कारोबार


वाणिज्य बैंकहरूको ब्याजदर ९ वर्षयताकै सस्तो

भारतले नाकाबन्दी लगाउँदाताका थियो अहिलेको दर
वाणिज्य बैंकहरूको ब्याजदर ९ वर्षयताकै सस्तो

सम्झना घिमिरे
फागुन ७, २०८१ बुधबार ७:४, काठमाडौँ

वाणिज्य बैंकहरूको ब्याजदर ९ वर्षयताकै सस्तो भएको छ। 

कर्जा प्रवाहमा ह्रास आउँदा ब्याजदर झण्डै एक दशकअघिको अवस्थामा पुगेको छ। 

२०७३ सालमा वाणिज्य बैंकहरूको आधार दर (बेसरेट) न्यूनतम ६.१० प्रतिशत थियो। त्यसयताका ९ वर्षसम्म आधारदर सोभन्दा तल झरेन।

माघ मसान्तमा बैंकहरूको आधार दर ६.६५ प्रतिशतमा आइपुगेको हो। यो ९ वर्षयताकै कम हो। 

२०७२ सालको भूकम्प र भारतले लगाएको नाकाबन्दीपछि अर्थतन्त्रमा सुस्तता छाउँदा बैंकहरूमा कर्जाको माग अप्रत्याशित रुपमा घटेको थियो। 

बजारको क्रय क्षमता घट्नुका साथै नाकाबन्दीले कच्चापदार्थ आयात रोकिँदा उद्योगधन्दा ठप्प हुँदा त्यतिबेला कर्जा प्रवाहमा असर परेको थियो। बैंकहरूमा निक्षेप थुप्रिने अवस्था सिर्जना भयो। 

यसको असर २०७३ मा बैंक ब्याजदरमा देखियो। अर्थात् आधार दर ६.१० प्रतिशतमा झर्‍यो। 

भूकम्प र नाकाबन्दीपछि कोभिड संक्रमणको विश्व महामारी खेपेको अर्थतन्त्रले यो बीचमा करिब एक दशक बिताइसकेको छ। तर दशकपछि पनि अर्थतन्त्र अपेक्षित रुपमा चलायमान हुन नसक्दा वाणिज्य बैंकहरू पनि दशक पछाडिकै अवस्थामा धकेलिएका छन्। 

फागुन महिनामा वाणिज्य बैंकहरूको आधार दर ६.६५ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.५७ प्रतिशत छ। अहिले वाणिज्य बैंकहरूसँग ११ खर्ब ७१ अर्ब रुपैयाँबराबरको तरलता छ।

५९ खर्ब ९८ अर्ब निक्षेप उठाएका वाणिज्य बैंकहरूले ४८ खर्ब २७ अर्ब रुपैयाँ मात्रै ऋणमा लगानी गरेका छन्। बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्मको रकम ऋणमा लगानी गर्न पाउने भए पनि अहिले ७९ प्रतिशत मात्रै लगानी गर्न सकेका छन्।

चालू आर्थिक वर्षबाट कर्जा विस्तार कमजोर बन्दा आधार दर एक दशक अगाडिकै हाराहारीमा फर्किएको हो।

कोरोना संक्रणमा सुरु भएपछि देशैभर लकडाउन भयो। त्योसँगै आधार दर ६.६६ प्रतिशतसम्म आए पनि पनि सोभन्दा तल ओर्लिन पाएको थिएन। तर चालू आवमा भने कोभिडकालीन अवस्थाभन्दा तल आधार दर पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७३/७४ मा आधार दर ६.१० प्रतिशत पुग्दा कर्जाको ब्याजदर ८.८६ प्रतिशतमा ओर्लिएको थियो। 

२०७२ मा भूकम्प र भारतले लगाएको नाकाबन्दीले अर्थतन्त्रमा सुस्तता छाउँदा पछिल्लो वर्ष २०७३ मा अर्थतन्त्रसँगै बैंकहरूको वासलातमा पनि त्यसको असर देखियो। 

