कारोबार


कर्जा नोक्सानी व्यवस्थापनमा वाणिज्य बैंकहरूले घटाए रकम, कुनले कति राखे?

कर्जा नोक्सानी व्यवस्थापनमा वाणिज्य बैंकहरूले घटाए रकम, कुनले कति राखे?

नेपालखबर
फागुन २५, २०८१ आइतबार १९:०, काठमाडौँ

समग्र बैंक तथा वित्तीय संस्थाहरूको कर्जा नोक्सानी व्यवस्थापन रकम बढे पनि माघसम्म वाणिज्य बैंकहरूको भने घटेको छ।

गत पुस मसान्तसम्म वाणिज्य बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापनका लागि २ खर्ब ४३ अर्ब २० करोड रुपैयाँ छुट्याएकोमा माघ मसान्तसम्म घटाएर २ खर्ब ४२ अर्ब ९८ करोड रुपैयाँ मात्रै छुट्याएका छन्। 

माघ महिनामा मात्रै वाणिज्य बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापन कोषमा २१ करोड रुपैयाँ कम रकम नोक्सानी व्यवस्थापनमा राखेका हुन्।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्दै कर्जा नोक्सानी व्यवस्था गर्दा असल कर्जामा छुट्याउनुपर्ने रकम घटाएको थियो। समीक्षाले असल कर्जामा १.१० प्रतिशत कर्जा नोक्सानी व्यवस्थापनका लागि रकम छुट्याउनुपर्ने व्यवस्थालाई संशोधन गर्दै १ प्रतिशत मात्रै रकम राखे पुग्ने व्यवस्था गरेको छ।

यो व्यवस्थासँगै वाणिज्य बैंकहरूको कर्जा नोक्सानी घटे पनि समग्र बैंक तथा वित्तीय क्षेत्रको कर्जा नोक्सानी व्यस्थापन कोष भने बढेको छ। 

खराब कर्जा नियन्त्रणमा ल्याउन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानी व्यवस्थापन कोषमा राख्ने रकम बढाएका छन्।

बैंक तथा वित्तीय संस्थाहरूले माघ महिनामा मात्रै १८ करोड बढी रकम कर्जा नोक्सानी व्यवस्थापन कोषमा थपेका हुन्। 

माघ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूले खराब कर्जा नोक्सानी व्यवस्थापन कोषमा कुल २ खर्ब ८० अर्ब १५ करोड रुपैयाँ राखेका छन्। पुस महिनासम्म कोषमा कुल २ खर्ब ७९ अर्ब ९७ करोड रुपैयाँ थियो। 

कुन वाणिज्य बैंकले कति राखे? 
माघ मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा नोक्सानी व्यवस्थापन कोषमा २ अर्ब ८० करोड जम्मा हुँदा सबैभन्दा धेरै कुमारी बैंकको छ। 

खराबकर्जा ६.९६ प्रतिशत पुगेसँगै यो बैंकले ७ अर्ब १९ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनमा छुट्याएको छ। 

त्यस्तै दोस्रोमा रहेको एनआईएमबी बैंकको पनि ५.८६ प्रतिशत खराब कर्जा रहेकाले माघ मसान्तसम्म उसले ६ अर्ब ६ करोड रुपैयाँ छुट्याएको छ। 

यस अवधिमा उच्च खराब कर्जा रहेका बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापनमा सञ्चित रकम बढाएका छन्। यसमा खराब कर्जा ५.६७ प्रतिशत रहेको लक्ष्मी सनराइजले ३ अर्ब ६२ करोड कर्जा नोक्सानी व्यवस्थापन गर्दा ४.६१ प्रतिशत खराब कर्जा रहेको एनआईसी एसिया बैंकले ३ अर्ब ४९ करोड रुपैयाँ, खराब कर्जा ४.९६ प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३२ करोड र एनएमबी बैंकले ३ अर्ब १५ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापन गरेको छ। 

योबाहेक नबिल बैंकले २ अर्ब १२ करोड रुपैयाँ नोक्सानी व्यवस्थापन कोषमा राख्दा सिद्धार्थ बैंकले २ अर्ब २७ करोड, प्रभु बैंकले २ अर्ब ६२ करोड, कृषि विकास बैंकले २ अर्ब ४५ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनका लागि जम्मा गरेको छ। 

योबाहेक सिटिजन्स बैंकले १ अर्ब ९५ करोड, ग्लोबल आईएमई बैंकले १ अर्ब ९५ करोड, सानिमा बैंकले १ अर्ब ६२ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ८ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनका लागि राखेका छन्। 

खराब कर्जा नियन्त्रण गर्न सफल देखिएका ५ बैंकले भने करोडमा कर्जा नोक्सानी व्यवस्थापन गरेका छन्। जसमा नेपाल बैंकले ५६ करोड रुपैयाँ कोषमा राख्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ११ करोड, एभरेष्ट बैंकले ३४ करोड, माछापुच्छ्रे बैंकले ६५ करोड र प्राइम बैंकले ९८ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापन कोषमा राखेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad