ad ad

कारोबार


२०२३–०३३ लाई भ्रमण दशक मनाउने तयारी, ७३ बुँदे कार्ययोजनामा अरु के–के?

२०२३–०३३ लाई भ्रमण दशक मनाउने तयारी, ७३ बुँदे कार्ययोजनामा अरु के–के?

फाइल तस्बिर


वसन्त अर्याल
साउन ८, २०७९ आइतबार १४:५४, काठमाडौँ

नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको लागि सरकारले ७३ बुँदे कार्ययोजना ल्याएको छ। 

कोभिड महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न मुख्य जिम्मेवार निकाय र अवधि तोकेर कार्ययोजना ल्याएको हो। 

सरकारले १ महिनेदेखि दीर्घकालसम्मका योजना समेटेर कार्ययोजना ल्याएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्नो पहिलो निर्णयअनुसार कार्ययोजना सार्वजनिक गरेका छन्। 

असार १३ गते मन्त्रालयको पदभार ग्रहण गर्दै उनले पर्यटन पुनरुत्थान  कार्ययोजना बनाउने निर्णय गरेका थिए। 

‘विगतका मन्त्रीहरुले तयार पारेको प्रतिवेदनको आधारमा समिति बनाई कार्ययोजना बनाइएको हो’, मन्त्री श्रेष्ठले भने, ‘कार्ययोजना कुन निकायले कति समयमा के काम गर्ने गरी ल्याइएको छ।’

उनले पर्यटन विकास अभियान भएकाले १ वर्षमा मात्रै सफल हुन नसकिने बताए। 

‘हाम्रो विगतको परम्परा भ्रमण वर्ष मनाउने गरिएको थियो। १ वर्ष पर्यटन वर्ष मनाएर मात्रै हुँदैन भन्ने सोचका साथ एक दशकलाई मनाउनुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘२०२३ देखि २०३३ को दशकलाई भ्रमण दशकको रुपमा मनाउने तयारी गर्छौँ।’

कार्ययोजनामा पर्यटकको सहजताका लागि नेपालको पर्यटन डिजिटल म्याप, होटल व्यवस्थापन सूचना प्रणाली, पर्वतारोहण सूचना प्रणाली, बहु भाषामा सूचना दिने गरी अघि बढ्ने उल्लेख छ। 

सरकारले नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्न विभिन्न सहुलियत व्यवस्था गर्ने भएको छ। 


 
मन्त्रालयको तयार पारेको कार्ययोजनामा अन्नपूर्ण आधारशिविरमा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पहल गर्ने भएको छ। 

पर्यटकीय गन्तव्यको सरसफाइ र राजमार्ग र पर्यटक आगमन विन्दुहरुमा आधुनिक शौचालय निर्माण गर्ने भएको छ। 

पर्यटकीय सवारीसाधन आयातमा भन्सार महशुल टुट दिने व्यवस्था गर्ने भएको छ। पर्यटन मन्त्रालयले हनुमान ढोकादेखि स्वयम्भूसम्म पर्यटक पदमार्ग निर्माण गर्ने भएको छ। 

पर्यटनमन्त्री श्रेष्ठले पर्यटनसँग सम्बन्धित कानुनी व्यवस्था संशोधन प्रक्रिया अघि बढाउने भएको छ। 

सरकारले काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटन प्रारम्भ र प्रवर्द्धन गर्ने अवधारणाअनुसार काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने भएको छ। 

सरकारले चितवन र पोखरालाई वेडिङ डेस्टिनेसन बनाउने भएको छ। नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना २०७९मा भारतीय र बंगलादेशी नागरिकलाई आकर्षित गर्न ‘सेरेमोनियल डेस्टिनेसन’ बनाउने भएको हो।
 
‘पहिले देश अनि विदेश’ घुम्ने अभियान सञ्चालन गर्दै
सरकारले आन्तरिक पर्यटक प्रवर्द्धन गर्न पहिले देश अनि विदेश अभियान सञ्चालन गर्ने भएको छ। 

मन्त्रालयको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न नमूना कार्यक्रमको रुपमा पर्यटन मन्त्तालयका कर्मचारीलाई पर्यटन काजको व्यवस्था गर्ने भएको छ। 

मन्त्रालयले सार्वजनिक निकायका कर्मचारीहरुलाई पर्यटन काजको व्यवस्था गर्न आवश्यक पहल र समन्वय गर्ने भएको छ। 

नेपालको पर्यटन प्रवद्र्धन पुनरुत्थान कार्ययोजना २०७९ मा राम जानकी मन्दिर र तिरौलाकोट क्षेत्रलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने भएको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रारा, खप्तडजस्ता महत्वपूर्ण पर्यटकीय गन्तब्यमा गुणस्तरीय होटल लगायत एकीकृत पर्यटकीय पूर्वाधार विकास गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ। 

सरकारले विदेशस्थित नेपाली नियोगहरुमा कार्यरत एक जना अधिकारीलाई पर्यटन क्षेत्रको सम्पर्क व्यक्ति तोक्ने व्यवस्था गर्ने भएको छ। तारे स्तरका होटलका कोठाहरुमा सिंगल युज प्लास्टिकलार्य १ वर्षभित्र विस्थापन गर्ने लक्ष्य राखेको छ। 

