काठमाडौँको गोकर्णेश्वरमा महिलाको हत्या गरी बागमतीमा फालेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नाबालकसमेत छन्।
शनिबार दिउँसो ११ः५० बजे गोकर्णेश्वर नगरपालिका ७ नामी कलेज नजिक बागमती खोलामा बोराभित्र पानीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको थियो।
पक्राउ पर्नेमा सर्लाहीको बागमती ढुङगेखोला घर भई हाल काठमाडौं जिल्ला गोठाटार बस्ने २५ वर्षका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानी घर भई गोठाटार कृष्ण मन्दिर बस्ने २० वर्षका सुरेश तामाङ, नुवाकोट मेघांग ४ देउराली घर भई हाल गोठाटार कृष्ण मन्दिर बस्ने २४ वर्षका रोशन तामाङ र सिन्धुपाल्चोक तिपिने घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षकी पुजा परियार रहेका छन्।
अर्का एक जना नाबालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। अन्दाजी ३०/३५ वर्षकी महिलाको सनाखत भने हुन सकेको छैन। घटनाको जानकारी पाए लगतै प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको थियो।
प्रारम्भिक अनुसन्धानको क्रममा निजको हत्यामा ५ जनाको संलग्नता देखिएको प्रहरीको दाबी छ। उनीहरूलाई आइतबार नै पक्राउ गरेर प्रहरीले अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिएको छ।
Shares

प्रतिक्रिया