कारोबार


अध्ययनको १५ वर्षमा उपत्यकाका २ ठाउँमा बने अन्डरपास र ओभरपास, अन्त कहिले बन्छन्?

अध्ययनको १५ वर्षमा उपत्यकाका २ ठाउँमा बने अन्डरपास र ओभरपास, अन्त कहिले बन्छन्?

वसन्त अर्याल
असार ९, २०८२ सोमबार ९:३०, काठमाडौँ

सरकारले काठमाडौं उपत्यकाका दर्जन बढी ठाउँमा सुरुङमार्ग, अन्डरपास र फ्लाइओभर निर्माण गर्ने योजना बनाए पनि बजेट नहुँदा रोकिनपुगेका छन्। 

अध्ययन भएको करिब १५ वर्षमा २ ठाउँमा वैकल्पिक पूर्वाधार निर्माण भए पनि अधिकांश ठाउँमा निर्माण नै सुरु हुनसकेको छैन। 

सन् २०१० मा सरकारले उपत्यकाका ८ स्थानमा सम्भाव्यता अध्ययन गरेको थियो। 

यसअनुसार तीनकुने–माइतीघर, माइतीघर–सोल्टीमोड, बालाजु, सातदोबाटो र कलंकीमा फ्लाइओभर निर्माणबारे अध्ययन भएको थियो।

सडक विभागले तीनकुने–माइतीघरमा चार लेनका फ्लाइओभरको प्राविधिक अध्ययनका लागि परामर्शदाता पनि नियुक्त गरेको थियो। 

तर लागत धेरै देखिएपछि अगाडि बढाउन सकेन।

कलंकीमा अन्डरपास र ग्वार्कोमा ओभरपास बन्यो
उपत्यकामा पहिलो वैकल्पिक पूर्वाधार कलंकीमा तयार भएको छ। चीनको सहयोगमा बनेको कलंकी अन्डरपासले अहिले ट्राफिक कम भई राहत मिलेको छ। रिङरोड (चक्रपथ)मा चल्ने सवारीसाधन तलबाट जाने भएकाले जाममा बस्नु नपर्ने भएको छ। 

सोल्टीमोडबाट थानकोट वा स्वयम्भू जाने सवारीसाधन भने केही समय कुर्नुपर्छ। अन्डरपास निर्माण भएसँगै सवारीको चाप कम हुँदा यात्रु र सवारी दुवैलाई कलंकीमा पहिलेभन्दा निकै सहज भएको छ। 

पहिलो चरणमा विस्तार भएको चक्रपथमा सबैभन्दा बढी ट्राफिक चाप एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा छ। 

यीमध्ये २०७८ मा ठेक्का सम्झौता भएको ग्वार्को ओभरपास निर्माण पूरा भई यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरिसकेका छन्। योसँगै ग्वार्कोको सास्ती पनि हटेको छ। नवनिर्मित ओभरपासबाट रिङरोडमा घुम्ने सवारीसाधनले ट्राफिक जाममा बस्नुपर्ने बाध्यता हटेको हो। यसको कुल र्‍याम्प र पुलको लम्बाइ ५७६ मिटर छ। 

तर अझै सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माणको योजना यतिकै छ। 

सरकारले आर्थिक वर्ष २०७४/०७५ मा वैकल्पिक पूर्वाधार बनाउने निर्णय गरेको थियो। सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले देशभरका फ्लाइओभर, सुरुङमार्ग र अन्डरपासको विषयमा सम्भाव्यता अध्ययन गर्छ। 

ग्वार्को ओभरपास सोही केन्द्रको ठेक्कामा तयार भएको हो। सरकारले आगामी आर्थिक वर्षको लागि सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत ६८ करोड ८० लाख रुपैयाँ बजेट छुट्याइसकेको छ।

ग्वार्को ओभरपास

डिजाइन तयार भएको कोटेश्वर–जडीबुटी सुरुङमार्ग लागत बढी देखिएपछि अन्योलमा 
जापानी सहयोग नियोग (जाइका)को सहयोगमा डिजाइन तयार भएको कोटेश्वर सुरुङमार्ग स्रोत अभावपछि निर्माण हुनसकेको छैन।