बैंकहरूले सो वर्ष ब्याजदर न्यून अंकमा आइपुग्दा पनि कर्जा प्रवाह बढाउन सकेनन्। फलतः आधार दर नै ६.१० प्रतिशतमा आइपुग्यो। त्यसपछि भने बढेको थियो।

आव २०७४/७५ मा वाणिज्य बैंकहरूको न्यूनतम आधार दर ९.६७ अंकमा उक्लिँदा कर्जाको ब्याजदर ११.१० प्रतिशत र निक्षेपको ब्याजदर ६.१० प्रतिशत पुगेको थियो।

आव २०७५/७६ मा आधार दर न्यूनतम ९.४८ प्रतिशतमा रहँदा कर्जाको ब्याज १२.२० प्रतिशत र निक्षेपको ब्याज ६.३० प्रतिशतमा थियो भने आव २०७६/७७ मा आधार दर न्यूनतम ८.५० प्रतिशत हुँदा कर्जाको ब्याज १०.११ प्रतिशत र निक्षेपको ब्याज ६.१ प्रतिशत थियो। 

आव २०७७/७८ मा भने आधार दर ६.६६ प्रतिशतमा ओर्लियो। सो वर्ष कर्जाको ब्याज ८.४३ प्रतिशत र निक्षेपको ४.६२ प्रतिशत पुग्यो भने आव २०७८/७९ मा आधार दर न्यूनतम ६.७१ प्रतिशत पुग्यो।

राष्ट्र बैंकका अनुसार कोभिड संक्रमणले देश नै आक्रान्त बन्दै गर्दा कर्जा प्रवाह सुस्तायो भने निक्षेप थुप्रिने अवस्था आयो। त्यसैले बैंकहरूको आधार दर घटाउन पुग्यो। सो वर्ष बैंकहरूको आधार दर पुनः ६ प्रतिशतकै हाराहारीमा आए पनि बाँकी ८ वर्षमा भने ६ प्रतिशत नजिक आएका थिएनन्। 

तीन वर्ष लगातार ब्याजदर बढे पनि २०७७ सालमा भने घटेको देखिन्छ। उक्त वर्ष आधार दर ६.६६ प्रतिशत पुगे पनि अहिले त्योभन्दा तल अर्थात् ६.६५ प्रतिशत पुगेको छ।

२०७७ मा घटेको आधार दर आव २०७८/७९ को अन्त्यतिर तरलता व्यवस्थापन हुँदै जाँदा ९.५४ प्रतिशत पुगेको थियो।

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली तरलता अधिक पुगेकाले ब्याजदर ९ वर्षअगाडिको अवस्थामा आएको बताउँछन्। 

भूकम्पबाट उठ्दै गर्दा भारतले नाकाबन्दी लगाएपछि कर्जा प्रवाह खुम्चिएको र त्यसले बैंकहरूको तरल सम्पत्ति बढाउँदा त्यसको असर आधार दरमा परेको उनको भनाइ छ। 

९ वर्षपछि पनि अहिले बजारमा तरलता अधिक भएकै कारण बैंकहरूले आधार दर ६ प्रतिशतको हाराहारीमा पुर्‍याएको तर्क गर्छन् ज्ञवाली। 

‘लिक्विडिटी सरप्लसमै रहेकाले अहिले पनि यसले आधार दरलाई घटाउँछ’, उनले भने, ‘लिक्विडिटी घट्दै जाँदा ब्याज बढ्ने र बढ्दै जाँदा ब्याज घट्ने हुन्छ। अहिले भएको त्यही हो।’ 

पछिल्ला वर्षहरूमा राष्ट्र बैंकले लिएको नीतिले पनि बैंकहरूको तरलता अवस्थालाई प्रभावित बनाएको ज्ञवाली बताउँछन्। 

त्यसो त ब्याजदर घटेर तल आउनु बैंकहरूका लागि नराम्रो भए पनि उपभोक्ताका लागि भने अवसर भएको छ। 

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad