उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताएका छन्।
सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अर्थमन्त्री पौडेलले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीव्रताका लागि आफूहरु लागेको बताए।
उनले महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भए पनि ब्याजदर र मुद्रास्फीतिको सम्बन्ध हुने बताए। अर्थमन्त्री पौडेलले निजी क्षेत्रले वित्तीय क्षेत्रमा पहुँचको माग गरेको भन्दै त्यसमा भएका कमीहरु र समाधानका उपायहरु सरकारलाई दिन आग्रह गरे।
उनले राष्ट्र बैंक स्वायत्त कानूनको आधारमा सञ्चालित स्वायत्त संस्था भएकाले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप नगर्ने बताए।
अर्थमन्त्री पौडेलले लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवद्र्धन गर्ने र यस क्षेत्रका समस्या कसरी समाधान गर्ने भन्ने सार्थक उपाय खोज्नुपर्ने बताए। उनले वर्तमान सरकार कुनैपनि नीति बनाउँदा र निर्णय गर्दा सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय गर्ने पक्षमा रहेको बताए।
उनले सरकार साना उद्योगका समस्या केलाएर निवारणका लागि लाग्ने पनि बताए। उनले एसएमई क्षेत्रमा नीतिगत अस्पष्टता भए ती क्षेत्रहरुको पहिचान गरी मन्त्रालयलाई बुझाउन पनि आग्रह गरे। उनले प्रक्रियागत रुपमा देखिएका झन्झटहरुलाई समेटेर सेवाप्रवाह चुस्त बनाउन, पारदर्शी तुल्याउन सरकारलाई आवश्यक सुझाव दिनपनि निजी क्षेत्रसँग आग्रह गरे।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रका कतिपय मागहरु सरकारले सम्बोधन गर्ने काम शुरु भइसकेको बताए। उनले कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको अवस्थाको गुनासोलाई अब सरकारले सम्बोधन गर्नेपनि विश्वास व्यक्त गरे। उनले कर्मचारीहरुले कर बुझाउन जाँदा दिएका झन्झटहरुको बारेमा मन्त्रालयलाई जानकारी गराउनसमेत निजी क्षेत्रसँग आग्रह गरे।
उनले राज्यका कुनै पनि निकायले नागरिकलाई हैरान बनाउने काम गर्नु नुहने भन्दै दुःख दिएको पाए कारबाहीको दायरामा ल्याउने बताए। आर्थिक क्षेत्रमा देखिएका समस्यालाई सरकार र अर्थमन्त्रालयको मात्र समस्या नठानेर सबैको समस्यका रुपमा लिन पनि निजी क्षेत्रलाई आग्रह गरे।
अर्थमन्त्री पौडेलले यसअघि आफू अर्थमन्त्री बनेको बेलामा निजी क्षेत्रको समस्या समाधानका लागि स्टार्टअप कार्य योजना ल्याएपनि आफू हटेको लामो समयसम्म पनि कार्यविधि नबन्नु दुखद् भएको बताए। उनले अब चाँडै नै स्टार्टअप कार्यविधिलाई अघि बढाउने बताए। उनले स्टार्टअप सम्बन्धी यो कार्यविधि छिटै पारित हुने र कार्यान्वयनमा आउने प्रतिवद्धता जनाए। उनले परियोजना कर्जा पनि चाँडै नै अघि बढाउने बताए।
अर्थमन्त्री पौडेलले प्रोजेक्ट फाइनान्सिङको व्यवस्था नगरीकन निजी क्षेत्रलाई अघि बढाउन नसकिने बताए।
Shares
प्रतिक्रिया