कोटेश्वर–जडीबुटीको लागि हरेक वर्ष अध्ययन गर्न बजेट विनियोजन भए पनि निर्माण सुरु नै हुनसकेको छैन। जापानले सहुलियत ऋणमै बनाइदिने प्रस्ताव गरेको छ तर सरकारले निर्णय गर्नसकेको छैन। 

यसकै लागि जाइकासँग वार्ता गर्न मन्त्रिपरिषद्ले समिति नै तयार गरेको थियो। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्क हेर्दा हरेक वर्ष वार्षिक कार्यक्रममा बजेट विनियोजन हुँदै आएको छ। 

सरकारले आर्थिक वर्ष २०७६/०७७ मा कोटेश्वर–जडीबुटी खण्ड सुरुङमार्गको लागि ४० लाख, ०७७/०७८ मा १ करोड, आर्थिक वर्ष २०७८/०७९ मा कोटेश्वर–जडीबुटी खण्ड सुरुङमार्गको लागि १० लाख र ०७९/०८० मा १० लाख रुपैयाँ बजेट छुट्याएको थियो। 

तर चालू आर्थिक वर्षमा कोटेश्वर–जडीबुटी सुरुङमार्गको लागि बजेट विनियोजन नै गरिएन भने आगामी आवको लागि पनि उक्त कार्यक्रम राखिएको छैन। 

नागढुंगा सुरुङ

‘कोटेश्वर–जडीबुटी खण्डमा सुरुङमार्ग निर्माण गर्नको लागि डिजाइन तयार भइसकेको छ’, सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले भने, ‘स्रोत सुनिश्चितताको लागि जाइकासँग छलफल भइरहेको छ। तर लागत बढी देखिएकाले निर्माण अगाडि बढाउने विषय अन्योलमै छ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर सुशीलबाबु ढकालले जाइकाले कोटेश्वरमा ३ वटा विकल्प दिए पनि कसरी बनाउने भन्ने स्पष्टता नभएको बताए। 

‘जाइकासँग अर्थ मन्त्रालयले सहुलियतपूर्ण ऋणको वार्ता गरिरहेको छ। अहिलेसम्म टुंगिएको जानकारी आएको छैन’, उनले भने, ‘विमानस्थलसँगै केही निजी जग्गाका विषय पनि छन्। स्रोत सुनिश्चितता भएपछि कुनै एक विकल्पमा निर्माण अघि बढ्ला।’

बलम्बुको निर्माणाधीन फ्लाइओभर

नयाँ बानेश्वर अन्डरपास : हरेक वर्ष बजेटमा चर्चा, काम हुँदैन
काठमाडौं सहरभित्र सबैभन्दा बढी जाम हुनेमध्ये पर्ने नयाँ बानेश्वरमा पनि सरकारले अन्डरपास बनाउन हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा ४० लाख रुपैयाँ, आर्थिक वर्ष २०७७/०७८ मा १ करोड, ०७८/०७९ मा १० लाख रुपैयाँ छुट्याइएको थियो।

त्यसैगरी आर्थिक वर्ष ०७९/०८० मा ३० लाख, आर्थिक वर्ष २०८०/०८१ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। 

चालू आवमा ९ लाख र आगामी आवमा बानेश्वर अन्डरपासले २ लाख ७० हजार रुपैयाँ बजेट पाएको छ। तर काम भने हुनै सकेको छैन।

सरकारले २०७८ पुसमा बानेश्वर चोकमा अन्डरपास निर्माण गर्नको लागि परामर्शदाता छनोटको सूचना निकालेको थियो। अध्ययनले १.४ किलोमिटरको अन्डरपास निर्माण गर्न १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ। 

‘नयाँ बानेश्वरमा अन्डरपास बनाउन अध्ययन भइसकेको छ। स्रोतको सुनिश्चितता भए निर्माण अगाडि बढाउन सकिने अवस्था छ’, सडक विभागका प्रवक्ता प्रभातकुमार झाले भने, ‘पूर्वाधार निर्माण अगाडि बढाउन त बजेट नै चाहिन्छ।’

बलम्बु फ्लाइओभर

आगामी वर्षको लागि छुट्याइएको बजेट अध्ययनको भुक्तानीको लागि भएको उनले बताए। 

सुरुमा पुरानो बानेश्वरबाट शंखमूल जानेतर्फ अन्डरपास निर्माणको योजना बनाए पनि पछि डिजाइन परिवर्तन गरिएको थियो। यसअनुसार बानेश्वरबाट शान्तिनगरको बीचको लेनलाई अन्डरपास बनाउनेबारे अध्ययन भएको छ। 