सरकारले योगा, रिट्रिट, स्पा र आध्यत्मिक पर्यटन प्याकज बनाई ६ महिनाभित्र अघि बढाउने भएको छ। पर्यटकीय स्थलहरुमा पर्यटक बसपार्क निर्माणको कामलाई अघि बढाउने भएको छ। 

त्यस्तै सरकारले सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना २०७९ मा २ महिनाभित्र सगरमाथा संवाद कार्यक्रम गर्ने उल्लेख गरेको छ। 

अघिल्लो सरकारले सगरमाथा संवाद कार्यक्रम गर्ने भए पनि वर्तमान सरकारले यसलाई योजनामा राखेको थिएन। पर्यटनमन्त्री जीवनराम श्रेष्ठले साउन ८ गते मन्त्रीस्तरिय निर्याण गरेका हुन्। 

पुनरुत्थान कार्ययोजनामा गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान सञ्चालन गर्ने भएको छ।  मन्त्रालयले त्यसको लागि गैरआवासीय नेपाली संघबीच साझेदारी गर्ने भएको छ। 

मन्त्रालयले हिमाल आरोहणकालागि ५ हजार ८ सय मिटरसम्मका थप हिमचुलीहरुको आरोहण खुल्ला गर्ने भएको छ। पदयात्रा र पर्वतारोहणलाई व्यवस्थित बनाउन जीपीएस ट्र्याकिङ सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ। 

अन्तर्राष्ट्रिय विमानस्थल शुल्कमा छुट, दुर्गमको लागि जहाज खरिद गर्नेलाई कर छुट
सरकारले गौतमबुद्ध र पोखरा विमानस्थलमा लाग्ने शुल्क शतप्रतिशत छुट दिने भएको छ। कोभिडपछिको पुनरुत्थान कार्ययोजनामा लेन्डिङ, पाकिङ र नेगिभेसनमा लाग्ने सेवा शुल्क छुटलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो। 

नागरिक उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ चार्जमा निश्चित प्रतिशतसम्म छुट दिइने बताएको छ। ‘चार्टर्ड फ्लाइटलाई प्रोत्साहन गर्ने ट्रान्सिट कार्गोका लागि आवश्यक कानुनी व्यवस्था गर्ने’, मन्त्रालयको कार्ययोजनामा छ। 

कार्ययोजना २०७९ मा नेपालको उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने अन्तर्राष्ट्रियस्तरको फ्लाई स्कुल सञ्चालन प्रक्रिया ६ महिनाभित्र अघि बढाउने योजना बनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उपत्यकाका महत्वपूर्ण स्थानसम्म पुग्ने गरी विद्युतीय यातायात सेवा सञ्चालन गर्ने योजना भएको छ। मन्त्रालयले यसको कार्यान्वयन ३ महिनाभित्र हुने उल्लेख गरेको छ। 

त्यस्तै सरकारले दुर्गम क्षेत्रमा हवाइ सेवा विस्तार गर्ने कम्पनीलाई कर छुट दिने भएको छ। मन्त्रालयले दुर्गम हवाइ सेवा विकास कोषलाई कार्यन्वयन ल्याउने जनाएको छ। 

मन्त्रालयले अन्तरप्रदेश हवाइ सेवा विस्तार गर्न नेपाल वायुसेवा निगमसँगै नीति क्षेत्रका वायुसेवा कम्पनीसंग सहकार्य गर्ने भएको छ। 

त्यस्तै सबैभन्दा बढी विदेशी यात्रु भित्र्याउने वायुसेवा कम्पनी, ट्राभल एजेन्सी, पर्यटनसम्बद्ध संघ संस्थालाई छुट दिने कार्ययोजना ल्याएको छ।

विमानस्थलमा सञ्चालन हुने सबै ट्याक्सी लगायत पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने व्यवसथा १ महिनाभित्रै गर्ने योजना बनाएको छ। त्यसको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ट्राफिक प्रहरी महाशाखा र निजी क्षेत्रसँग सहकार्य गर्ने उल्लेख गरेको छ। 

निगमको टिकट अनलाइन, प्रस्थान कक्षमा ड्युटी फ्रि सप  
सरकारले ३ महिनाभित्र अन्तर्राष्ट्रिय प्रस्थान कक्षतर्फ ड्युटी फ्रि सप सञ्चालनमा ल्याउने भएको छ। पर्यटन मन्त्रालयले प्रस्थान कक्षमा नेपाली हस्तकला र नेपाली मदिरा ब्रान्ड बिक्री गर्ने व्यवस्था गर्ने भएको हो।  

विमानस्थलमा धेरै पर्यटक आउने प्रमुख मुलुकका नगरिकले बोल्ने भाषाका सहयोगी र डिजिटल इन्फरमेसन बोर्ड १ महिनाभित्र राख्ने भएको छ। मन्त्रालयले नेपाल वायुसेवाका सबै प्रकारका टिकटलाई १ महिना अनलाइनबाट बिक्रीमा लैजाने व्यवस्था मिलाउने भएको छ। 

त्रिभुवन विमानस्थलमा यात्रुको सुविधाको लागि भेन्डिङ मेसिन राख्ने भएको छ। ट्याक्सी लगायतका पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने व्यवस्था मिलाउने र पर्यटकीय ट्याक्सी चालकलाई निर्धारित पोशाक र व्यवहारगत तालिम दिने व्यवस्था गर्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .