ad ad

कारोबार


उपभोग्य क्षेत्रमा खनियो बैंकिङ लगानी, ऋण दिन सक्दैनन् बैंक

उपभोग्य क्षेत्रमा खनियो बैंकिङ लगानी, ऋण दिन सक्दैनन् बैंक

दीपक भट्ट
भदौ ६, २०७९ सोमबार २१:५५, काठमाडौँ

नेपालका बैंक तथा वित्तीय संस्थाहरू आर्थिक वर्षको सुरुमै खुलेर लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन्। 

अहिले बैंकहरूको औसत सीडी रेसियो ८८ दशमलव २७ देखिएको छ। बैंकले प्रवाह गर्ने ऋण र संकलन गर्ने निक्षेपको अनुपात ९० प्रतिशत कायम हुनुपर्ने राष्ट्र बैंकको निर्देशन छ। 

यसअनुसार केही वाणिज्य बैंकहरूले तोकिएको सीमाभन्दा बढी ऋण लगानी गरिसकेका छन्। जसकारण ती वाणिज्य बैंक अब ऋण प्रवाह गर्न नसक्ने अवस्थामा छन्। 

बाँकी वाणिज्य बैंकहरू पनि ९० प्रतिशतको रेसियोमा देखिएका छन्। अहिलेदेखि नै बैंकहरूलाई लगानीयोग्य रकमको तनाव सुरु भइसकेको छ। 

लगानीयोग्य रकम नहुनुमा बैंकमा कर्जा माग तीव्ररुपले बढ्नु पनि हो। राष्ट्र बैंकका अनुसार चार दिन अघिसम्म बैंकहरूको निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ थियो। अहिले ५० खर्ब २३ अर्बमा आइपुगेको छ। त्यस्तै कर्जा प्रवाह चार दिन अघिसम्म ४७ खर्ब देखिएकोमा अहिले ४७ खर्ब १ अर्ब पुगेको छ।

राष्ट्र बैंकको तथ्याङ्कले बैंकमा संकलन हुने रकम घटिरहेको र लगानी हुने रकम बढिरहेको देखाउँछ। यसले बैंकमा लगानीयोग्य रकम कम रहेको स्पष्ट देखाउँछ।  

गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने वाणिज्य बैंकहरूको कर्जा प्रवाह १२.७ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह १३.९ प्रतिशतले र वित्त कम्पनीहरूको २९.८ प्रतिशतले बढेको छ। 

२०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७८ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.१ प्रतिशत र १२.७ प्रतिशत रहेको थियो। 

आर्थिक वर्ष २०७८÷७९ मा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको छ। 

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा २८.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६१.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४.३ प्रतिशतले र हायर पर्चेज कर्जा २.२ प्रतिशतले घटेको देखिएको छ। 

यस्तो छ कर्जा प्रवाहको अवस्था 
लगानीयोग्य रकम कम हुनुमा बैंकहरूको पैसा उपभोग्य क्षेत्रमा धेरै गएको देखिएको हो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष (असार मसान्त)मा झण्डै ५ सय प्रतिशतले लगानी बढेको छ। 

गत आर्थिक वर्षमा ४७  खर्ब ९ अर्ब ३० करोड कुल ऋण लगानी भएको छ। त्यसमा अधिकांश रकम उपभोग्य क्षेत्रमा लगानी भएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार उपभोग्य क्षेत्रमा आधाभन्दा धेरै लगानी भएको देखिएको छ। 

कन्जुमर लोनकै शीर्षक जस्तो सुन चाँदी, फिक्स एसी रिसिप्ट, ग्यारेन्टी बण्ड, निजी सवारी, शैक्षिक खर्च, व्यक्तिगत खर्चलगायतमा ८ खर्ब ६७ अर्ब ऋण लगानी गरेको छ। उपभोग्य क्षेत्र नै बढी रुपमा जोडिने होलसेल तथा रिटेल व्यवसायमा ९ खर्ब ४७ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ। 

उपभोग्य क्षेत्रको ऋण प्रवाहको वृद्धिदर हेर्ने हो भने ४ सय ६९ दशमलव ३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब रुपैयाँ रहेको ऋण प्रवाह भएको थियो। गत असारसम्ममा भने ८ अर्ब ६७ अर्ब रुपैयाँ पुगेको हो।

त्यसपछि मात्रै अन्य क्षेत्रको ऋण लगानी भएको देखिएको हो। 

कुन क्षेत्रमा कति ऋण लगानी?

  • कृषि : ३.८८ खर्ब
  • खानी उत्खनन : ८.७८ अर्ब
  • उत्पादन क्षेत्र : ६.९५ खर्ब
  • निर्माण : १.९० खर्ब
  • मेटल उत्पादन, मेसिनरी तथा विद्युत उपकरण : ७२ अर्ब
  • यातायात इक्विपमेन्ट : ५५ अर्ब
  • यातायात, सञ्चार क्षेत्र : २ खर्ब ९२
  • होलसेल तथा रिटेल : ९ खर्ब ४७ अर्ब 
  • फाइनान्स तथा बीमा : ३ खर्ब ७५ अर्ब
  • सेवा क्षेत्र : ३ खर्ब ९३ अर्ब
  • उपभोग्य क्षेत्र : ८ खर्ब ६७ अर्ब
  • स्थानीय सरकार : १५ करोड
  • अन्य क्षेत्र : ७ खर्ब २७ अर्ब
     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .