादन सुरु गर्न लागेको बताए। बुधबार औपचारिक रुपमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यसको उद्घाटन गर्ने कार्यक्रम छ। 

नेपालमा प्रिफ्याब उत्पादन गर्ने उद्योगहरुको लागि कच्चा पदार्थ समेत एभरेस्ट फाइबरले उत्पादन गर्नेछ। हाल यी उद्योगहरुले बाहिरबाट कच्चा पदार्थ ल्याएर प्रिफ्याब बनाउँछन्।  

भिडिओ 

‘नेपालको विदेशी मुद्रा बाहिर गयो। आयातलाई प्रतिस्थापन गर्नसक्ने देखेर उद्योग सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘मुख्यतः सिमेन्ट बोर्ड र जिप्सन बोर्डको आयातलाई विस्थापित गर्छौँ।’

उद्योगले सिमेन्ट बोर्डको प्यानल बनाउँदै छ। सिमेन्ट बोर्ड र जिप्सन बोर्डको उपयोग निर्माण क्षेत्रमा एकै किसिमको हुन्छ। जिप्सन बोर्डको तुलनामा सिमेन्ट बोर्डलाई केही बलियो मानिन्छ। पण्डितका अनुसार जिप्सन बोर्ड पुनः प्रयोग गर्न सकिँदैन। सिमेन्ट बोर्ड वाटर प्रुफयुक्त र पुनः प्रयोग गर्न सकिन्छ। 

‘नेपालको बजारलाई धान्ने गरी उद्योगको क्षमता छ। नेपालमा सिमेन्ट बोर्डको माग बढ्दा उद्योगको क्षमता विस्तार गर्न सकिन्छ’, उनले थपे, ‘आईएमई ग्रुपको मुख्य लगानीमा १ अर्ब ५० करोड लगानी भइसकेको छ।’

नेपालमा आयातित सिमेन्ट बोर्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपालमै उत्पादन हुँदा सहज हुने अनुमान रहेको उनले बताए। 

सरकारले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने नीति लिएकाले बजारमा विस्तारमा कुनै समस्या नहुने पण्डितको आकलन छ। 

‘हाम्रो नेपाली उत्पादकसँग अहिले प्रतिस्पर्धा देखिँदैन। उत्पादनमा गुणस्तर कायम गरेर विश्वास जित्नुपर्ने चुनौती छ’, उनले भने, ‘बजारमा हलुका किसिमका निर्माण सामग्रीको प्रयोग बढेकाले सिमेन्ट बोर्डको माग झन् बढ्दै जानेछ।’

प्रिफ्याब उद्योगीदेखि नयाँ भौतिक संरचनामा उपयोग
प्रिफ्याब उद्योगीले भारत, थाइल्यान्डलगायतका देशबाट कच्चा पदार्थको रुपमा ल्याइरहेका छन्।

यस्तोमा उद्योग सञ्चालनमा आएसँगै उनीहरुले अब विदेशबाट ल्याउन पर्दैन। एभरेस्ट फाइबर सिमेन्ट बोर्डसँग ४ एमएमदेखि ५० एमएमसम्म मोटो सिमेन्ट बोर्ड बनाउने क्षमता छ। 

भौतिक संरचनाको इन्जिनियरिङमा पिल्लर बनाइरहेका घर वा अफिसको फिनिसिङको रुपमा इन्टेरियर वा एक्स्टेरियरको रुपमा प्रयोग गर्न सकिन्छ। सामान्य व्यक्तिले घर बनाउँदादेखि ठूला अपार्टमेन्ट निर्माणमा यसको प्रयोग गर्न सकिन्छ। फलसिलिङ, पार्टेसन, फ्रन्ट डिजाइन, क्याडलिङ, फ्लोर वर्क्सलगायतका काममा प्रयोग गर्न सकिन्छ। 

‘हाइराइज बिल्डिङमा लोड कम गर्न लाइट पार्टेसन गर्न सिमेन्ट बोर्ड प्रयोग गर्न सकिन्छ’, उनले थपे, ‘नेपाल भूकम्पको जोखिम भएको ठाउँ भएकाले अग्ला घरहरुमा झन् उपयुक्त हुन्छ।’

सिमेन्ट बोर्डले बनेको संरचना भत्किएर मानिस च्यापिने वा ज्यान जाने सम्भावना नहुने उनको भनाइ छ। सिमेन्ट र फाइबर मिश्रित बोर्ड हलुका हुने भएकाले कम जोखिमयुक्त मानिन्छ।

थप तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad