न पढाइमा मन बस्यो, न परदेशको कमाइले प्यास मेट्यो। न ट्याक्सीको स्टेरिङले जीवनको गति समात्यो, न काठमाडौंको बसाइ फाप्यो। तर, जब उनले आफ्नै गोठभित्र केराको थम्बा कुहाउन थाले, तब उनको सफलताको नयाँ पाना कोरियो।
मकवानपुरगढी–३ देविडाँडाका प्रेमप्रसाद तिमल्सिना अहिले बागमती प्रदेशकै नमुना उद्यमी बनेका छन्। तर, यो सफलतासम्म आइपुग्न उनले परिवारको तिरस्कार र समाजको अविश्वासका कैयौँ 'फ्रेम'हरू पार गरेका छन्।
स्टेरिङदेखि साउदीसम्म

प्रेमप्रसादको सुरुवाती यात्रा अन्योलपूर्ण थियो। २०६५ मा एसएलसीपछि उनी खलासी बने, त्यसपछि चालक। परिवारले पढ्न दबाब दिएपछि हेटौंडाको वंश गोपाल क्याम्पसमा भर्ना त भए, तर किताबका अक्षरभन्दा गाडीको इन्जिनले उनलाई बढी तान्यो। १२ कक्षामा फेल भएपछि उनले सोचे, 'घर बसेर बाख्रा चराउनुभन्दा बरु विदेश जान्छु।'
२०६८ मा साउदी पुगेर ८ वर्ष गाडी कुदाए। कमाइ ठिकै थियो, तर चित्त बुझेको थिएन। उनलाई सधैँ एउटै कुराले पिरोल्थ्यो— 'सधैँ अरूको देशमा कति चाकरी गर्नु? धेरै कमाएर पनि के गर्ने हो र? अब त आफ्नै देश जान्छु, व्यवसायी बन्छु।'
२०७५ मा नेपाल फर्किएपछि उनी कहिले पशु प्राविधिक पढेर भेटेरिनरीतिर लागे त कहिले काठमाडौंमा ट्याक्सी चलाउन पुगे। तर, नियतिले उनलाई आफ्नै गाउँको पाखोबारीतिरै बोलाइरहेको थियो।
बाटो मोडिदिएको त्यो भिडियो

साउदीमा छँदा उनले एक भारतीय दम्पतीले केराको थम्बाबाट कागज बनाएको भिडियो देखेका थिए। कोभिड-१९ लकडाउनका बेला उनले गुगलमा त्यही सीप खोज्न थाले। गाउँमा खेर गइरहेका केराका बोटहरू देख्दा उनलाई लाग्थ्यो— यो त पैसा फल्ने बोट पो हो!
‘गाउँ फर्किएपछि केराको बोटबाट फाइबर निकाल्ने मेसिन डेढ लाख रूपैयाँमा किनेँ, गाउँमा खेर गएका केराको बोटहरु बटुलेर फाइबर बनाउन थालेँ, उनी भन्छन्, ‘फाइबर मात्रै बिक्री गर्न पनि झन्झट हुने रहेछ। फाइदा कम हुने देखेपछि मेरो दिमागमा हाते कागज बनाउने सोच आयो। सिक्नको लागि चितवन पुगेँ। कागज उद्योगमा अड्डकी कसेर केमिकल पनि ल्याएँ।’
उनीसँग भए पनि परिवारको साथ अझै थिएन। बुबा गोविन्दले गाई पाल्न बनाएको गोठमा कागज बनाउन अनुमति दिएनन्। प्रेम भन्छन्, 'नगर तैँले यस्तो काम गर्न सक्दैनस्, तँबाट यो हुँदैन भनेर बुबाले सधैँ रोक्नुहुन्थ्यो तर मैले जबर्जस्ती आफ्नै बलमा काम सुरु गरेँ।'
आँसु र एक्लो संघर्ष
सुरुका दिनमा उनीसँग कागज बनाउने मात्र १३ वटा फ्रेम थिए। बिहानदेखि बेलुकासम्म उनी गोठमै हुन्थे। उनले ती दिन सम्झिन्छन्, 'दिनभरि काम गर्दा परिवारका कोही सदस्य फर्केर हेर्न समेत आउँदैनथे। न श्रीमती, न आमा, न बुबा। सफल हुनु थियो, त्यसैले न भोक लाग्थ्यो, न निद्रा।' आँखाबाट झरेको आँसु पुछ्दै उनले थपे, 'बस्, परिवारले साथ दिए सजिलो हुन्थ्यो जस्तो लाग्थ्यो।'
इजरायलमा रहेका साथी विनोद सञ्जेलले आर्थिक सहयोग गरेपछि उनले कागज बनाउने २ सय फ्रेम थपे। दैनिक ४० कागज उत्पादन गर्ने प्रेमले जब हजारभन्दा बढी उत्पादन गर्न थाले र मासिक ३५ हजार आम्दानी भयो, तब मात्र परिवारको मन बदलियो। हिजो शंका गर्ने बुबा, आमा र श्रीमती अहिले उनलाई सघाउन दिनभर गोठमै खट्छन्। ८४ वर्षीया हजुरआमाले त उनलाई सुरुदेखि नै धाप मारिरहेकै थिइन्।
स्थानीय र प्रदेश सरकारले थोरै प्राविधिक सहयोग गरिदिए आफ्नो उद्यमलाई थप फैलाउने र थप स्थानीयलाई रोजगारी दिने उनको सपना छ। हिजो नपत्याइएका प्रेम आज अरूका लागि 'प्रशिक्षक' बनेका छन्। भन्छन्, 'यो केवल कागजको टुक्रा होइन, मेरो धैर्य र संघर्षको प्रमाण हो।'
Shares

प्रतिक्रिया