त्यस्तै, सरकारले गौशालाको जाम कम गर्न अन्डरपास निर्माण गर्ने योजना बनाएको छ। यसका लागि २ वर्ष बजेट पनि विनियोजन भयो तर कुनै काम हुनसकेन। 

आर्थिक वर्ष २०७८/०७९ मा ५० लाख र ०७९/०८० मा ३० लाख छुट्याइएको थियो। तर चालू आव र आगामी आवमा बजेट कार्यक्रममा यो अन्डरपास परेको छैन। 

सहसचिव ढकाल चाबहिलदेखि गौशालासम्म सुरुङमार्ग वा फ्लाइओभरका लागि अध्ययन गर्न बजेट विनियोजन भएको बताउँछन्।

‘सडक विभागले धोबीखोलादेखि गौशालासम्म सुरुङमार्ग बनाउने प्रारम्भिक योजना थियो। तर पशुपति क्षेत्र भएकाले पुरातात्विक वस्तु फेला परे अप्ठ्यारो हुने विषय आयो’, सडक विभागका पूर्वमहानिर्देशक समेत रहेका ढकालले भने, ‘चक्रपथको ट्राफिकलाई सहज बनाउन कुन उपयुक्त विधि हुन्छ भनी बजेट छुट्याइएको थियो।’

काठमाडौं उपत्यका

चारै भन्ज्याङमा सुरुङमार्गका योजना 
सरकारले बजेट वक्तव्यमार्फत २०७८ मा काठमाडौं उपत्यका जोड्ने चारै भन्ज्याङमा सुरुङमार्ग निर्माणको योजना अघि सारेको थियो। 

तर नागढुंगा–नौबीसे सुरुङमार्गबाहेक अरु आयोजना अघि बढ्न सकेनन्। नागढुंगा सुरुङमार्ग निर्माणको अन्तिम चरणमा छ। २.६ किमि लामो यो सुरुङमार्गले काठमाडौं उपत्यका प्रवेशलाई सहज बनाउनेछ। 

नागढुंगा सुरुङमार्ग आयोजनाअन्तर्गतको बलम्बुमा फ्लाइओभर निर्माणाधीन छ। तिहारसम्म सुरुङमार्ग सञ्चालनमा आउँदा यहाँ हुँदै प्रवेश गर्ने सवारीसाधन फ्लाइओभरबाट प्रवेश गर्नेछन्। कलंकी–थानकोट सडक खण्डमै निर्माण भइरहेको फ्लाइओभरले सुरुङमार्ग जाने सवारीलाई विना ट्राफिक जाम सहजै प्रवेश गराउनेछ। हल यसको ९५ प्रतिशत भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ। 

टोखा–छहरे–गुर्जु भन्ज्याङ सुरुङमार्गको लागि पनि सरकारले १ अर्ब बजेट विनियोजन गरेको थियो। तर चिनियाँ सहयोगमा मात्रै निर्माण गर्ने भएकाले नेपाल सरकारले अध्ययनको लागि मात्र बजेट विनियोजन गर्दै आएको छ। चीनको भर परेको सरकारले सुरुङमार्ग निर्माणका लागि विभिन्न अध्ययन गरिसकेको छ। चालू आर्थिक वर्षमा यसको लागि २७ लाख रुपैयाँ छुट्याइएको छ। 

नागढुंगा सुरुङतर्फ फ्लाइओभर हुँदै जाने बाटो

धेरै चर्चामा आउने गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ सुरुङमार्गको लागि ४० लाख छुट्याइए पनि कामको टुंगो छैन। यो प्रस्तावित सुरुङमार्गको लागि आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो। गत वर्ष गाडी दुर्घटनापछि फेरि चर्चामा आए पनि पछिल्ला वर्ष आयोजना अगाडि नै बढाइएको छैन। 

यसबाहेक गोदावरी–मानचौर सुरुङमार्ग योजनाको लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको छ। सरकारले आर्थिक वर्ष २०७६/०७७ मा गोदावरी कुण्ड र काभ्रे मानेचौर जोड्ने सडकको लागि ४० लाख विनियोजन गरेको थियो। अहिले बजेटबाट उक्त आयोजना हटाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad